ad ad

राजनीति


भीम रावलको साथ छोडेका लामा आर्थिक मामिलामन्त्री, राज्यमन्त्रीमा बोहरा

भीम रावलको साथ छोडेका लामा आर्थिक मामिलामन्त्री, राज्यमन्त्रीमा बोहरा

गोकुल जोशी
असोज १, २०७८ शुक्रबार १९:८, महेन्द्रनगर

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। शुक्रवार मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का सांसद तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ (बोहरा) लाई नियुक्त गरेका छन्।

नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ र राज्यमन्त्री माया तामाङ (बोहरा)ले शुक्रवार बेलुका नै पद तथा गोपनीयताको सपथ पनि लिएका छन्।

नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै बस्ने निर्णय गर्दै भदौ २२ गते राजीनामा दिएका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रालय रिक्त रहेपछि अपूर्ण रहेको प्रदेश सरकारको मन्त्रिमण्डललाई मुख्यमन्त्री भट्टले झण्डै १० दिनपछि पूर्णता दिएका हुन्। 

तत्कालीन नेकपा एमालेको माधव समूहको भागमा परेको आर्थिक मामिला तथा योजना मन्त्रालय नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादीले नै पाएको छ। 

नेकपा एमाले छाडेर एकीकृत समाजवादी रोजेकाले तामाङ र बोहराले मन्त्री पद ‘उपहार’ जस्तै पाएका छन्। 

तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी भएका थिए। तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत उनले सम्हालिसकेका थिए। 

माधव नेपाल समूहमा रहेर भीम रावलसँग निकट रहेका तामाङ एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए। नेकपा एमाले विभाजनपछि तामाङले एकीकृत समाजवादी रोजेका हुन्।

यस्तै राज्यमन्त्री नियुक्त भएकी माया तामाङ (बोहरा) बझाङकी सांसद हुन्। तत्कालीन नेकपामा देखिएको धुव्रिकरणमा उनी ओली समूहमा थिइन्। 

गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली समूहका ७ सांसदमध्ये एक उनी पनि थिइन्। तर एमालेको विभाजनमा बोहराले ओली समूह छोडेर एकीकृत समाजवादी पार्टी रोजेकी थिइन्।

एकीकृत समाजवादी पार्टीलाई प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बनाउन बोहराले भूमिका खेलेकी थिइन्। 

भदौ २१ अघिसम्म एमालेका १३ सांसदले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका थिए। जुन प्रदेश सभामा माओवादी केन्द्रको सिट संख्यासँग बराबर थियो। 

भदौ २१ मा एकीकृत समाजवादीमा सनाखत गर्दै बोहराले सो पार्टीलाई प्रदेश सभाको ठूलो पार्टी बनाइ दिइन्।

पार्टीलाई प्रदेश सभामा ठूलो बनाउन सघाउने उनै बोहरालाई एकीकृत समाजवादीले मन्त्री बनाएको हो।

यो सँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ११ जना मन्त्री पुगेका छन्। एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन्। 

यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन्। उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा माओवादी केन्द्रकी विनिता देवी चौधरी मन्त्री तथा मान बहादुर सुनार राज्यमन्त्री र मान बहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिममा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी, आर्थिक मामिलामा तामाङको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .