ad ad

राजनीति


मातृकाप्रसादकी नातिनी ऋचा कोइरालाले थालिन् कांग्रेसको राजनीति

भन्छिन् : ठूलो 'एम्बिसन' छैन, राजनीतिबाट समाजसेवा गर्छु
मातृकाप्रसादकी नातिनी ऋचा कोइरालाले थालिन् कांग्रेसको राजनीति

केशव सावद
असोज ८, २०७८ शुक्रबार १३:२१, काठमाडौँ

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी ऋचा कोइरालाले पार्टी राजनीतिमा ‘डेब्यु’ गरेकी छन्। 

काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका–१० बाट उनले हजुरबुबाले स्थापना गरेको नेपाली कांग्रेसको राजनीतिमा ‘डेब्यु’ गरेकी हुन्। 

कोइराला परिवारका एकमात्रै वामपन्थी नेता कमलप्रसाद कोइरालाकी ४२ वर्षीया छोरी ऋचाले यसपाली पार्टीको क्रियाशील सदस्यता लिएकी हुन्। उनी वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएकी छन्।

हजुरबुवा मातृकाप्रसाद कोइरालाको नाममा प्रतिष्ठान खोलेर समाजसेवामा सक्रिय ऋचाले टोलवासीको जोडबलले आफूलाई कांग्रेसको क्रियाशील सदस्य बन्न प्रेरित गरेको बताएकी छन्।

‘थापागाउँमा बस्न लागेको धेरै वर्ष भयो। म सोसल्ली एक्टिभ नै हो। धेरै कामहरु गरेकी छु। तर, एकलै नहुँदो रहेछ,’ उनले नेपालखबरसँग भनिन्, ‘मसँग ‘सोसल वर्क’मा हिँड्ने साथीहरु सबै कांग्रेस हुनुहुन्थ्यो। उहाँहरुले क्रियाशील सदस्यताका लागि प्रेरित गर्नुभयो।’

ऋचाले केही पाउन नभएर राजनीतिका माध्यमबाट समाजसेवा गर्न कांग्रेसको क्रियाशील सदस्यता लिएको पनि बताइन्। 

‘यो पाउँछु, त्यो पाउँछु भनेर सुरु गरेको होइन। कुनै ‘एम्बिसन’ पनि छैन,’ उनले भनिन्, ‘साथीहरुले केही देख्नुभयो होला। क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत बनाउनुभयो।’

‘एक–२ घण्टा पछाडि के हुन्छ भन्न सकिन्न भने अब के गर्छु भन्ने कुरा अलि अप्ठ्यारो हो। धेरै कुरा च्यालेन्ज गर्नुपर्ने हुन्छ’, अब राजनीतिलाई कसरी अगाडि लैजानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘कांग्रेसको क्रियाशील सदस्य भए, कार्यकर्ता हुँ। क्षेत्रीय प्रतिनिधि बनेर भोटिङ राइट्स बढेको छ। फर्दर यहाँ जान्छ, उहाँ जान्छ भन्ने छैन।’

ऋचाले आफू कांग्रेसको क्रियाशील सदस्य बनेर क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि पिता कमलप्रसादमा खुशी छाएको पनि प्रतिक्रिया दिइन्। 

‘यो गर, त्यो गर भन्नुभएको होइन। बुवाको आशीर्वाद छ। उहाँ खुशी हुनुहुन्छ,’ कांग्रेसको राजनीतिमा लाग्दा बुवाको प्रतिक्रिया के छ भन्ने प्रश्नमा उनले भनिन्।

सिन्धुलीका अनिल अधिकारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी ऋचाले घर–परिवार पनि कांग्रेस पृष्ठभूमिकै हो। ‘परिवार नै कांग्रेसी हुन्। तर हसबेन्डले समेत मलाई कांग्रेसको सदस्यता लिनुपर्छ

भन्नुभएको होइन। टोलवासीले इन्करेज गर्नुभएको हो,’ उनले भनिन्।

बुवा पनि खुसी 

ऋचा कांग्रेसको क्रियाशील सदस्य हुँदै क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि वामपन्थी नेता कोइराला पनि खुशी छन्। उनले थापागाउँका स्थानीयबासीको सल्लाहमा ऋचाले कांग्रेसको राजनीतिमा पाइला अघि बढाएको प्रतिक्रिया दिए। 

‘मसँगको सल्लाह होइन। उसको आप्mनो निर्णय हो। टोलका मान्छेले उसलाई तपाईं हुन्छ भन्नुस्, बाँकी हामी गरिहाल्छौँ भने छन्,’ नेपालखबरसँग कोइरालाले भने, ‘उसको खुशी हो, उसको चाहना हो। छोरी राजनीतिमा लागेपछि म खुशी छु।’  

 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .