ad ad

राजनीति


एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट च्यासल सारिँदै

एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट च्यासल सारिँदै

सागर न्यौपाने
असोज १४, २०७८ बिहिबार १५:१४, काठमाडौँ

थापाथली हाइटस्थित नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा सारिने भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टी कार्यालय सार्न लागिएको एकजना स्थायी कमिटी सदस्यले नेपालखबरलाई बताए।

अहिले रहेको थापाथली हाइटस्थित भाडाको कार्यालय साँघुरो र आउन जानसमेत जामको समस्या भएपछि च्यासलमा सार्न लागिएको हो।

‘यहाँबाट कार्यालय सारेर तुल्सीलाल स्मृति प्रतिष्ठानमा लगिँदैछ,’ ती नेताले भने, ‘विधान महाधिवेशन सकिएर सायद दशैँपछि सर्छ होला।’

च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन्।

प्रतिष्ठानमा अहिले गोपाल शाक्य अध्यक्ष छन्। तुल्सीलालमा एमालेका प्राय सबै नेताहरुको गाडी अट्ने ठाउँ छ। तीनवटा भवन रहेकोले कार्यालयका सबै विभाग राख्न समेत सजिलो छ। 
एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृतिमा कार्यालय राख्नेगरी सहमति लिइसकेका छन्। 

‘स्थायी कमिटी बैठकमै पार्टी कार्यालय सार्ने कुरा भइसकेको छ, अन्य प्राविधिक विषय पनि मिलाइसकिएको जानकारी आएको छ,’ ती नेताले थपे।

१३ रोपनी जग्गामा फैलिएको तुल्सीलालको १० रोपनीमा भवनसहित पार्किङ छ। च्यासल फुटबल ग्राउण्डसँगै तीन रोपनी जग्गा खाली छ। 

एमालेले त्यही खाली रहेको जग्गामा बाँकी पार्किङ बनाउन खोजेको हो। अहिले एमालेका केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक तुल्सीलाल प्रतिष्ठानकै भवनमा भइरहेका छन्।

च्यासल फुटबल ग्राउण्डसँगै रहेको उक्त प्रतिष्ठान क्षेत्रमा नेताहरुको सवारी साधन अट्ने, भित्री बाटो भएकाले भीड र जाम नहुने भएपछि पार्टी कार्यालय सार्ने निर्णय भएको हो। 

धुम्बाराहीमा रहेको भाडाको पार्टी कार्यालय भवन मर्मत गर्नु परेकाले गत वैशाख १ गते थापाथली सरेको थियो। अध्यक्ष केपी ओलीले उक्त भाडाको कार्यालय वैशाख ९ गते उद्घाटन गरेका थिए।

तीन रोपनी क्षेत्रफलमा फैलिएको थापाथलीको कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतको कार्यकक्ष सहित १२ कोठा भएपनि साँघुरो भएपछि ललितपुर सार्न लागिएको हो।  

एमालेका अर्का नेताले बताए अनुसार बल्खुको कार्यालय नबनेसम्म तुल्सीलालमै कार्यालय रहनेछ। दशैँलगत्तै औपचारिक रुपमा कार्यालय सर्ने उनले बताए।

०७२ सालको भूकम्पले मदननगर बल्खुस्थित पार्टी कार्यालयमा क्षति पु¥याएर बस्न नमिल्ने भएपछि चक्रपथमा रहेको पासाङ ल्हामु प्रतिष्ठानमा कार्यालय सारिएको थियो।

तर, २०७७ फागुन २३ मा सर्वाेच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादी ब्यूँताएपछि एमालेले धुम्बाराहीको कार्यालयमा मर्मतको काम र चक्रपथ विस्तार भएपछि त्यहाँबाट पनि कार्यालय सारेर थापाले ल्याएको थियो।

थापाथलीमा कार्यालय सरेको ५ महिनामै ललितपुर सर्दैछ। थापाथलीमा व्यापारीको भवन प्रयोग गरेको भन्दै एमालेको आलोचना भइरहेको छ।

एमालेले पार्टी कार्यालय राख्नेगरी भाडामा लिइसकेको तुल्सीलाल प्रतिष्ठानका एक कर्मचारीले बताए।

‘हाम्रो यो प्रतिष्ठानको भवन एमालेले भाडामा लिइसकेको छ अब छिट्टै सर्छ,’ ती कर्मचारीले भने। भाडाबारे उनले खुलाउन चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .