नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त दिएकामध्ये संक्षिप्त सूचीमा ३२ उम्मेदवार छनोट भएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार प्राधिकरणका अध्यक्ष र सदस्यका लागि छनोट भएका ३२ उम्मेदवारको नाम सार्वजनिक गरेको हो। प्राधिकरणको अध्यक्षका लागि नौ जना छनोट भएका छन्।
त्यस्तै, प्राविधिक र प्रशासनिकतर्फका सदसस्यका लागि नौ, बजार व्यवस्थापनतर्फ सदस्यका लागि चार, लेखा तथा लेखापरीक्षणतर्फ सदस्यका लागि चार र कानुनतर्फ सदस्यका लागि ६ जनाको नाम छनोट भएको छन्। उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।
वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि एक हजार ५३४ राजनीतिक नियुक्ति पाएकाहरू पदमुक्त भएका थिए। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सञ्चार मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वतः पदमुक्त गरेको थियो।
रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले गत वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। त्यसपछि अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया चलिरहेको छ।
कानुनतर्फ सदस्यका लागि यसअघि सुरु गरिएको नियुक्ति प्रक्रियामा आवेदन दिएका सबै अयोग्य भएका थिए। त्यसपछि नयाँ आवेदन माग गरेर पुनः नियुक्ति प्रक्रिया अघि बढाइएको हो।



Shares

प्रतिक्रिया