राजनीति


बन्दीपुरको माउन्टेन रिसोर्टमा विप्लव नेतृत्वको नेकपाको बैठक

बन्दीपुरको माउन्टेन रिसोर्टमा विप्लव नेतृत्वको नेकपाको बैठक

नेपालखबर
असोज १, २०७८ शुक्रबार १३:५०, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट  पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ। 

शुक्रबार बिहान ९ बजदेखि नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो। बन्दीपुरस्थित माउण्टेन रिसोर्टको हलमा सुरु केन्द्रीय समितिको बैठक ५ असोजसम्म जारी रहने पार्टीले जनाएको छ। 

पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए। राष्ट्रिय राजनीतिबारे पनि छलफल चल्ने उनको भनाइ छ। 

‘राष्ट्रिय राजनीतिमा अहिले संकट पैदा भएको छ। यसको समाधानका निम्ति हामी क्रान्तिकारी पार्टीको हैसियतले कसरी अगाडि बढ्ने सन्दर्भमा छलफल चल्नेछ’, उनले भने। 

राज्यसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको बिषयमा पनि केन्द्रीय समितिले छलफल गर्ने जनाइएको छ। 

‘राज्यले इमान्दारीतापूर्वक तीन बुँदे सहमति कार्यान्वयन गरेको छैन। ढिलासुस्ती भइरहेको छ। हामीले ईमानपूर्वक कार्यन्वयन गरिरहेका छौं', उनले भने, 'हामी प्रतिबद्ध पनि छौं। सरकारले हेलचक्रयाँई गरेको सन्दर्भमा हामी कसरी जाने भन्नेमा पनि छलफल गर्नेछौं,’ पुनले भने।  

पार्टीको आन्तरिक कमिटीलाई कसरी सुदृढ पार्ने र व्यवस्थित पार्न बैठकले तय गर्ने उनको भनाइ छ। बैठक सकेपछि पत्रकार सम्मलेन गरेर निर्णय सार्वजनिक हुने उनले बताए। 

तीन बुँदे सहमतिपछि २१ फागुन २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो। दुई बर्षदेखि लगाइएको प्रतिबन्ध मन्त्रिपरिषद् बैठकले फुकुवा गरेपछि विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा फर्किएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .