राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासबाट हेलिकोप्टरको प्रयोग गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन्।
बुधबार म्यानमारको राजकीय भ्रमणमा त्यसतर्फ प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारी राष्ट्रपति निवासबाट विमानस्थलसम्म पुग्नका लागि हेलिकोप्टरको प्रयोग गरेकी हुन्।
राष्ट्रपति हेलिकोप्टरमा सवारी हुने थाहा नपाएर ट्राफिक प्रहरीले सडक सावरी रुट प्रभावित हुने भन्दै बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै सूचना समेत जारी गरेको थियो।
सडकबाट सवारी हुँदा जाम भएपछि यसअघि राष्ट्रपतिको सावारीलाई लिएर सर्वसाधरणले विरोध गरेपछि हेलिकोप्टरको प्रयोग गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यसपछि उनी म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए। राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने म्यानमारका स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आगामी कार्तिक ६ गते बुधबार बेलुका साँढे ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया