ad ad

राजनीति


सानेपामा कांग्रेसका दुई गुटको तीन घण्टे रमिता

सानेपामा कांग्रेसका दुई गुटको तीन घण्टे रमिता

केशव सावद
असोज ७, २०७८ बिहिबार २१:२४, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै साम्य हुन सकेको छैन। 

कांग्रेसले प्रदेश २ का ८ सहित विभिन्न १३ जिल्लाको क्रियाशील सदस्यता विवाद मिलाउन नसक्दा समस्या झन् झन् जटिल बन्दै गएको छ।

सदस्यता विवाद टुंगिन बाँकी १३ जिल्लामध्ये सर्लाहीका नेता–कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा झण्डै तीन घण्टा ‘रमिता’ देखाएका छन्। 
उनीहरुले एक–अर्काको विरोध गर्दै सानेपामा फरक–फरक समयमा झण्डै तीन घण्टा ‘रमिता’ देखाएका हुन्।  

क्रियाशील सदस्यता विवादको निहुँ बनाएर सर्लाहीबाट केन्द्रीय राजनीति गर्दै आएका संघीय सांसद डा. अमरेशकुमार सिंह र प्रदेश २ का युवा, खेलकुद एवम् महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले एक–अर्काप्रतिको तुष पोख्न सानेपामा समर्थकसहित धर्ना र नाराबाजी गरे।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाइतर समूहमा रहेका अमरेशकुमारले प्रदेशमन्त्री वीरेन्द्रप्रसाद सिंहमाथि पार्टीका एकजना कार्यकर्ता कुटेको आरोपमा सानेपामा आफ्ना समर्थक उतारेर धर्ना नै राखे।

अमरेशकुमारले मन्त्रीमाथि सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई सानेपामै कुटपिट गरेको आरोप लगाउँदै उनीविरुद्ध कार्यकर्तालाई नाराबाजी गराएका थिए। 

अमरेशले आफूनिकट र समर्थकहरुलाई सानेपामा धर्ना दिन लगाएर आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी दुई नेताहरुलाई पनि ऐक्यबद्धताका लागि बोलाएका थिए। 

बोलेनन् प्रकाश

जसमध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह केबल एक मिनेट उभिएर फर्किए भने केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भाषण नै गर्न भ्याए। 

अमरेशकुमारका समर्थकहरुले पूर्वमहामन्त्री सिंहलाई मन्तव्य राख्न आग्रह गरे पनि उनी सहमत देखिएनन्। 

‘मेरो मिटिङ छ। टाइम छैन,’ एक मिनेट सर्लाहीका नेता–कार्यकर्तासँगै उभिएका सिंह यति भनेर पार्टी कार्यालयबाट बाहिरिए। 

उनी सानेपा पुग्दा र बाहिरिँदा अमरेशकुमारका समर्थकहरुले प्रदेश मन्त्री वीरेन्द्रकुमारले राजीनामा दिनुपर्ने, कार्यकर्ता कुट्न नपाइने, क्रियाशील सदस्यतामा धाँधली गर्न नपाइने लगायतका नारा लगाएका थिए। 

शेखरको भाषण

पूर्वमहामन्त्री सिंह बाहिरिँदै गर्दा केन्द्रीय सदस्य डा. कोइराला सानेपा पुगेका थिए। 

सुरुमा पार्टी कार्यालयको प्रवेशद्वारबाट केही दूरीमा रहेको कुर्सीमा बसेका डा. कोइरालालाई अमरेशकुमारले मुलद्वार नजिकै लगेर भाषण नै गर्न लगाए। 

उनले पार्टी कब्जा गर्ने उद्धेश्यले संस्थापन पक्षले गुण्डागर्दी गरिरहेको आरोप लगाए। 

भिडियो

​​‘पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा नेताहरुले गुण्डागर्दी देखाइरहनु भएको छ। यस्ता कुरा कांग्रेसका लागि कदापि स्वीकार्य हुँदैनन्,’ कोइरालाले भने, ‘गुण्डागर्दी गर्ने यस्ता तत्व जिल्ला–जिल्लामा परास्त हुन्छन भन्नेमा म विश्वस्त छु।’

उनले गुण्डागर्दीलाई शान्तिपूर्ण आन्दोलनबाट पराजित गर्ने पनि बताए। ‘यसविरुद्ध शान्तिपूर्ण रुपमा संयमित भएर आन्दोलन गर्नुस्,’ कोइरालाले भने, ‘यो आन्दोलनलाई हाम्रो पूर्ण समर्थन छ।’ 

उनले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रहरी प्रशासन लगाएर पार्टी कब्जा गर्न खोजिएको पनि आरोप लगाए। 

‘डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छु,’ कोइरालाले भने, ‘७५ वर्ष लामो कांग्रेसको इतिहासमा अहिलेसम्म यस्तो भएको थिएन।’

अमरेशको आक्रोश

अमरेशकुमारका समर्थकहरुको आन्दोलन सुरु हुनुअगावै कांग्रेसको पार्टी कार्यालय परिसरमा आन्दोलनकारीभन्दा बढी सुरक्षाकर्मी पुगेका थिए। डा. कोइरालाले बोलिसकेपछि अमरेशकुमारले फेरि भाषण गरेका थिए।

‘विधि प्रक्रिया नपुर्‍याएर जुन एकतर्फी कब्जा गर्न खोजिएको छ त्यसलाई हामी कुनै हालतमा स्वीकार गर्दैनौं। नेपाली कांग्रेस बीपी कोइरालाले बनाएको पार्टी हो। निष्ठा र सिद्धान्तले बनेको पार्टी हो,’ उनले भने, ‘दारुभट्टी, दलाल र तस्करहरूले बनाएको पार्टी होइन।’

अमरेशकुमारले मन्त्री वीरेन्द्रकुमारमाथि कारबाही गर्न सभापति देउवासँग मागसमेत गरे। 

‘अस्ति विधायकले कार्यकर्तामाथि हातपात र गालीगलौज गर्‍यो। त्यो पार्टीको सिद्धान्त होइन। त्यसलाई कांग्रेसको असल कार्यकर्ताले कदापि स्वीकार्दैन,’ उनले भने, ‘सभापतिसँग माग गर्न चाहन्छु पार्टीका कार्यकर्ता कुट्ने, गालीगलौज गर्ने पार्टीको विचारधारालाई बुझ्न नसक्नेलाई कारबाही हुनुपर्छ।’     

अनि पुग्यो अर्को समूह

उनको भाषण सकिएसँगै आन्दोलनकारीहरु सानेपाबाट बाहिरिएका थिए। उनीहरु बाहिरिएको एक घण्टा नबित्दै मन्त्री वीरेन्द्रकुमारका समर्थकहरु सानेपा पुगेका थिए। 

सानेपामा उनीहरुले ‘अमरेश चोर, देश छोड’, ‘अमरेशको गुण्डागर्दी चल्दैन’, ‘सर्लाहीको क्रियाशील सूची प्रकाशन गर’ लेखिएका प्लेकार्ड बोकेका थिए। 

झण्डै एक दर्जन चारपाङ्ग्रे सवारी साधनमा आएका सर्लाहीका समर्थकहरु कार्यालयको प्रवेशद्वारमा उभिएर चर्का नाराबाजी गर्दै गर्दा मन्त्री भने सांसद अमरेशकुमारमाथि कारबाही मागसहित ज्ञापनपत्र बुझाउन व्यस्त थिए।

उनले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको कार्यकक्षमा सचिव कृष्ण दुलालमार्फत सभापति देउवालाई ज्ञापनपत्र बुझाएर अमरेशकुमारमाथि कारबाहीको माग गरेका छन्। 

‘यसै क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित माननीय तथा प्रदेश नं. २ सरकारका महिला बालबालिका युवा तथा खेलकुदमन्त्री माननयि वीरेन्द्रप्रसाद सिंहज्यू पार्टीगत कामका क्रममा मिति २०७८–०६–०५ गते दिउँसो ४ बजेतिर सानेपा पुग्दा कार्यालय परिसरमा अगाडिदेखि नै सुनियोजित ढंगले १०–१२ जनाको समूहमा रहेका यसै क्षेत्रका केही उच्छृंखल व्यक्तिहरुले माननीय अमरेशकुमार सिंहको उक्साहटमा माननीय मन्त्रीज्यूलाई गालीगलौज गरी दुव्र्यवहार गरेको निन्दनीय कार्यको भत्र्सना गर्दै यस्तो निच र निन्दनीय कार्य गर्ने र गराउनेलाई पार्टी विधानबमोजिम कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसँग जोडदार माग गर्दछौं,’ क्षेत्रीय सचिव रामआश्रम साहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ। 

ज्ञापनपत्र बुझाइसकेपछि मन्त्रीनिकट केही नेताहरुले संघीय सांसद अमरेशकुमारविरुद्ध भाषणका क्रममा ‘विषवमन’ गरेका थिए। तर, मन्त्री वीरेन्द्रकुमारले भने आफ्ना धारणा सार्वजनिक रुपमा राखेनन्। 

यद्यपि, उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै अमरेशकुमारमाथि अनेक लाल्छना लगाए। मन्त्री सिंहले अमरेशले आसन्न अधिवेशन भाँड्ने षडयन्त्र गरिरहेको पनि आरोप लगाए। 

‘जनताले हेर्ने दृष्टिकोण चेन्ज भइसकेको छ। उहाँको जनाधार समाप्त भइसकेको अवस्था छ। त्यो क्षेत्रका जनताले उहाँलाई स्वीकार्ने अवस्था छैन,’ उनले भने, ‘त्यसलाई हेर्दै उहाँले यो अधिवेशन भयो भने मेरो भण्डाफोर हुन्छ र अधिवेशनबाट पराजित हुन्छु भन्ने हारको मानसिकता बोकेर अधिवेशनलाई जसरी पनि भाँड्ने षडयन्त्र गरिराख्नुभएको छ। 

वीरेन्द्रकुमारले सर्लाहीको क्रियाशील सदस्यतामा विवाद नरहेको समेत दाबी गरे। ‘क्षेत्रमा पटक–पटक सूचना गरेर क्रियाशील वितरण भएको छ। त्यसमा कुनै प्रकारको विवाद थिएन। उहाँले पनि एक दिन विवाद गर्नु भएन,’ उनले भने।  

मन्त्रीले आफूमाथि लगाइएको कार्यकर्ता कुटेको आरोप निराधार भएकोसमेत दाबी गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .