राजनीति


पद जोगाउन उपेन्द्र पक्षमा खुल्दै प्रदेश २ का ठाकुर-महतो पक्षीय सांसद

पद जोगाउन उपेन्द्र पक्षमा खुल्दै प्रदेश २ का ठाकुर-महतो पक्षीय सांसद

शैलेन्द्र महतो
साउन १२, २०७८ मंगलबार १७:२५,

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै प्रदेश २ मा पनि महन्थ ठाकुर पक्षका सांसद संकटमा परेका छन्। पार्टी छाडे सांसद पद धरापमा पर्ने भएकाले कता जाने अन्यौलता ठाकुर पक्षका सांसदमा उत्पन्न भएको छ। 

सांसद पद जोगाउने उद्देश्यले ठाकुर-महतो पक्षका प्रदेश सांसदहरू पार्टीको आधिकारिकता पाएका यादव पक्षमा खुल्न थालेका छन्। 

ठाकुर पक्षका सांसदलाई पद जोगाउन उपेन्द्र यादव पक्षकै जसपामा आवद्ध रहनु पर्ने बाध्यता छ। त्यसो नगरेर नयाँ दल खोलेर आवद्ध भए राजनीतिक दलसम्बन्धी ऐन अनुसार स्वतः सांसद पद खारेज हुने ठाकुर पक्षका सांसदलाई डर छ।

दलको आधिकारिकता विवाद टुंगो लागेपछि सांसद पद के हुने विषयमा ठाकुर पक्षका सांसदहरूमा अन्योलता छाएको सोही पक्षका प्रदेश २ का पूर्वप्रमुख सचेतक प्रमेश्वर साह बताउँछन्। 

पद धरापमा पर्ने भन्दै ठाकुर-महतो पक्षका सांसदहरू पार्टीको आधिकारिकता पाएकै पक्षमा खुल्न थालेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित र समानुपातिक गरी २५ सांसद थिए। जसमध्ये ७ सांसद जसपाको आधिकारिकता पाएका उपेन्द्र यादवको पक्षमा खुलेका हुन्। अब ठाकुर पक्षमा मात्र १८ जना सांसद रहेका छन्। अझै आउने क्रम जारी रहेको र ठाकुर पक्षका अधिकांश सांसद आउने उपेन्द्र पक्षका प्रदेश सांसद रामअशिष यादवले बताए। 

उनका अनुसार हालसम्म पूर्वराजपा पृष्ठभूमिका प्रदेश सांसद रामनरेश राय, नवलकिशोर साह, मनिष सुमन, डा. रिना यादव, रानी शर्मा तिवारी, अञ्जु यादव र नेत्रविक्रम साह उपेन्द्र पक्षमा खुलेका हुन्। 

सांसद रामनरेश राय र रानी शर्मा महेन्द्र राय यादव पक्षका हुन् भने नवलकिशोर साह, मनिष सुमन, डा. रिना यादव र अञ्जु यादव राजेन्द्र महतो पक्षका हुन्। नेत्रविक्रम साह भने उपेन्द्र पक्षमै खुलेका राजकिशोर यादव निकटका सांसद हुन्।     

जसपाका कार्यकारिणी सदस्य राय र साह लालबाबु राउत नेतृत्वको सरकारमा मन्त्री छन्। राय उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री छन्। संघीय समाजवादी फोरम ३० र तत्कालिन राजपा २५ सांसद गरी बहुमतको सरकार बन्दा राय राजपाको संयोजक मण्डलका सदस्य महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए। उनी समानुपातिक सांसद हुन्। महेन्द्र राय यादवले पछिल्लो पटक कित्ता परिवर्तन गरेर उपेन्द्र पक्षमा लागेपछि मन्त्री राय पनि सोही पक्षमा खुलेरै लागेका छन्। 

त्यस्तै राजेन्द्र महतोको कोटाबाट साह सामाजिक विकास मन्त्री बनेका थिए। पछिल्लो समय जसपाभित्र विवाद चुलिएपछि साह मन्त्री पद जोगाउन कित्ता फेरेर उपेन्द्र पक्षमा लागेका छन्। उनी सप्तरी क्षेत्र नं. १ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। 

