राजनीति


मधेशमा बढ्यो ‘आइटी आर्मी’ को सक्रियता, के हो प्रभु साहको उद्देश्य?

मधेशमा बढ्यो ‘आइटी आर्मी’ को सक्रियता, के हो प्रभु साहको उद्देश्य?

शैलेन्द्र महतो
भदौ १५, २०७८ मंगलबार ९:१६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) छाडेर एमालेतिर लागेका नेता प्रभु साहले मधेशमा तामाझामसहित आफ्नो उपस्थिति देखाउन थालेका छन्। साहको पहलमा गठन भएको ‘आइटी आर्मी’ले पछिल्लो समय प्रदेश २ मा आफ्नो सक्रियता बढाउँदै लगेको छ।

गएको ५ साउनमा चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय ‘आइटी आर्मी’ केन्द्रीय समिति गठन गरिएको थियो। आइटी आर्मीका संयोजक चन्द्रभुषण साह नेता प्रभु साह निकट युवा हुन्। 

पूवमन्त्रीसमेत रहेका प्रभु साहले समृद्ध र सफल नेपाल निर्माण गर्न आइटी आर्मीको स्थापना गरिएको बताए। ‘सूचना प्रविधिमा जनताको पहुँच, परिवर्तन, समृद्धी र सफल नेपाल निर्माण गर्ने उद्देश्यले आइटी आर्मीको स्थापना गरिएको हो,’ साहले नेपालखबरसँग भने, ‘सोही अनुसार यो संगठन अघि बढिरहेको छ।’ 

हालसम्म प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा र पर्सा जिल्लामा संगठनको जिल्ला कमिटी गठन रिएको आइटी आर्मीका संयोजक साहले बताए। पछिल्लो समय संगठनले मधेशका जिल्लाहरुमा मोटरसाइकल र्यालीसहित नाराजुलुश गर्न थालेको छ। 

अहिलेसम्म ६ वटा जिल्लामा संगठन विस्तारसँगै मोटरसाइकल जुलुस गरिसकिएको संयोजक साहले जानकारी दिए। ‘बारा, पर्सा, रौतहट र सर्लाहीका कतिपय स्थानीय तहका वडासम्म कमिटी गठन गरेका छौँ,’ संयोजक साहले भने, ‘प्रदेश २ को सिरहा र सप्तरी जिल्लामा चाँडै आइटी आर्मी गठन गर्ने हाम्रो तयारी छ।’

साहका अनुसार संगठनले सूचना प्रविधिको बलमा समाजको रुपान्तरण गर्दै देशलाई अग्रगमनको दिशा दिने छ। समाजवादको आधार खडा गर्दै  सामाजिक न्याय, नयाँ संस्कृति निर्माण, समाजमा विद्यमान विकृति विसंगतीको उजागर, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने उद्देश्य संगठनले लिएको छ।

रौतहटमा बढी चहलपहल 
अन्य जिल्लाको तुलनामा प्रभु साहको गृह जिल्ला रौतहटमा आइटी आर्मीको बढी चहलपहल छ। साहले रौतहटका विभिन्न स्थानीय तहमा संगठन विस्तार र मोटरसाइकल र्याली गरिसकेका छन्। रौतहट नेकपा (एमाले) बाट विभाजति भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालको पनि गृह जिल्ला हो। माधव नेपाल पक्षलाई कमजोर पार्न रौतहटमा साहले बढी चहलपहल गरिरहेका जानकारहरु बताउँछन्।

आईटी आर्मीको स्थापना कार्यक्रमलाई युवा संघका अध्यक्ष महेश बस्नेतले बहिस्कार गरेका थिए। बस्नेतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बचाउमा आफ्नै नेतृत्वमा ‘साइवरसेना’ गठन गरेका थिए। 

सामाजिक संजालमा तत्कालिन ओली सरकारको गलत गतविधिको आलोचना गर्नेको कडा प्रतिवाद गर्न साइवर सेनाको गठन गरिएको थियो। तर, आइटी आर्मीको संठन विस्तारमा एमाले इतरकै पुराना नेता र युवाहरुको खासै चाँसो देखिँदैन। युवा संघका केन्द्रीय नेता एवं एमाले अध्यक्ष ओलीका विश्वसपात्र संजिव झा सुरजले आइटी आर्मीको विषयमा केही प्रतिक्रिया दिन चाहेनन् । ‘यो विषयमा मेरो प्रतिक्रिया नलिनुस्। नेता प्रभु साह र संयोजक सिडी साहसँगै बुझ्नु होला,’ उनले भने। 

तथापी मधेशमा साइवरसेना जस्तै एमालेको नयाँ अस्त्रको रुपमा आइटी आर्मीलाई लिन थालिएको छ। ‘साइबर सेना’ले जस्तै अब विपक्षीमाथि भ्रम सृजना गर्ने, अफवाह फैलाउने, चरित्रहत्या गर्ने जस्ता क्रियाकलाप ‘आइटी आर्मी’ले गर्ने मधेशका वुद्धिजिवीहरुको अनुमान छ।  

मधेशका वौद्धिक जमातले आइटी आर्मीले गरेको मोटरसाइकल र्यालीलाई समेत शंकाको दृष्टिले देख्न थालिएका छन्। आइटी आर्मीको स्थापना, संगठन विस्तार, मोटरसाइकल र्याली जस्ता क्रियाकलापमा प्रभु साहको अगामी चुनावमा विजयी हुने उद्देश्य लुकेको जनकपुरका वुद्धिजिवी लालबाबु चौधरीको बुझाइ छ। 

‘भ्रष्टाचार, विकृति विसंगतीको अन्त्य गर्ने नाममा आजसम्म धेरै संगठन खुलिसकेका छन्,’ चौधरीले भने, ‘तर त्यसले मुलुकमा विद्यमान विकृति विसंगती, भ्रष्टाचार नियन्त्रण हुन सकेन। यो आइटी आर्मी पनि सामाजिक संजालको प्रयोगद्वारा विपक्षीलाई कमजोर पार्ने, तर्साउने जस्ता गतिविधिमा सक्रिय हुन्छ। यसको उद्देश्य आगामी चुनाव हो। अरु केहि होइन।’

आईटी आर्मीले साइबरसेनाले जस्तो प्रापोगाण्डा नगर्ने संयोजक साहको दावी छ । ‘आईटी आर्मी सुशासन, न्याय, समानताको लागि लड्ने स्वतन्त्र संगठन हो। हामी साइबर सेना जस्ता होइनौँ। अन्य विचारका युवाहरु पनि यसमा आवद्ध हुन सक्छन्,’ उनले भने।
 
मोटरसाइकल र्यालीको मूल उद्देश्य शक्ति प्रदर्शन नभइ समाजमा जागरण ल्याउनु रहेको संयोजक साहको तर्क छ । ‘मोटरसाइकल र्याली जनजागरणका लागि हो। र्यालीमा हामी २०–२५ वटा नारा घन्काउँछौं, ती सबैले समाज परिवर्तनको उद्देश्य बोकेका छन्,’ उनले भने, ‘हामी युवाहरुलाई सूचित गरिरहेका छौं। भ्रष्टाचार विरुद्ध तपाईं सचेत हुन, जागरुक हुन, एकतावद्ध र गोलबन्द हुन जरुरी छ भन्ने अपिल गरिरहेका छौँ।’ उनले प्रदेश २ पछि अब सुदुर पश्चिम प्रदेश हुँदै देशभर नै आइटी आर्मीको संगठन विस्तार गरिने बताए।

राजनीतिक विश्लषेकहरु भने आइटी आर्मीको गतिविधि विगतको चुनावमा माओवादीको युवा दस्ता वाइसिएल र एमालेको युवा संघले गरेको जस्तै चुनावलाई आफ्नो पक्षमा पार्न भएका क्रियाकलापकै नक्कल मान्छन्।

 ‘जसरी २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले वाइसिएल परिचालन गर्यो। शक्ति प्रदर्शन गर्दै भयत्रासको वातावरण बनायो र  जनतालाई आफ्नो पार्टीलाई भोट दिन बाध्य बनायो,’ राजनीतिक विश्लेषक बिमल यादव भन्छन्, ‘पछिल्लो निर्वाचनमा एमालेले युवा संघ परिचालन गर्यो र ठूलो पार्टी भयो। त्यस्तै प्रभु साह पनि आगामी चुनाव जित्न अहिले त्यही गर्दैछन्। यो कुनै नयाँ कुरा होइन।’ 

धेरै संघसस्था भ्रष्टाचार र कुशासन अन्त्यको नारा लगाउँदै अगाडि आएपनि व्यवहारमा उनीहरु आफ्नो स्वार्थ सिद्धिमा लागेका यादव बताउँछन्।

 ‘यहाँ जो जति ठूलो भ्रष्टाचारी छ । उसले त्यति धेरै भ्रष्टाचार निर्मूल गर्ने नारा दिन्छ। जनतामा भ्रम सिर्जना गर्न खोज्छ। यो आम मानिसलाई दिग्भ्रमित गर्ने प्रयास मात्रै हो। हात्तीको देखाउने दाँत एउटा र चपाउने अर्को भए जस्तै,’ यादवले अगाडि भने,’  ‘प्रभु साहमाथि पनि भ्रष्टाचारको धेरै आरोप लागेका छन्। तर, उनलाई कसले के गर्न सक्यो र?’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .