राजनीति


क्रियाशील सदस्यताबारे आरोप-प्रत्यारोपमा उत्रिए कांग्रेस नेता

क्रियाशील सदस्यताबारे आरोप-प्रत्यारोपमा उत्रिए कांग्रेस नेता

केशव सावद
साउन २८, २०७८ बिहिबार २१:१३, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका नेताहरू क्रियाशील सदस्यताको विवादलाई लिएर आरोप–प्रत्यारोपमा उत्रिएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू सदस्यताको विवादलाई लिएर आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। 

बैठकमा संस्थापन पक्षीय र संस्थापनइतर पक्षीय नेताहरुले एकअर्कालाई क्रियाशील सदस्यता वितरण र पार्टी समायोजनमा विवाद गरेर महाधिवेशन प्रभावित पारेको आरोप लगाएका छन्। बैठकमा इतर समूहले संस्थापन पक्षलाई फर्जी क्रियाशील सदस्यता थप गरेको आरोप लगाएको छ भने संस्थापन पक्षले इतर समूहले विवाद सिर्जना गरेको लगाएको छ।  

इतर समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केन्द्रीय सदस्य हृदयराम थानीले संस्थापन पक्षले फर्जी क्रियाशील सदस्यता थप गरेको आरोप लगाए। उनले संस्थापन पक्षले थप गरेका फर्जी सदस्यता खारेजका लागि वरिष्ठ नेता पौडेललाई गुहारे। 

‘रामचन्द्र दाइ, हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्‍याे,’ थानीले नेता पौडेललाई गुहार्दै व्यक्त गरेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘क्रियाशीलको समस्या समाधान नभएसम्म महाविधेशन हुने अवस्था छैन।’ 

स्रोतकाअनुसार उनीलगत्तै बैठकमा धारणा राख्ने क्रममा सभापति देउवानिकट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महाधिवेशन नजिकिँदै गर्दा नेता पौडेलले नै विवाद सिर्जना गरेको आरोप लगाए। नेता पौडेलले क्रियाशील सदस्यताका विषयमा विवाद सिर्जना गरेर दोष अर्कैमाथि थोपर्ने गरेको उनको आरोप थियो।

बैठकमा सहभागी संस्थापन पक्षीय ती केन्द्रीय सदस्यकाअनुसार बस्नेत वरिष्ठ नेता पौडेलप्रति आक्रामक देखिन्थे। उनले नेता थानीले गुहारेको प्रति ईंगित गर्दै पौडेलबाट कुनै अपेक्षा नराख्न सुझावसमेत दिए। 

‘गोविन्दराज जोशीलाई तह लगाउनका लागि पुष्कर ओझालाई उहाँले शहीद बनाउनुभयो। थानीजी उहाँबाट के आश गर्नुहुन्छ?,’ बस्नेतको भनाइ उद्धृत गर्दै ती नेताले भने।

प्रतिनिधिसभा निर्वाचनमा पूर्वमहामन्त्री गोविन्दराज जोशीले नेता पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ मा उम्मेदवारी दिएका थिए। पछि उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो। उम्मेदवारी खारेज हुनुमा नेता पौडेलको हात रहेको जोशी निकटकाले लगाउँदै आएका छन्। 

यस्तै, देउवापत्नी डा. आरजु राणा देउवाले उम्मेदवारी दिएको कैलाली–५ मा नेता ओझाले असहयोग गरेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। समितिले पार्टीका आधिकारिक उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेको भन्दै जोशी र ओझालाई कारबाही गरेको थियो।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानबिन प्रतिवेदन छलफलका लागि पेश गरेका छन्। 

बिहीबारको बैठकमा पाँच जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। धारणा राख्नेमा केन्द्रीय सदस्यहरू बस्नेत, थानी, प्रदीप पौडेल, कल्याण गुरुङ र कर्ण बुढा रहेका छन्।

बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्ने भएको छ। केन्द्रीय कार्यसमितिका सदस्यहरूको सुझावअनुसार १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका ल्याइने प्रवक्ता शर्माको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .