परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी राष्ट्रिय अभिलेखालयमा भएका कागजातहरू अध्ययन गरिरहेको बताएका छन्। भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उनले सीमा विवादलाई तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट टुंगोमा पुर्याउने बताएका हुन्।
‘राष्ट्रिय अभिलेखालयमा भएका डकुमेन्टहरू अध्ययन गर्दैछौँ। केही विषय हामीसँग छन्, केही विषयको ओरिजनल प्रमाणित कपीहरू नभएको जस्तो पनि देखिन्छ नेपालमा। विभिन्न कालखण्डमा सिंहदरबारमा कुनै समयमा आगो लागेको कारणले हुन सक्छ। कतिपय आधिकारिक दस्ताबेजहरू, हामीसँग नभएका दस्ताबेजहरू वा भएका दस्ताबेजहरूलाई थप सपोर्ट गर्ने डकुमेन्टहरू,’ उनले भने, ‘तत्कालीन अवस्थामा १८१६ मा सुगौली सन्धी हुँदै गर्दा त्यतिबेलाको बेलायती कम्पनी, उनीहरूले अध्ययन गरेका लेखेका, कहिलेकहिले व्यक्तिगत नोटबुकहरू पनि हिस्टोरिकल इभिडेन्सको रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्ता विषयहरू हाम्रो बुझाइमा बेलायतका संग्रहालय, लाइब्रेरी, नेसनल आर्काइभहरूमा छन्।’
बेलायत सरकारसँग मित्रवत् सम्बन्ध रहेकाले आवश्यकता परेका बेला ‘एक्सेस अफ डकुमेन्ट’को हिसाबले उनीहरूसँग छलफल र सहकार्य गर्न सक्ने उनको भनाइ छ।
परराष्ट्रमन्त्री खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। भारतका विदेशमन्त्री डा एस जयशंकरको निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली गएका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए।
वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
Shares

प्रतिक्रिया