ad ad

राजनीति


बुटवल पुगेर ओलीले भने : एमाले मौरी, माधव नेपालकाे पार्टी झिंगा!

बुटवल पुगेर ओलीले भने : एमाले मौरी, माधव नेपालकाे पार्टी झिंगा!

सुदीप भण्डारी
भदौ ३०, २०७८ बुधबार २१:४३, काठमाडौँ

गत पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि एकीकृत अवस्थामा रहेका बेलामा सत्तारुढ दल नेकपामा तीब्र ध्रुबीकरण बढेको थियो। औपचारिक रुपमा विभाजित नभएको भएपनि राजनीतिक रुपमा विभाजित भएर ओली र प्रचण्ड–माधव पक्षले छुट्टा छुट्टै सभा र प्रदर्शन गरेका थिए।

बुटवल सहित विभिन्न ठाउँमा दुई पक्षका शक्ति प्रदर्शन भएको थियो। गत वैशाख महिनासम्म बुटवलमा एमालेसहित अरु राजनीतिक दलका पनि थुप्रै सार्वजनिक र खुल्ला कार्यक्रम भएका थिए। 

कोभिडको दोस्रो लहर तीब्र बन्दै गएपछि वैशाख १६ गतेबाट रुपन्देहीमा निषेधाज्ञा जारी भएको थियो। असारसम्म निषेधाज्ञामा कडाइ गरिएको थियो। त्यसयता निषेधाज्ञा क्रमश खुकुलो पारिँदै लगिएको थियो। यती ठूलो संख्यामा खुल्ला राजनीतिक सभा भने भएको थिएन। कोभिडको दोस्रो लहरपछि बुटवलको देबीनगर मैदानबाट राजनीतिक सभा सुरु भएको छ। 

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला भनिएको भएपनि खुल्ला चौरमा ठूलो संख्यामा कार्यकर्ता उपस्थित भएका थिए। १० हजार भन्दा बढी संख्यामा कार्यकर्ताहरु एन्फा एकेडेमी नजिकको चौरमा केपी ओलीको भाषण सुन्न पुगेका थिए। 

खुकुलो स्वरुपको भएपनि रुपन्देहीमा निषेधाज्ञा जारी नै छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गत भदौ १५ गते मात्र जारी गरेको सूचनाको पहिलो बुँदामै भनिएको छ ‘सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमाहल र हाटबजार आदि सञ्चालन नगर्ने।’ 

जिल्ला प्रशासन कार्यालयको यो आदेश भदौ ३१ गते राति १२ बजेसम्मको लागि हो। तर उक्त आदेशको अवधी नसकिँदै बुटवलमा यो प्रकारको ठूलो सभा गरिएको हो। 

निषेधाज्ञाको आदेशको उल्लंघन गर्दै पार्टी प्यालेस तथा सभाहलमा दिनहुँ जसो कार्यक्रम भइरहेका छन्। तर राजनीतिक रुपमा भेला र खुल्ला सभाको सुरुवात भने आजबाट भएको देखिएको छ। कार्यक्रममा सहभागी कार्यकर्ताहरु दूरी कायम नगरी नजिक नजिक बसेका थिए। कतिपयको मुखमा मास्क देखिँदैन थियो। कार्यकर्ताले सभामा मास्क वितरण गरेका थिए। 

खुल्ला चौरको किनारमा दर्जनौंको संख्यामा कार्यकर्ता ओसारिएका बस राखिएको थियो। सभामा प्रमुख वक्ता भएर आएका पूर्वप्रधानमन्त्रीले नै मास्क लगाएका थिएनन्। मञ्चमा बसेका अरु नेताहरुले पनि मास्क लगाएको देखिँदैन थियो।

सभामा बोल्ने क्रम टुंग्याउँदै गर्दा पूर्वप्रधानमन्त्री ओलीले बेसार पानीकै प्रसंग दोहो¥याए। 

‘कोभिडको बेला छ दूरी कायम गर्नुस, सुत्ने बेलामा तातोपानी र दुधमा बेसार राखेर खानुहोस्’ उनले भनेका थिए। 

सभामा धेरैले ओलीको बोली मात्र सुने  
अगाडिका वक्ता बोलिसकेपछि सभा सञ्चालन गरिरहेकी एमाले रुपन्देही जिल्ला कमिटी सचिव जागेश्वरी चौधरीले ओलीलाई सम्बोधन गर्न आग्रह गरिन्। ओली पोडियम तिर जान खोजेनन्। उनको लागि आफू बसेको ठाउँ अघि कुर्सी र टेबुलमा माइकको व्यवस्था गरिएको थियो।

भेलामा अगाडिको केही लहरमा बसेकाहरुले मात्र ओलीको अनुहारसँगै भाषण पनि सुन्न पाएका थिए। पछाडीका धेरैले ओलीको बोली मात्र सुनेका थिए। लामो भाषण अनि ओलीलाई देख्न नपाउँदा धेरै कार्यकर्ता उठेर हिँडिसकेका थिए। 

‘एमाले मौरी, एकीकृत समाजवादी झिंगा!’ 
यस पटक पनि ओलीले बुटवलको सभामा केही टुक्का भनेर कार्यकर्तालाई हँसाउन बाँकी राखेनन्। उनले एमालेलाई मौरी र माधव नेपालको पार्टीलाई झिँगाको संज्ञा दिए। 

‘तपाईँहरु मौरीको साथ लागेर जानुभयो भने बगैंचामा पुगिन्छ। झिँगाको साथमा जानुभयो भने फोहरको डुंगुरमा पुगिन्छ’ कार्यकर्तालाई एमाले नछोड्न आग्रह गर्दै उनले भने ‘एमालेको साथ लाग्नुहोस् फूलबारीमा पुग्ने हो भने। होइन फोहरको डुंगुरमा पुग्नुछ भने कसको के लाग्छ। माधव नेपालको साथमा अहिले पनि दुइ चार जना मान्छे पछि पछि लुखुर लुखुर देखिन्छन्।’ 

उनले अहिलेको सरकारलाई बुख्याँचाले गर्ने काम पनि नगरेको बताए। सरकारले बजेट खर्च गर्न नपाउने भन्दै ओलीले अब सरकार बुख्याँचा भएको उल्लेख गरे। 

‘यो सरकार कस्तो सरकार बुख्याँचा हो कि सरकार हो। बुख्याचाले त कम्तिमा चरा सरा भगाउँछ। यसले त केही पनि भगाउँदैन’ उनले भनेका थिए।   

ओलीले विभिन्न उखान टुक्का भनेर सत्तारुढ दललाई घोचपेच गर्दा सहभागीहरुमा हाँसोको फोहरा छुटेको थियो। मन्चमा उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल सँगै बसेका थिए। ओलीको भाषण सुन्दा पौडेल हलुका मुस्कुराएको देखिन्थे भने अर्का उपमहासचिव घनश्याम भुसाल कत्ति पनि हाँसेका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .