राजनीति


माओवादी केन्द्रबाट पम्फा भुसालले सरकारमा नेतृत्व गर्ने

माओवादी केन्द्रबाट पम्फा भुसालले सरकारमा नेतृत्व गर्ने

नेपालखबर
असोज २०, २०७८ बुधबार १९:३०, काठमाडौँ

नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नेतृत्व ऊर्जामन्त्री पम्फा भुसालले गर्ने भएकी छन्। 

माओवादीबाट मन्त्री बनिसकेका र बन्न लागेकाहरुमध्ये सबैभन्दा सिनियर भएका आधारमा भुसालले सरकारमा नेतृत्व गर्ने पक्का भएको हो। 

उनी असार २९ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिन ऊर्जा मन्त्री बनिसकेकी  छन्।

भुसाल २०३६/३७ सालदेखि नै राजनीतिमा सक्रिय थिइन्। उनले चौथो महाधिवेशनबाट राजनीति सुरु गरेकी हुन्।

जनयुद्ध सुरू हँदादेखि नै लडाइँमा लागेकी उनी शान्ति प्रक्रियामा आउनुअघि नै माओवादी पोलिटब्युरो सदस्य भइसकेकी थिइन्। 

उनी २०६३ सालमा कृष्णबहादुर महराले माओवादीबाट नेतृत्व गरेको अन्तरिम सरकारमा पनि मन्त्री भएकी थिइन्। 

आफ्नो कोटामा परेका ४ मन्त्रालय टुंगो लगाउँदा देवेन्द्र पौडेल, महेश्वरजंग गहतराज र शशी श्रेष्ठलाई मन्त्री बनाउने भएपछि वरिष्ठताका आधारमा भुसालले सरकारको नेतृत्व गर्ने स्थायी समिति सदस्य शक्ति बस्नेतले नेपालखबरलाई बताए।

‘अब देउवा सरकारमा हाम्रो पार्टीबाट नेतृत्व पम्फा भुसालले गर्नुहुनेछ,’ बस्नेतले भने। 

यसअघि हरिबोल गजुरेलको नाम मन्त्री बन्ने चर्चामा थियो । माओवादीको हेटौँडामा भएको महाधिवेशन र विराटनगरमा २०७१ मा भएको राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष भएका गजुरेल मन्त्री बने उनैले सरकारमा नेतृत्व गर्ने थिए।

तर, मन्त्रालयको संख्या कम र पार्टी काममा सक्रिय हुनुपर्ने भएपछि गजुरेललाई सरकारमा पठाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेनन्।

माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये भुसाल, जनार्दन शर्मा र पौडेल मात्रै स्थायी समिति सदस्य हुन्। गहतराज, श्रेष्ठ र बोधमाया यादव केन्द्रीय सदस्य मात्रै हुन्। 

माओवादीले देउवा सरकारमा अर्थ, ऊर्जा, शिक्षा, खानेपानी र भूमि व्यवस्था तथा सहकारीसहित ५ मन्त्रालय पाएको छ। 

बोधमाया यादवले जिम्मेवारी पाउने मन्त्रालयको भने टुंगो लागिसकेको छैन। गठबन्धनमा शक्तिशाली (पावर), विकासे (डेभलपमेन्ट) र (सेवा) सर्भिस गरी तीन क्षेत्र बाँडेर मन्त्रालय भागवण्डा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .