५२ वडा रहेको सोलुखुम्बुमा कांग्रेसको क्षेत्रीय प्रतिनिधि छान्ने विषयमा दुई वडामा भने सहमति जुट्न सकेन, निर्वाचन नै गर्नुपर्यो।
नेचासल्यान गाउँपालिका– ३ मा निर्वाचनको कारण बनिन्, २१ वर्षीया पूजा फुयाल। पाँच जना महिला क्षेत्रीय प्रतिनिधिको स्थानमा प्रतिस्पर्धी ७ जना पुगेका थिए। भित्रभित्रै सहमतिको प्रयास जारी थियो।
सहमति भए पूजाले नै मैदान छाड्नुपर्ने हुन्थ्यो। किनभने उनी उमेरमा पनि कान्छी थिइन्, त्यसमाथि अरु प्रतिस्पर्धी पनि उनका आफन्त नै थिए। तर, पूजाले मैदान नछाड्ने अड्डी कसिन्।
‘हारजित भए पनि चुनावकै नतिजा स्वीकार्छु, तर सहमतिका आधारमा पछाडि फर्किन्नँ,’ उनले भनिन्।
उनको अडानपछि चुनाव भयो। वडाबाट सर्वाधिक मतसहित पूजा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइन्।
बिहीबार फुयाँलले कांग्रेसको क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरिन्। २ सय ६३ मत खसेकोमा पूजाले २ सय २ मत प्राप्त गरेकी छिन्। उनले प्रतिद्वन्द्वी सरस्वती केसी भण्डारीलाई ८९ मतले पराजित गरेकी थिइन्।
‘मसँग प्रतिस्पर्धा गर्नेहरु अधिकांश आफन्तहरु हुनुहुन्थ्यो। सहमतिमा क्षेत्रीय प्रतिनिधि छान्दा मैले छाड्नुपर्ने अवस्था आएको थियो,’ पूजाले भनिन्, ‘तर लोकतान्त्रिक पार्टीमा चुनावमा जाँदा हारजित हुन्छ। नतिजा जे भएपनि स्वीकार्छु भन्दै सहमतिमा जाने कुरा अस्वीकार गर्दै बसेकी थिए। मैले सहमति नस्वीकार्ने भएपछि चुनाव हुने निश्चित भयो। जसमा धेरैको साथ मलाई प्राप्त भयो।’
प्रतिस्पर्धामा उत्रिएका डुकादेवी शर्मा (हजुरआमा), सीता कुमारी शर्मा (हजुरआमा), कुमारीदेवी शर्मा (हजुरआमाको बहिनी) पूजाका नजिकका आफन्त थिए। एकै परिवारका धेरैजना प्रतिस्पर्धी भएपछि कान्छी पूजाले ठाउँ छाड्ने अपेक्षा सबैको थियो।
उनी चुनाव लड्ने निश्चित भएपछि आफन्तहरुले पनि उनलाई हराउनै पर्छ भनेर अर्को उम्मेदवार पनि उठाए। तर, जित पूजाकै भयो।
‘म राजनीतिमै लाग्ने भनेर पढाइसँगै यसैमा होमिएकी छु। कुनै जागिर, कामको पछि लागेकी छैन। म ब्याक हुने कुनै कारण थिएन,’ उनी भन्छिन्, ‘मलाई हराउनुपर्छ भनेर अर्को उम्मेदवार खडा गर्ने काम भयो। मेरो राजनैतिक संघर्षको सुरुवात त घरपरिवारबाटै भयो।’
९ कक्षा पढ्दादेखि पूजाले राजनीतिमा पालना चालेकी हुन्। उनलाई राजनीतिमा आउन घरपरिवारको साथ सहयोग छ।
उनका हजुरबा गाविस अध्यक्ष थिए। अरु मान्छे आउँदा पनि राजनीतिक कुरा हुन्थ्यो। उनी चासो दिएर सुन्थिन्। घरको वातावरण अनुसार नै उनी भिज्दै गइन। ९ कक्षा पढ्दै गर्दा विद्यालयमा नेवि संघको इकाई सभापति समेत बनिन्।
उनलाई अगाडि आएर बोल्न एकदमै मन पर्थ्यो १२ कक्षासम्म गाउँमै पढेकी पूजा क्याम्पसमा हुने हरेक कार्यक्रममा माइकसँगै हुन्थिन्। स्नातक अध्ययनका लागि भक्तपुरको सानोठिमी क्याम्पसमा भर्ना भएपछि उनी झनै सक्रिय भइन्।
स्वभावअनुसार नै उनको सरसंगत राजनीतिमा लागेकाहरूसँग भयो। क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सदस्य पदमा उठ्ने निर्णय गरिन र जितिन् पनि। पूजा अहिले नेविसंघ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेसनको जिल्ला सहसचिव छिन्।
क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि पूजा आफूलाई मत दिनेहरुको आशालाई निराशामा बदल्न नदिने प्रतिबद्धता जनाइन्।
‘धेरै मान्छेले पढ्ने उमेरमा राजनीति गर्नु हुँदैन, राजनीति नराम्रो हो भन्नुहुन्छ। ती मान्छेहरूलाई सबै राजनीति गर्ने मान्छे खराब हुँदैनन्। देश, समाजका लागि पनि काम गर्छ्न भनी देखाउन मन छ,’ उनले भनिन्, ‘यहाँका जनताले यत्रो मत दिएर मलाई विश्वास गर्नुभएको छ। म युवाहरुको नेतृत्व गर्दै उहाँहरुको आशालाई मर्न दिने छैन। म सबैको साथ सहयोग र सल्लाहले अघि बढ्छु।’
खुसी छन् बुबा
पूजाका बुबा यादव फुयाल छोरीको सफलताबाट खुसी छन्।
सानैदेखि छोरीको राजनीतिमा रुचि भएकाले उनी क्षेत्रीय प्रतिनिधि बन्न योग्य रहेको यादवको भनाइ छ। उनी आफैँ पनि गाउँपालिकाको शिक्षक संघको अध्यक्ष छन्।
‘हरेक अभिभावकको आफ्ना सन्तान जागिर खाऊन्, धेरै पढून् भन्ने मानसिकता रहन्छ। आफ्ना बच्चाहरुले इज्जत, मान, प्रतिष्ठा कमाऊन् भन्ने चाहन्छन्,’ उनी भन्छन्, ‘इज्जत, मान, प्रतिष्ठा भनेको पढ्ने मात्रै जागिर खाने मात्रै पनि होइन। हरेक क्षेत्रबाट अगाडि बढ्दा पनि इज्जत, मान, प्रतिष्ठा बढ्छ भन्ने धारणा अभिभावकमा हुनुपर्छ।’
सर्वाधिक मत ल्याएर जितेपछि छोरीले अधिकांशको मन जितेकी रहेछ भन्ने यादवलाई लागेको छ। इमान्दारितापूर्वक काम गर्दै गए सबैसँग समान, उचित व्यवहार गरे भोटरको अपेक्षाको कदर गर्दै अगाडि बढेमा आउने दिनमा थप उचाई हासिल गर्न सहयोग पुग्ने उनी बताउँछन्।
नेपालमा गुटगत राजनीति हुने भएकाले छोरीको राजनीतिक भविष्य चुनौतीपूर्ण हुने यादवको ठम्याइ छ। तर प्रयत्न जारी राखे सफलता हात पर्ने उनी बताउँछन्। कम्तीमा छोरीले प्रादेशिक राजनीतिमा पुग्ने लक्ष्यमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ।
‘बाटो कठिन छ। नेपालमा राजनीतिक भविष्य राम्रो छैन। गुटगत राजनीति हुन्छ। ठ्याक्कै राजनीतिमा सफल हुन सकिन्छ भन्ने छैन। तर प्रयत्न जारी राख्ने हो,’ उनले भने, ‘राजनीतिमा अपेक्षा ठूलो हुन्छ। आफ्नो क्षमता, शक्ति, उमेर धेरै कुराले फरक पार्छ। जिल्ला हुँदै प्रदेशसँगको राजनीतिमा पुग्नसक्छिन् भन्ने आशा छ।’
राजनीतिमा रुचि भएका छोराछोरीलाई अभिभावकको साथ सहयोग आवश्यक हुने यादवले बुझेका छन्। अभिभावकको सपोर्ट भएन भने छोरीहरूले संघर्ष गरे पनि बाटो कठिन हुने उनी बताउँछन्।
‘हाम्रो पितृसत्तात्मक परिवार र संस्कार भएको समाज छ। यस्तो हो उस्तो हो भन्ने सुन्ने गरिन्छ,’ यादवले भने, ‘त्यो समाजको कुरीति मात्रै हो। त्यसलाई हामीले चिर्न सक्नुपर्छ। आफू इमान्दार भइयो भने अर्काले के भन्छ त्यसले फरक पर्दैन।’
Shares
प्रतिक्रिया