मनिष सुमन जसपाका कार्यकारिणी सदस्य हुन्। उनले पार्टी आधिकारिकता प्राप्त गर्ने दिन सोमबार निर्वाचन आयोगमा उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्दै खुलेका छन्। 

‘महन्थ पक्षबाट धेरै सांसदहरू आउने सम्भावना छ। पार्टी जहाँ रहन्छ। सांसदहरु त्यहीँ रहने सम्भावना रहन्छ। मनिष सुमन उपेन्द्र पक्षमा होइन जसपाको फिलिङले आउनु भयो। ठाकुर पक्षका अधिकांश सांसद रुष्ट छन्। उहाँहरू आउने सोचमा हुनुहुन्छ। ल्याउने प्रयास पनि भइरहेको छ’ प्रदेश सांसद रामआशिष यादवले भने ‘दल छाडेर जानेको सांसद पद दल त्याग ऐन अनुसार स्वतः खारेज हुन्छ।’

सांसदहरूमा पद धरापमा परेको भनेर अन्योलता रहे पनि सबै सांसद उपेन्द्र यादव पक्षमा नखुल्ने महन्थ ठाकुर पक्षको तर्क छ।

 ‘पद के हुने भनेर निर्वाचित वा समानुपातिक साथीलाई अन्योलता छ। यसमा कतै दुइमत छैन। तर पनि जो जुन राजनीतिक पृष्टभूमिबाट आएका छन् सो सेही अनुसार विश्लेषण गर्छन्’ ठाकुर पक्षका सांसद प्रमेश्वर साहले भने,  ‘जुन व्यक्तिहरू राजनीतिक वा वैचारिक पृठभूमिबाट नभएर अन्य पृष्ठभूमिबाट पदकै लोभमा आएका छन् भने उनीहरु पद जोगाउने मानस्थितिमा छन्। तर मेरो धार क्लियर छ। म जुन पृष्ठभूमिबाट छु। म उतै रहन्छु।’

उनले उपेन्द्र पक्षमा गएका भनिएका डा. रिना यादव, अञ्जु यादव र रानी शर्मा ठाकुर पक्षमा रहेको दावी गरे। तर डा. रिना यादवले आफू खुलेरै पहिलेदेखि नै यादव पक्षमा लागेको बताइन्। आफूसँगै सात सांसद पार्टी आधिकारिकता पाएको पक्षमा रहेको र ठाकुर पक्षका डीम्पल झा बाहेक सबै समानुपातिक यही पक्षमा रहने उनको दावी छ। 

उनका अनुसार सरत सिंह भण्डारी पक्षका सांसद जानकी शरण साह, उपेन्द्र पक्षमै खुलेका संघीय सांसद प्रमोद यादवकी श्रीमती सांसद निरा साह, अल्का झा समेत पार्टीमै रहने उनको भनाइ छ।

समानुपातिक सांसद रामनरेश राय, अञ्जु यादव, नेत्रविक्रम साह, डा. रिना यादव भने उपेन्द्र यादव नेतृत्वकै पार्टी पक्षमै खुलिसकेका छन्।  

१० वैशाख २०७६ मा समाजवादी पार्टी र राजपा एकता भइ जसपा बनेको थियो। प्रदेश २ मा सुरुमा राजपा र फोरमको संयुक्त सरकार रहेकोमा एकतापछि एक्लो जसपाको बहुमतको सरकारमा परिणत भयो। तर दोश्रो पटकको प्रतिनिधिसभा विघटनमा ठाकुर पक्ष ओली सरकारलाई साथ दिएर सरकारमा सहभागी हुँदा जसपाको विवाद चरम उत्कर्षमा पुगेको थियो।

सोही कारण उपेन्द्र यादव पक्षले प्रदेश २ मा राजपा पृष्ठभूमिका सो पक्षका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सरकारबाट हटाएको थियो। पछि कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएको थियो।  

जसपाको दलको आधिकारिकता विवाद सोमबार समाधान भएको हो। जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा सोमबार निर्वाचन आयोगमा यादव पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरे। जसको कारण जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .