ad ad

फोटोफिचर


जसले पूर्वप्रधानमन्त्रीलाई हराइदिए (तस्बिरहरु)


नेपालखबर
मंसिर ११, २०७९ आइतबार १७:५, काठमाडौँ

नेकपा एमालेबाट छुट्टिएपछि नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका झलनाथ खानलले आफूलाई सकेसम्म जिल्लामा केन्द्रित गरे।

भारतबाट मिर्गौला प्रत्यारोपण गरेर फर्किएपछि पनि उनको जिल्ला दौडाहा रोकिएन। कारण थियो आफूले २०७४ मा एमालेबाट जितेको इलाम क्षेत्र नम्बर १ को विरासत बचाउने चुनौती।

आफूले एमाले छाडे पनि जिल्लास्थित एमाले अधिकांश कार्यकर्ता पुरानै पार्टीमा बसेपछि खनाललाई शाख जोगाउने चुनौती थियो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देश दौडाहामा निस्किरहँदा खनाल भने जिल्लामै केन्द्रित रहिरहे। झलनाथ २०६७ माघ २० प्रधानमन्त्री निर्वाचित भएका थिए। उनैले आफ्ना पूर्वकार्यकर्ता महेशलाई कमजोर आँक्दा हार भोग्नुपर्यो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेपछि आफूहरुले विद्रोह गरेको भाष्यसहितका भाषणसहित उनले चुनावी अभियान चलाइरहे।

तर दुई महिना बढी मिहिनेत गर्दा पनि खनालले २०७४ को नतिजा जोगाउन सकेनन्। बरु मतगणनाका क्रममा पछि परेपछि एमालेको पक्षमा लागेर कर्मचारीले धाँधली गरेको आरोप लगाइरहे।

आइतवार निर्वाचन परिणाम आफ्नो हातबाट फुत्किएपछि उनी विजयी भएका एमाले उम्मेदवार महेश बस्नेतलाई बधाई पनि नदिइ जिल्लाबाट काठमाडौंतिर हिँडे।

उनले जिल्ला छाड्दा पनि मतगणनामा भएको धाँधलीको रमिता हेर्न नसकेको गुनासो गरे। यो निर्वाचनमा पराजित हुने खनाल एक्ला पूर्वप्रधानमन्त्री हुन्।

भक्तपुर २ का एमाले नेता महेश बस्नेत पराजित भइरहँदा इलामबाट अर्का महेश बस्नेतको इन्ट्री भएको छ। त्यो पनि पूर्वप्रधानमन्त्रीलाई हराउँदै। 

खनाललाई हराउन सफल महेश एमाले इलाम जिल्ला अध्यक्ष हुन्। एमालेमा हुँदा झलनाथ महेशका शीर्ष नेता थिए। तर पार्टी विभाजनपछि यो निर्वाचनबाट महेशले आफ्नै पूर्वशीर्ष नेतालाई हारको स्वाद चखाइदिए। 

६२ वर्षीय महेश २०७४ को स्थानीय निर्वाचनमा इलाम नगरपालिको मेयर भएका थिए। मेयर भएर काम गर्दा स्थानीयमाझ बलियो पकड बनाएका उनै महेश झलनाथका लागि भारी परे। 

सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा ५ वर्ष गरेको कामको त्यही जशको जगमा टेक्दै २०४८ देखि संसदीय निर्वाचनमा एकछत्र राज गरेका खनाललाई पराजित गरे।

कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ लिएर उठेका झलनाथले एमालेको पनि भोट तान्न सकेनन्। बरु एमाले कार्यकर्ताले आफ्नै पूर्वनगर प्रमुखलाई पत्याए। 

सबै तस्बिरहरु : निरोज पौड्याल/इलाम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .