प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुँजीबजार सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।
पुँजीबजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग सिंहदरबारमा सोमबार छलफल गर्दै उनले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजीबजारलाई विशेष प्राथमिकता दिएको बताएका हुन्।
उनले यस क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताए।
प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने पनि बताए।
छलफलमा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका थिए।
उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेका छन्।
बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।
बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा ६ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको ५ प्रतिशत कायम गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको सुझाव छ।
अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठुला संस्थाहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनर्संरचना गरिनुपर्ने र गैरआवासीय नेपालीहरूलाई पनि नेपालको पुँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिनुपर्ने माग उनीहरूले राखेका छन्।
छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ लागु गरिसकेको जानकारी दिए। ती नीतिहरूमा उल्लिखित कार्यक्रमहरूलाई चरणबद्धरूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उनले स्पष्ट पारे।
नेपाल स्टक एक्सचेन्ज अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा बजार एवं पुँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताए।
नेप्सेको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अघि बढाइने उनको भनाइ छ।
छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए।
Shares

प्रतिक्रिया