राजनीति


मोदीको ‘धार्मिक शैली’ पछ्याउँदै विमलेन्द्र निधि

भारतीय संस्थापन र हिन्दुहरुको ध्यान तान्ने प्रयास
मोदीको ‘धार्मिक शैली’ पछ्याउँदै विमलेन्द्र निधि

केशव सावद
भदौ ११, २०७८ शुक्रबार २२:७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। 

शुक्रबार नयाँ बानेश्वरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा धार्मिक कार्यक्रमसहित सम्पर्क कार्यालय खोल्दै उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

निधिले जसरी उम्मेदवारी घोषणा गरे, त्यसबाट उनले हिन्दु जनमतलाई आकर्षित गर्न र भारतको सत्तारुढ दल भाजपालाई रिझाउन खोजेको देखिन्छ। 

उनले सम्पर्क कार्यालय उद्घाटनमा जानकी मन्दिरका महन्थ तपेश्वर महाराजदेखि पशुपतिनाथ मन्दिरका पुजारी प्रतिनिधि (भण्डारी)सम्मलाई बोलाएका थिए।

निधिले आफूलाई भारतीय संस्थापन नजिक रहेको सन्देश दिन निकै मेहनत गरेका छन्। दुई दिनअघि उनले भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग काठमाडौंमा भेट गरेका थिए।

त्यसअघि उनी दुई पटक भारत समेत पुगेका थिए। पहिलो भ्रमणलाई उनको निजी सचिवालयले पारिवारिक भनेको थियो भने दोस्रो पटक निधि कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न मुम्बई गएका थिए। 

हुन त उपसभापति निधिले लामा र मौलानाले पनि सम्पर्क कार्यालय उद्घाटनमा सफलताका लागि आशीर्वाद दिएको बताउँदै आफू धार्मिक सहिष्णुताको पक्षपाती देखाउन खोजे। तर, पछिल्लो तामझामले भने उनी हिन्दुराष्ट्रको पक्षमा उभिन खोजेको स्पष्ट हुन्छ।

ओलीको सिको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री भएका बेला यही शैलीमा आफूलाई प्रस्तुत गर्दै आएका थिए। वामपन्थी भए पनि उनी बेला–बेला आफूलाई धार्मिक नेताजस्तै व्यवहार गर्थे। 

ओलीले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा जलहरी राख्नेदेखि काठमाडौंदेखि माडी (चितवन)सम्म ‘सीता शोभा रथ यात्रा’ गरेका थिए। उनी पौराणिक पात्र रामको जन्म चितवनको साविक अयोध्यापुरी गाविसमा भएको दाबी गर्दै आएका छन्। 

ओलीले गत वैशाख ७ गते राम नवमीको अवसर पारेर शोभा रथयात्रा निकालेको भोलिपल्ट काठमाडौंबाट लगिएका सीता–राम र हनुमानको मूर्ति लगेर माडीमा प्रदेश सरकारले निर्माण गरेको मन्दिरमा प्रतिस्थापितसमेत गरेका थिए। प्रतिस्थापन गर्नुअघि ती मूर्ति हरुको चितवनको देवघाटमा स्नान गरिएको थियो। 

एक वर्षपछि औपचारिक घोषणा

कांग्रेस उपसभापति निधिले पार्टी सभापतिमा उम्मेदवारी दिने अनौपचारिक घोषणालाई एक वर्ष पछि औपचारिकता दिएका छन्।   

उनले गत वर्ष साउन २९ गते सभापति सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठ निवासमा भेटेर १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका थिए। 

‘म १४ औँ महाधिवेशनमा सभापतिमा लड्न चाहन्छु। त्यसमा तपाईंको समर्थन चाहन्छु,’ निधिले सभापति देउवासँग भनेका थिए, ‘तपाईंकै मार्गदर्शनअनुसार सभापति बनिसकेपछि पनि पार्टी सञ्चालन गर्छु।’ 

जवाफमा देउवाले उनलाई १५ औं महाधिवेशनमा सभापतिमा लड्न सल्लाह दिएका थिए। प्रतिउत्तरमा निधिले विभिन्न कारणहरु देखाउँदै १५ औं महाधिवेशन आफ्ना लागि ‘सुट’ नगर्ने बताएका थिए। 

१५ औं महाधिवेशनमा आफू ७० वर्ष पुग्ने, कांग्रेसमा ३–४ पुस्ताको जाम रहेको, पदका लागि तँछाडमछाड भइरहेको, जाम खोल्नका लागि नयाँ पुस्तालाई मार्ग प्रसस्त गर्नुपर्ने, सबै पदहरु निर्वाचित भएर आउने भएका कारण सभापतिले मनोनित गर्ने व्यवस्था नभएको भन्दै उनले १५ औं महाधिवेशनसम्म पर्खनु आफ्ना लागि अनुकुल नहुने उनको भनाइ थियो। 

त्यो बेला उनी देउवाकै समर्थनमा सभापतिमा उठ्ने भन्दै बुढानीलकण्ठबाट बाहिरिएका थिए। त्यसपछि निधिले काठमाडौंमा नेताहरुसँग भेटघाट गर्नुका साथै जिल्लामा टेलिफोन सम्पर्क गरेर नेता–कार्यकर्ताहरुसँग आफू सभापतिमा उठ्ने बताउँदै आएका थिए। 

उपसभापति निधिले साउन ५ गते सभापति देउवाकै निवास पुगेर फेरि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताएका थिए। 

आफूले गत वर्षको साउन अन्तिम साता उम्मेदवारीका विषयमा राखेको कुरा स्मरण गराउँदै उनले देउवालाई भनेका थिए, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु । सभापतिमा तपाईंको समर्थनमा म लड्छु।’

स्रोतका अनुसार जवाफमा देउवाले निधिलाई ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए । उक्त दिन सभापति देउवाले प्रदेश नम्बर २ का नेताहरुलाई निवासमै बोलाएर सभापति पदमा आफूले उम्मेदवारी दिने विषयमा छलफल गरेका थिए। 

छलफलका क्रममा उपसभापति निधिले सभापति देउवालाई सभापतिमा लड्ने तयारीबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। छलफलमा उपसभापति निधिसँगै केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जंगीलाल यादव, शम्भु श्रेष्ठलगायतका नेताहरुको उपस्थिति थियो। 

लामो समयदेखि साथ दिँदै आएका निधिले संस्थापन समूहबाटै ‘विद्रोह’ गरेर उम्मेदवारी दिने तयारीमा लागेपछि देउवा कमजोर हुने आंकलन कांग्रेस वृत्तमा देखिएको छ। 
पछिल्लो समय इतर समूहमा रहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग नियमित सम्पर्कले उनी देउवाविरुद्ध उम्मेदवारी दिन मानसिक रुपमा तयार भइसकेको पनि अनुमान गरिन्छ। 

‘कसैलाई रिटायर गर्न खोजेको होइन’

उपसभापति निधिले आसन्न निर्वाचनमा आफूले कसैलाई पराजित गर्न उम्मेदवारी दिन नलागेको बताएका छन्। पार्टीलाई बलियो बनाएर कांग्रेसको चुनाव चिह्नलाई मतदातासँग जोड्न आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ। 

‘म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर गर्न सभापति बन्न खोजेको होइन,’ सम्पर्क कार्यालय उद्घाटन समारोह सम्बोधन गर्दै निधिले भने, ‘नेपाली कांग्रेसलाई बलियो बनाउन, रुख छापलाई जनतासँग, मतदातासँग जोड्न सभापति बन्न लागेको हो।’

उनले आफ्नो उम्मेदवारी कसैलाई हराउन नभएको पनि जिकिर गरे। कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिलाउन सबैलाई समेटेर भूमिकामा उत्रिने आप्mनो लक्ष्य रहेको उपसभापति निधिको भनाइ छ। 

‘म कसैलाई हराउन सभापति बन्न खोजेको होइन। अर्काे चुनावमा हामी रुख छापलाई जिताउन सफल हुनेछौँ,’ उनले भने, ‘म नेपाली कांग्रेसको सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको छ। नेपाली कांग्रेसको रुख छापलाई बहुमत प्राप्त गराउनका लागि सबैलाई समेटेर भूमिकामा उत्रिनेछु।’

‘गणतन्त्र कांग्रेसको दूरदर्शिता’

उपसभापति निधिले कांग्रेसको दूरदर्शिताका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए। दुईवटै संविधानसभामा कांग्रेसले बहुमत प्राप्त नगरे पनि कम्युनिस्टहरूलाई एकतन्त्रीय संविधान बनाउन नदिएको जिकिर पनि गरे।  

कांग्रेसका कारण अहिलेको व्यवस्था आएको दाबी गर्दै निधिले वर्तमान शासन प्रणाली र संविधानको स्वामित्व लिनुपर्नेमा जोड दिए। उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए। 

उपसभापति निधिले कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए। 
गृह प्रदेशका तीन जिल्ला सभापति

उपसभापति निधिको सम्पर्क कार्यालय उद्घाटन समारोहमा उनको गृह प्रदेश प्रदेश २ का आठमध्ये तीन जिल्लाका सभापतिहरू उपस्थित भएका छन्। 

निधिको गृहजिल्ला धनुषाका सभापति महेश चन्द्र गिरी, पर्साका सभापति अजय दिवेद्वी र सर्लाहीका सभापति नागेन्द्र कुमार राय उद्घाटन समारोहमा सहभागी भएका हुन्। 

उद्घाटन समारोहमा महोत्तरीका सभापति महेन्द्रकुमार राय, सप्तरीका सभापति दिनेश यादव, सिरहाका सभापति रामचन्द्र यादव, रौतहटका सभापति कृष्णप्रसाद यादव र बाराका सभापति जयचन्द्र चौरसिया भने अनुपस्थित थिए। 

उपसभापति निधिलाई सभापतिमा सघाउन नसकिने भएका कारण उनीहरु उद्घाटन समारोहमा उपस्थित नभएको आंकलन गरिएको छ। 

तर, समारोह सञ्चालनका क्रममा निधिका प्रेस सल्लाहकार रामजी दाहालले बाढी–पहिरोले बाटो अवरुद्ध भएका कारण धेरै नेता–कार्यकर्ताहरु काठमाडौं पुग्न नसकेको जानकारी गराएका थिए। 

यद्यपि, उद्घाटन समारोहमा अनुपस्थित जिल्ला सभापतिहरूले यसअघि नै निधिलाई सभापतिका रुपमा नसघाउने संकेत गरेका थिए। 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूको भेलालाई ‘काउन्टर’ दिन साउन तेस्रो साता ललितपुरको कुपण्डोलमा आयोजित संस्थापन पक्षीय जिल्ला सभापतिहरूको भेलामा उनीहरुले आसन्न महाधिवेशनमा देउवालाई नै सघाउने वचन दिएका थिए। 

प्रदेश २ का आठ जिल्ला मध्ये पाँच जिल्लाका सभापतिहरू कुपण्डोलको समिट होटलमा आयोजित भेलामा सहभागी भएका थिए। भेलामा मन्तव्य राख्ने क्रममा उनीहरुले आसन्न महाधिवेशनमा आफूहरुले देउवालाई नै सघाउने वचन दिएको भेलामा सहभागी एक सभापतिले जानकारी दिएका थिए। 

‘प्रदेश २ का जिल्ला सभापतिजीहरु आगामी महाधिवेशनमा सभापति पदमा दिइने उम्मेदवारीमा प्रष्ट देखिनुभयो। उहाँहरु शेरबहादुर दाइभन्दा बाहिर जानुहुन्न,’ ती सभापतिले नेपालखबरसँग भनेका थिए, ‘उहाँहरुले प्रष्टै भन्नुभयो– सभापतिमा शेरबहादुर दाइभन्दा बाहिर जान सकिदैन।’

६० सदस्यीय प्रतिष्ठानका सात जनामात्रै उपस्थित

उपसभापति निधि प्रमुख रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सात सदस्य मात्रै उद्घाटन समारोहमा उपस्थित भएका छन्। 

६० सदस्यीय प्रतिष्ठानबाट सात जनामात्रै उपस्थित भएको सहभागी एक प्रतिष्ठान सदस्यले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार उद्घाटन समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य डा. गोविन्द पोख्रेल, राजु नेपाल, उषा मल्ल, सुष्मा तिवारी, तारानाथ दाहाल र भगीरथ पोद्दार मात्रै समारोहमा उपस्थित थिए। 

देउवाको डरले अन्य सदस्य उपस्थित नभएको प्रतिष्ठानका सदस्य राजु नेपालले बताएका छन्। 

‘हामी नेपाली कांग्रेसमा प्रशिक्षण दिँदा भन्छौँ- झण्डामा रहेका चार तारा मध्ये एउटा ताराको अर्थ भयबाट मुक्ति हो। आज विमलेन्द्र निधिको सम्पर्क कार्यालय सुभारम्भका अवसरमा उहाँका आफ्ना भनिएका तिनै प्रशिक्षकमध्ये धेरै काठमाडौँमै रहेर पनि अनुपस्थित रहे। कारण ‘भय,’ नेपालले ट्विट गरेका छन्।

देउवाको गृह जिल्लाबाट शुभकामना 

उपसभापति निधिले संस्थापन समूहबाट ‘विद्रोह’ गर्ने संकेत गरिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लले उनलाई शुभकामना दिएका छन्। 
उनले सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिलाई जितको शुभकामना दिएका हुन्। 

डडेल्धुरा सभापति मल्लसँगै क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नु माग अघि सारेर रिले अनशनमा बसिरहेका संस्थान इतर समूहका पाँच जिल्ला सभापति पनि उक्त समारोहमा उपस्थित भएका थिए। 

नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य, धादिङ सभापति रमेश धमला, सुर्खेत सभापति कमलराज रेग्मी र संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ उपसभापति निधिलाई शुभकामना दिन बानेश्वर ब्याङ्केट पुगेका हुन्। 

लेखा समिति सभापति पनि 

निधिको सम्पर्क कार्यालय उद्घाटन समारोहमा संसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाह पनि उपस्थित थिए। 

यस्तै प्रदेश २ का मन्त्रीद्वय राम सरोज यादव र ओमप्रकाश शर्मा पनि कार्यक्रममा सहभागी भएका थिए। 

यस्तै प्रदेश २ का सांसदहरु मिनाक्षी झा, शिवचन्द्र चौधरी, स्मृतिनारायण चौधरी, पूर्वमन्त्रीहरू होमनाथ दाहाल, सुरेश मल्ल, पूर्वसांसद सुशीला स्वाँर पनि कार्यक्रममा उपस्थित भएका थिए। 

तीन केन्द्रीय सदस्य पनि 

कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित तीन जना केन्द्रीय सदस्यहरुले उपसभापति निधिलाई आसन्न महाधिवेशनमा सभापति पदमा विजयी हुन शुभकामना दिएका छन्। 
केन्द्रीय सदस्यहरु महेन्द्र यादव, चन्द्र भण्डारी र लक्ष्मी परियारले बानेश्वर व्यांकेटमा आयोजित समारोहमा पुगेर उनलाई शुभकामना दिएका हुन्। 
केन्द्रीय सदस्यद्वय यादव र परियार संस्थापन निकट हुन भने भण्डारी संस्थापनइतर समूहमा छन्। 

‘कार्यक्रममा नजान उर्दी जारी गरियो’ 

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूनिकट नेताहरुलाई उपसभापति निधिले आयोजना गरेको कार्यक्रममा नजान उर्दी जारी गरेको आरोप लगाएको छ। 

सरकारी निवास बालुवाटारमा बोलाएर उनले नेताहरूलाई निधिको कार्यक्रममा नजान दबाब दिएको निधिनिकट स्रोतले दाबी गरेको छ।  

‘सभापतिज्यूले बालुवाटारमा बैठक आयोजना गरिएको छ भनेर बोलाउनुभयो। म आउन नभ्याउने भएँ,’ एक पूर्वमन्त्रीको भनाइ उद्धृत गर्दै निधिनिकट स्रोतले नेपालखबरसँग भन्यो।  

सभापति देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुलाई पनि कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको निधिनिकट स्रोतले दाबी गरेको छ। 

‘बालुवाटारमा बोलाएर कार्यक्रममा नजान भनियो,’ कार्यक्रममा सहभागी निधिनिकट प्रतिष्ठानका एक सदस्यले नेपालखबरसँग भने, ‘६० सदस्यीय कार्यसमिति नै छ प्रतिष्ठानको। तर, हामी सात जनामात्रै छौं। बाँकीलाई धम्क्याइयो।’
तर, सभापति देउवाको सचिवालयले बालुवाटारमाथि लगाइएको आरोप निराधार भएको प्रतिक्रिया दिएको छ। 

‘कसैले कसैलाई उर्दी जारी गरेको छैन। त्यहाँ नजान भनेर चरो मुसोले पनि भनेको छैन,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले प्रश्न गर्यो,' ‘यो सरासर गलत कुरा हो। उपसभापतिको कार्यक्रममा नजाउ भन्ने कुरा कसरी गरिन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .