ad ad

समाज


चलखेलको चेपुवामा हरिकला, बन्न पाइनन् पहिलो महिला प्रधान सम्पादक

चलखेलको चेपुवामा हरिकला, बन्न पाइनन् पहिलो महिला प्रधान सम्पादक

समर्पण श्री
साउन २९, २०७८ शुक्रबार ८:३३, काठमाडौँ

गोरखापत्रमा साउन ११ गते निमित्त महाप्रबन्धकमा नियुक्त भएका शिवकुमार भट्टराईले त्यसको ३ दिनपछि एउटा अनौठो निर्णय गरे। उनले ऐन विपरीत दोहोरो जिम्मेवारी लिनेगरी आफूले आफैंलाई प्रधान सम्पादकमा नियुक्त गरेका थिए।

गोरखापत्रको नेतृत्वमा रहेका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालले ४ साउनमा राजीनामा दिइसकेपछि भट्टराईलाई ११ साउन मा निमित्त महाप्रबन्धक जिम्मेवारी दिइएको थियो।

उनले अवकाशमा जाँदै गरेका निमित्त प्रधान सम्पादक श्रीधर आचार्यलाई कार्यकारी सम्पादकमा झारेर आफूलाई प्रधान सम्पादक नियुक्त गरेको घटनाले गोरखापत्रमा तरंग ल्याइदिएको थियो।

तर गोरखापत्रमा नियमविपरीत नियुक्ति भने यो नौलो होइन। राजनीतिक चलखेल र हस्तक्षेपका कारण यतिबेला प्रधान सम्पादक भइसक्नुपर्ने हरिकला अधिकारी अदालत धाउन बाध्य छिन्।

०७७ साउन १५ मा गोरखापत्रको प्रधान सम्पादकबाट श्रीओम श्रेष्ठले अवकाश लिँदा उनी एघारौं तहको प्रबन्ध सम्पादक थिइन्।

कानुनी रुपमा वरिष्ठताको आधारमा प्रधान सम्पादकमा हरिकलालाई नै नियुक्त गर्नुपर्ने थियो। तर, त्यसो गरिएन।

राजनीतिक पहुँचका आधारमा श्रीधर आचार्यलाई रिक्त स्थानमा प्रधान सम्पादक नियुक्त गरियो। आचार्य हरिकला भन्दा कनिष्ठ तह १०औँकाे दरबन्दीमा थिए।

श्रीधरलाई प्रधान सम्पादकमा नियुक्त गर्दा उनीभन्दा वरिष्ठ रहेका अच्युत अधिकारीले राजीनामा नै दिएका थिए।

गत वर्षको भदौ ३१ गते हरिकलाले आफू प्रधान सम्पादक हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। ०७७ असोज ८ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको थियो। 

यसरी अन्यायमा परिन् हरिकला
सय वर्षभन्दा बढीकाे इतिहास बोकेको गोरखापत्रमा अहिलेसम्म महिला प्रधान सम्पादक छैनन्। विनिमयको आधारमा पनि श्रीओमको अवकाशपछि हरिकलालाई प्रधान सम्पादक नियुक्त गरिनुपर्ने थियो।

तर गोरखापत्र व्यवस्थापनले प्रधान सम्पादक नबनाई निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय ग¥यो। उनले नियुक्ति पत्र बुझिनन्। बरु अदालत गइन्। आफूलाई फण्डा गर्नका लागि निमित्त महाप्रबन्धककाे नियुक्ति दिएको उनको गुनासो छ।

उनले कानूनसम्मत आफू प्रधान सम्पादक हुनुपर्ने भन्दै मन्त्रालयमा निवेदन पनि दिएकी थिइन्। त्यो निवेदन मन्त्रालयमै थन्कियो। ‘ मैले संस्था छाड्नुपरे पनि छाड्छु तर महाप्रबन्धककाे नियुक्ति लिन्न भनेर म निस्केँ त्यहाँबाट। त्यसपछि अदालत जाने क्रममा पनि धेरै समस्या भोगें। किनकि राज्यसंयन्त्र नै मेरो विरुद्ध थियो। कुन वकिलकोमा जाने भन्ने नै समस्या भयो,’ हरिकला भन्छिन्, ‘मलाई धेरै तरिकाले निगरानी गरियो।’

भदौमा हरिकला बिरामी परिन्। ‘मैले बिरामी विदा माग्दा पनि दिइएन।  बरु उल्टै ममाथि विभिन्न किसिमका दबाब आइ परे,’ उनी भन्छिन्।

बिरामीबाट उत्रिएपछि उनले अदालतमा मुद्दा हालिन्। त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन। सुनुवाइको मिति अघिल्लो मंसिरमा तोकिएको थियो। त्यसपछि विभिन्न समयमा सारिँदै लगियो। अहिले भदौ २९ गते सुनुवाइको समय तोकिएको छ।

हरिकलाले महाप्रबन्धककाे पत्र बुझेकी थिइनन्। तर चैत्र १४ गते व्यवस्थापनले उनलाई अवकाश पत्र बुझाउन समेत खोज्यो। ‘जुन पत्र मैले बुझेकै छैन, अवकाश कसरी हुने भयो?’ उनको प्रश्न छ।

गोरखापत्रका पूर्व कर्मचारीको भने हरिकला प्रधान सम्पादक हुन नमिल्ने दाबी छ। ‘गोरखापत्रको तत्कालीन जिएम वसन्त उपाध्यायलाई सरकारले निकालेपछि कर्मचारी विनिमयअनुसार सिनियर व्यक्तिलाई निमित्त जिएम दिने व्यवस्था थियो।

‘सो अनुसार हरिकला त्यहाँको निमित्त जिएम हुनुभएको थियो। उहाँले श्रीओम श्रेष्ठलाई निमित्त प्रधान सम्पादकमा नियुक्त गर्नुभएको थियो। त्यसैले उहाँ प्रधान सम्पादक हुन मिल्दैन,’ गोरखापत्रका पूर्व कर्मचारी भन्छन्। 

उनका अनुसार मोहन बहादुर बस्नेत मन्त्री हुँदा वसन्त उपाध्यायलाई मन्त्रीपरिषद्ले महाप्रबन्धक नियुक्त गरेको थियो। गोकुल बाँस्कोटा सञ्चारमन्त्री भएर आएपछि उनको जिएम पद गएको थियो।

रिक्त रहेको पदमा नियमानुसार हरिकला निमित्त महाप्रबन्धक भएकी थिइन्। वसन्त उपाध्यायले सर्वोच्चमा मुद्दा हालेपछि अदालतले उनलाई महाप्रबन्धक नियुक्त गर्ने निर्देशन दिएको थियो।

हरिकला भन्छिन्– महिला भएकै कारण अवरोध गरियो
हरिकला आफू महिला भएकै कारण नियमानुसार सहजै पाउनुपर्ने प्रधान सम्पादक गुमाउनुपरेको बताउँछिन्। ‘म महिला भएकै कारण अवरोध गरियो। नत्र मेरो प्रतिष्पर्धा थिएनन्। कानुनअनुसार सहजै पाउने थिएँ,’ उनी भन्छिन्।

हरिकलाले गोरखापत्रमा २०४६ साल कार्तिक ११ बाट उपसम्पादकको पदमा जागिर सुरु गरेकी थिइन्। उनलाई नवौं तहसम्म काम गर्दा कुनै अफ्ठेरो भएको थिएन।

‘त्यतिबेलासम्म काम लिनु थियो,लिइयो। जब नेतृत्वमा जाने बेला भयो समकक्षीहरूबाटै लात हान्ने वातावरण भयो,’ उनी गुनासो गर्छिन्।

हरिकला आठौं तहमा हुँदा सीताराम अग्रहरी सातौं तहमा थिए। पछि हरिकलालाई नै उछिनेर उनी प्रधानसम्पादक हुन पुगे।

‘उहाँ जम्प गरेर माथि जानुभयो, अनि मलाई नै प्रतिद्वन्द्वी ठान्नुभयो। मलाई गोरखापत्रमा टिक्ने वातावरण पनि दिनुभएन।’ त्यसपछि गोरखापत्रमा उनलाई समस्या भइरह्यो। उनी भन्छिन्,‘मैले जीन्दगीभर गरेको कामको योगदान पनि भएन।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .