राजनीति


लुम्बिनीमा ट्विस्ट : विमला वली एमालेमै, विपक्षीले हस्ताक्षर दुरुपयोग गरेको आरोप

लुम्बिनीमा ट्विस्ट : विमला वली एमालेमै, विपक्षीले हस्ताक्षर दुरुपयोग गरेको आरोप

नेपालखबर
साउन १८, २०७८ सोमबार १६:२८, काठमाडौँ

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई सत्ताबाट ओराल्ने विपक्षी गठबन्धनको अर्को योजनामा धक्का लाग्ने देखिएको छ। सोमबार ४१ सांसदको हस्ताक्षरसहित कांग्रेस र माओवादीकासहित ४१ जना सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सरकारको दाबी गरेका थिए। 

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको दाबीसहित उनीहरुले शेरचनलाई दिएको निवेदनमा नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए। तर शेरचनलाई ४१ सांसदको हस्ताक्षर बुझाएको केही घण्टा नबित्दै अर्को ट्विस्ट देखिएको छ। 

दाङ क्षेत्र नम्बर ३ 'ख' बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति प्रकट गरेकी छन्। मुख्यमन्त्री पोखरेलकै गृहजिल्लाकी उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहेको स्पष्टीकरण पनि दिएकी छन्। 

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सोमबार ४१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी गर्दा विमलाको नाम पनि राखिएको छ। उनको नाम माओवादी केन्द्रकी सांसदका रुपमा ४१ नम्बरमा राखेर पेश गरिएको थियो। 

तर उनले सूर्य चिन्हबाहक भएकाले आफू एमालेमै रहेको बताएकी छन्। विमलाले मुख्यमन्त्री शंकर पोखरेलप्रति आफ्नो समर्थन रहेको पनि बताएकी छन्। प्रदेशसभा सदस्य वली ०७६ सालमा भएको उपचुनावमा 'सूर्य' चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

नेकपा विघटन भएको केही समय उनी एमालेमा लागेकी थिइन्। तर पोखरेललाई सरकारबाट विदा गर्न भन्दै विपक्षीले हिसाब गरिरहँदा उनी माओवादीतिर लागेकी थिइन्। माओवादीले उनलाई आफ्नै सांसदका रुपमा राखेको थियो।

२०७४ सालमा एमालेबाट विजयी पति उत्तरकुमार वलीको सवारी दुर्घटनामा ज्यान गएपछि विमलाले उपचुनावमा उठेकी उनले जित निकालेकी थिइन्। यसअघि माओवादीमा लागेर मुख्यमन्त्री पोखरेललाई अफ्ठ्यारोमा पारेकी उनी फेरि एमालेकै कित्तामा उभिएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .