राजनीति


भारततर्फ कांग्रेसको टोली : दिल्लीमा राजनीतिक वार्तापछि काशीको तीर्थयात्रा

भारततर्फ कांग्रेसको टोली : दिल्लीमा राजनीतिक वार्तापछि काशीको तीर्थयात्रा

दिल्ली यात्रामा निस्केको कांग्रेस टोली। तस्बिर : रासस


नेपालखबर
असोज २१, २०७८ बिहिबार १४:४५, काठमाडौँ

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसको प्रतिनिधि मण्डल नयाँ दिल्ली गएको छ। 

सत्तारुढ कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल बिहीबार नयाँ दिल्ली गएको हो। 

चार दिने भारत भ्रमणमा गएको डा. महत नेतृत्वको प्रतिनिधि मण्डलमा पूर्व राज्यमन्त्रीहरु उदयशमशेर राणा र अजय चतुर्वेदी सहभागी छन्। 

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेको निमन्त्रणामा आफूहरु नयाँ दिल्ली जान लागेको राणाले जानकारी दिए। 

उनले नयाँ दिल्ली उड्नु अघि नेपालखबरसँगको कुराकानीमा दुई दलबीचको सम्बन्ध सुधार नै भ्रमणको मुख्य लक्ष्य रहेको बताए। 

‘हाम्रो पार्टीले बीजेपीलाई भदौमा नेपाल भ्रमणमा बोलाएको थियो। अहिले बीजेपीले ‘कल ब्याक’ गरेको हो,’ नेता राणाले भने, ‘हाम्रो भ्रमण विशुद्ध पार्टी–पार्टीबीच ‘गुड वील एक्सचेन्ज’का लागि हो।’

यस्तो छ तालिका

उनका अनुसार नेपाली प्रतिनिधिमण्डल दुई दिन नयाँ दिल्ली र एक दिन बनारस बस्ने छ। प्रतिनिधिमण्डलले बिहीबार बेलुकी ६ बजे भाजपाका अध्यक्ष जगतप्रकाश नाड्डासँग भेट गर्ने कार्यतालिका रहेको राणाले बताए।

उनका अनुसार शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटपश्चात भाजपाका महामन्त्री अरुण सिंहसँग अन्तरक्रिया गर्ने भएको छ। 

‘भोलि (शुक्रबार) भारतका परराष्ट्रमन्त्रीसँग भेट हुन्छ। भोलि नै बिहान ११ बजेबाट ३ बजेसम्म बीजेपीका महामन्त्रीसँग ओपन डिस्कस छ,’ राणाले भने, ‘इन्टरनल पार्टी को–अपरेसनबारे कुरा हुन्छ।’

नेपाली प्रतिनिधिमण्डलले शनिबार उत्तर प्रदेशको राजधानी लखनउमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने पनि कार्यतालिका छ। 

आदित्यनाथसँगको भेटपछि डा. महत नेतृत्वको प्रतिनिधि मण्डल बनारस जाने बताइएको छ। 

‘योगीजीसँगको भेटपछि हामी बनारस जान्छौं। बनारसमा काशीको दर्शन गर्छौं,’ नेता राणाले भने, ‘त्यहाँ बनारस हिन्दू विश्वविद्यालयको एनएसजी नेपाल स्टडी ग्रुपले गर्ने कार्यक्रममा सहभागी हुन्छौं।’

यसअघि गत भदौमा सहमहामन्त्री डा. महतको निमन्त्रणमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए। 

त्यस क्रममा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले रक्षाबन्धन बाँधिदिएकी थिइन्। 

काठमाडौंमा रहँदा चौथाइवालेले सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विपक्षी नेकपा एमाले र अन्य दलका नेताहरूसँग भेटवार्ता गरेका थिए। 

चौथाइवालेको नेपाल भ्रमण कांग्रेस नेतृत्वको सरकारसँग सम्बन्ध सुधार गर्ने दिल्लीको प्रयास मानिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .