राजनीति


प्रचण्डले गठबन्धन फुट्ने खतरा देखेकै दिन बालुवाटारमा जुटे पाँच दल

माधव नेपालको उपस्थितिले एमाले एकतामा झन् अन्योल
प्रचण्डले गठबन्धन फुट्ने खतरा देखेकै दिन बालुवाटारमा जुटे पाँच दल

नेपालखबर
साउन ९, २०७८ शनिबार २१:५५,

शनिबार बिहान नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवस कार्यक्रममा बोल्दै सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, 'हाम्रो गठबन्धन फुटाउने देशी विदेशी शक्ति सक्रिय भएका छन्। गठबन्धन असफल पार्न छिद्रहरु, प्वाँलहरु खोजिरहेका छन्। तर हामी बलियोसाथ अघि बढ्छौँ।'

कर्मचार्यलाई सम्झिने कार्यक्रममा भाषण गर्नुअघि उनले शनिबारै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग संवाद गरेका थिए। पेरिसडाँडा उक्लिनुअघि प्रचण्ड खुमलटारबाट कोटेश्वरस्थित एमाले नेता माधवकुमार नेपालको घरमा छिरेका थिए। 

जहाँ छिरेर उनले सत्तारुढ पाँच दलीय गठबन्धनमा फेरि सहभागी भएर अघि बढ्न सुझाएका थिए। प्रचण्डले पेरिसडाँडामा भाषणका क्रममा नेता नेपालले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'महाराजले माफी दिए, हामी गदगद छौँ, छमछमी नाच्छौँ' भनेर गरेको व्यंग्यात्मक टिप्पणीका लागि आफूले धन्यवाद दिएको पनि बताएका थिए। 

प्रचण्डले कोटेश्वर आएर भेटेपछि नेता नेपाल एमालेका दोस्रो तहका नेताहरुले एकताका लागि गरिरहेको वार्तालाई बेवास्ता गर्दै सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार छिरेका हुन्। 

नेता नेपालसहितको सत्तारुढ दलको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल र प्रभावकारी बनाउने निर्णय गरेको एकजना नेताले बताएका छन्। ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको ती नेताले बताए। 

आजको बैठकमा सहभागी नेताहरुले सरकारले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउनलाई दिनुपर्नेमा जोड दिएका थिए। त्यसका लागि नेताहरुले अनुदानको मात्रै नभए खोप किनेर ल्याउन पनि सरकारलाई सुझाएका छन्। 

प्रचण्डले नेपाल र देउवासँग संवाद गरेकै दिन बालुवाटारमा गठबन्धन बैठक भएको हो। प्रचण्डले पेरिसडाँडामा अमेरिकी परियोजना एमसिसी र इन्डो प्यासिफिक सैन्य रणनीतिको बहानामा गठबन्धन फुटाउन खोजिएको बताएका थिए। एमसिसीलाई प्रधानमन्त्री देउवा संशोधन नगरी पारित गर्न तयार छन् भने माओवादी केन्द्र केही बुँदामा संशोधन चाहन्छ।

एमसिसी पास गर्ने कुरामा कांग्रेस र माओवादीको मत बाझिएका बेला प्रचण्डले पेरिसडाँडामा त्यसकै बहानामा गठबन्धनलाई धरापमा पार्न खोजिएको आशंका गरेका थिए। 
अमेरिकाले हिजो मात्रै नेपालले चार वर्ष वितिसक्दा पनि एमसिसी पास नगरेर अन्तर्राष्ट्रिय समुदायमाझ नराम्रो सन्देश फैल्याएको गुनासो गरेको थियो। उसले एमसिसी अझै पनि पास नगरेर नेपालमा वैदेशिक लगानी सहज रुपमा भित्रिन समस्या हुने पनि चेतावनी दिएको थियो। 

उता एमाले मिलाउने प्रयासस्वरुप अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि उपाध्यक्ष भीम रावलसहित अहिले वरिष्ठ नेता नेपाललाई मनाउन जुटिरहेका छन्। ओलीले पनि नेता नेपालसँग संवाद अघि बढाउन खोजिरहेका छन्। तर आफैँले छाडेको घोषणा गरिसकेको पाँच दलीय गठबन्धन बैठकमा नेता नेपाल सहभागी भएपछि दोस्रो तहका नेतामा पनि अनेक आशंका पैदा हुने अवस्था आएको छ।

जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति जुटाएपछि खारेज भइसकेको  कार्यदलकै सदस्यहरु एमाले मिलाउन जुटिरहेका छन्। नेताहरु एमाले मिलाउन जुटिरहेको अवस्थामा प्रचण्डले कोटेश्वर पुगेर नेपालसँग संवाद गरेपछि बालुवाटारमा पाँच दलीय बैठक बसेको छ। 

प्रचण्डले पेरिसडाँडामा बोल्दै सत्तारुढ गठबन्धन फुटाउने प्रयास भइरहेको बताएका थिए। उक्त गठबन्धनमा माधव नेपाल पनि सदस्य छन्। नेपाल पक्षले साउन ३ मा देउवालाई विश्वासको मत नै दिएको छ। तर नेता नेपाललाई एमालेमा फर्काउने उनकै पक्षका र ओली पक्षका नेताहरुको प्रयास विफल भइरहेको छ। नेता नेपालले हिजो पनि ओलीप्रति लक्षित गर्दै वादशाहलाई घोडाबाट खसाले पनि अहंकार र घमण्ड उस्तै रहेको भन्दै आक्रोश पोखेका थिए।

नेपाल बालुवाटार छिरे पनि एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई अन्तिम चरणमा पुर्‍याएको बताएका छन्। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तीव्र घोचपेच जारी रहेको अवस्थामा नेताहरुले एकतालाई करिब टुंगोमा पुर्‍याएको दाबी गरिरहेका छन्। 

आजको बालुवाटार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी सहभागी थिए। बैठकमा मन्त्रिमण्डल विस्तारबारे पनि कुरा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad