ad ad

राजनीति


मन्त्रीका धेरै आकांक्षीले रामचन्द्र पौडेललाई आफ्नै समूह मिलाउन सकस

मन्त्रीका धेरै आकांक्षीले रामचन्द्र पौडेललाई आफ्नै समूह मिलाउन सकस

केशव सावद
असोज २१, २०७८ बिहिबार १८:५१, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो समूह मिलाउन हम्मे परेको छ।

मन्त्रीका आकांक्षी धेरै हुँदा उनलाई समूह मिलाउन गाह्रो भएको हो। 

मन्त्रीमा पठाउने नाम टुंगो लगाउन बुधबार आफ्नै निवास बोहराटारमा पौडेलले समूहको बैठक बोलाएका थिए। 

तर, नेताहरुले पहिले समूहले पाउने मन्त्रालयको संख्या एकिन गर्न दबाब दिएपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो। 

छलफलमा नेता पौडेलले मन्त्रिपरिषद्का लागि सांसद तेजुलाल चौधरीको नाम प्रस्ताव गरेका थिए। 

यस्तै महामन्त्री डा. शशांक कोइरालाले डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए। 

आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका अर्का नेता प्रकाशमान सिंहले भने काठमाडौंका सांसद राजन केसीलाई मन्त्री बनाउनुपर्ने अडान राखेका थिए। 

छलफलका क्रममा नेताहरुले आफूनिकट सांसदलाई मन्त्रीमा सिफारिस गर्नुपर्ने अडान लिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो। 

बोहोराटारको छलफल बिनानिष्कर्ष टुंगिएपछि बुधबार अपराह्न मन्त्री भागबण्डासहित पार्टी क्रियाशील सदस्यताबारे छलफल गर्न पौडेल समूहका नेता बालुवाटार पुगेका थिए। 

त्यस क्रममा उनीहरूले आफ्ना तर्फबाट तीन मन्त्री पाउनुपर्ने दाबी गरेका थिए।

तर, प्रधानमन्त्री देउवाले दुई जनाभन्दा बढीलाई मन्त्री बनाउन नसकिने जवाफ दिएपछि पौडेल समूहका नेता नामै नदिएर बैठकबाट बाहिरिएका थिए। 

मन्त्रीका लागि सिफारिस गर्ने नामबारे पौडेल समूहले बिहीबार कुनै छलफल नगरेको स्रोतले जनाएको छ।  

पार्टीमा भाग परेकामध्ये दुई मन्त्रालय वरिष्ठ नेता पौडेल समूहलाई दिने मनस्थिति प्रधानमन्त्री देउवाले बनाएपछि कांग्रेसमा मन्त्री बन्ने संख्या र नाममा विवाद देखिएको छ। 

सत्ता गठबन्धनका चार दलबीच भएको सहमतिअनुसार कांग्रेसको भागमा आठ मन्त्री र एक राज्यमन्त्री परेका छन्। जसमध्ये तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन्।

कांग्रेसबाट सरकारमा सहभागी बालकृष्ण खाँण (गृहमन्त्री), ज्ञानेन्द्रबहादुर कार्की (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री), नारायण खड्का (परराष्ट्रमन्त्री) र उमेश श्रेष्ठ (स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री) सबै देउवानिकट हुन्।

अब कांग्रेसको भागमा चार मन्त्री बाँकी छन्। यीमध्ये पौडेलको समूहले तीन मन्त्री मागेपछि कुरा नमिलेको हो।

प्रधानमन्त्री देउवा पौडेल समूहलाई दुइटा मात्रै र एउटा मन्त्री पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई दिने पक्षमा रहेको एक जना कांग्रेस नेताले बताए। 

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने तय भइसकेको नेताहरूको दाबी छ। बाँकी एक मन्त्रालय भने आफ्नै पक्षमा राख्ने देउवाको दाउ छ।

एक कांग्रेस नेताका अनुसार आफ्नो समूहबाट देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने योजना बनाएका छन्।  

दुई मन्त्रालय पाए मिनेन्द्र र तेजुलाल

पौडेल समूहले मागेअनुसार मन्त्री नपाए डा. रिजाल र चौधरीको नाम सिफारिस हुन सक्ने प्रवल सम्भावना रहेको बोहराटारनिकट स्रोतले जनाएको छ। 

‘तीन मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो माग हो। मागेको पाइएन भने डा. मिनेन्द्र र तेजुलालजीको नाम सिफरिस हुने सम्भावना अधिक छ,’ स्रोतले भन्यो।

महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमहामन्त्री सिंहलाई चिढ्याउँदा घाटा हुने अनुमान गरेर नेता पौडेलले प्रधानमन्त्री देउवामाथि तीन मन्त्रालयका लागि दबाब सिर्जना गरेको स्रोतको भनाइ छ। 

नेता सिंहले सांसद केसीलाई मन्त्री बनाउन चाहेका छन्। बोहोराटार बैठकमा सहभागी हुनुपूर्व उनले बुधबार चाक्सीबारीमा युवा नेता गगन थापा, संविधानसभा सदस्य दीपक कुइँकेल, जिल्ला सभापति कृष्ण सबुज बानियाँसँगै केसीलाई बोलाएर छलफल गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .