ad ad

राजनीति


नौ ठूला सहरको नतिजा : कांग्रेसमा देउवाभन्दा पौडेल समूह बलियो

नौ ठूला सहरको नतिजा : कांग्रेसमा देउवाभन्दा पौडेल समूह बलियो

केशव सावद
असोज १२, २०७८ मंगलबार १४:२१, काठमाडौँ

नेपाली कांग्रेसले देशभर ३ महानगर र ६ उपमहानगरमा नयाँ नेतृत्व चयन गरेको छ। कांग्रेसले ६ महानगरमध्ये ३ र ११ उपमहानगरमध्ये ६ मा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरेको हो। 

पालिका अधिवेशन सम्पन्न भएका ३ महानगर र ६ उपमहानगरको निर्वाचन परिणामले संस्थापन इतर समूह बलियो देखिएको छ। 

इतर समूह बलियो
अधिवेशन सम्पन्न भएका ३ महानगरमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट दुईजना विजयी भएका छन्। 

यस्तै अधिवेशन सम्पन्न भएका उपमहानगरको मत परिणामले सभापति शेरबहादुर देउवाभन्दा वरिष्ठ नेता पौडेल बलियो देखिएका छन्। ६ उपमहानगरमा पनि ४ जना पौडेलनिकट उम्मेदवार विजयी भएका छन्। 

को कहाँ विजयी?

महानगरमध्ये चितवनको भरतपुर र कास्कीको पोखरामा पौडेल समूह विजयी भएको छ भने ललितपुरको ललितपुर महानगरपालिकामा देउवानिकट उम्मेदवार सभापतिमा निर्वाचित भएका छन्। 

भरतपुर महानगरमा पौडेलनिकट चित्रसेन अधिकारीले आफ्नै समूहका अर्का उम्मेदवार भरत अधिकारीलाई १ सय ३ मतान्तरले पराजित गरेका छन्। 

विजयी चित्रसेनले ६ सय ४९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी भरतले ५ सय ४६ मत ल्याएका थिए। 

पोखरा महानगरमा विजयी पौडेलनिकट सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीलाई ६८ मतान्तरले पराजित गरेका छन्। विजयी बिजुक्छेले ४ सय १४ र पराजुलीले ३ सय ४६ मत ल्याएका थिए। 

ललितपुर महानगरमा देउवानिकट सुधानन रत्न धाख्वाले पौडेलनिकट गणेशभक्त श्रेष्ठलाई ६१ मतान्तरले पराजित गरेका छन्। धाख्वाले २ सय ८१ मत र श्रेष्ठले २ सय २१ मत पाएका छन्। 

अधिवेशन सम्पन्न भएका प्रदेश १ का दुबै उपमहानगरमा वरिष्ठ नेता पौडेलनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्। इटहरी उपमहानगरमा हेमकर्ण पौडेल र धरान उपमहानगरमा श्याम पोखरेल निर्वाचित भएका हुन्। 

इटहरीमा पौडेलले देउवानिकट विकास केसीलाई ४२ मत र धरानमा पौडेलनकिट पोखरेलले देउवानिकट किशोर राईलाई ३९ मतले पराजित गरेका छन्। 

बागमती प्रदेशको हेटौडा उपमहानगरमा भने देउवानिकट उम्मेदवार सभापतिमा निर्वाचित भएका छन्। 

उत्सव इटेनी पौडेलनिकट महेन्द्र राउतलाई १ सय ३२ मतको फराकिलो अन्तरले पराजित गर्दै महानगर सभापतिमा निर्वाचित भएका छन्। 


यस्तै देउवानिकट उम्मेदवार तिलक रावत लुम्बिनीको दाङस्थित घोराही उपमहानगर सभापतिमा विजयी भएका छन्। उनले पौडेलनिकट उम्मेदवार निरज गिरीलाई १ सय २४ मतले हराएका छन्। 

दाङकै तुल्सीपुर उपमहानगरपालिकामा पौडेलनिकट सुरेश हमाल विजयी भएका छन्। उनले अनिल कार्कीलाई १ सय ६० मतान्तरले पराजित गरेका छन्। विजयी हमालले ३ सय ६८ र कार्कीले २ सय ८ मत प्राप्त गरेका थिए। 

तुल्सीपुरमा सभापतिमा निर्वाचित हमाल महामन्त्री डा. शशांक कोइरालानिकट केन्द्रीय सदस्य दीपक गिरी नजिक मानिन्छन्। 

यद्यपि, पालिका अधिवेशनमा उनलाई सभापति देउवानिकट प्रदेश मन्त्री डिल्ली बहादुर चौधरीले पनि सघाएको स्रोतको दाबी छ। 

‘हमालजीलाई यता–उता भन्न मिल्दैन। उहाँ दिपकजी नजिक भए पनि डिल्लीजीहरुले पनि सघाउनु भएकै हो,’ दाङ कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘उहाँ मध्यमार्गी धारको नेता हो। सबैसँग उत्तिकै सम्बन्ध छ।’

लुम्बिनीकै बुटवल उपमहानगरमा वरिष्ठ नेता पौडेलनिकट खेलराज पाण्डे सभापतिमा विजयी भएका छन्। उनले सभापति देउवानिकट उम्मेदवार रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। 

बुटवल अधिवेशनको मतपरिणाम अनुसार पाण्डेले ४ सय १२ मत ल्याउँदा केसीले १ सय २४ मतमा चित्त बुझाउनु परेका छ।   

देशभरका महानगरमध्ये काठमाडौं, विराटनगर र वीरगञ्जमा कांग्रेसको पालिका अधिवेशन हुन बाँकी छ। 

काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन हुँदैछ भने विराटनगरको पालिका अधिवेशनको मिति तय भएको छैन। यस्तै वीरगञ्जमा वडा अधिवेशन नै सुरु हुन सकेको छैन। 

त्यस्तै कांग्रेसले धनुषाको जनकपुर, बाराको कलैया र जीतपुर–सिमरा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढी उपमहानगरपालिकामा पनि वडा अधिवेशन सुरु गर्न सकेको छैन। 

बाँके र कैलालीको क्रियाशील सदस्यता विवाद ढिलो गरी टुंगिएका कारण वडा अधिवेशन हुन नसकेको हो । यस्तै धनुषा र बारा क्रियाशील सदस्यता विवाद समाधान हुन बाँकी १३ जिल्ला अन्तर्गत पर्दछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .