ad ad

राजनीति


देउवाको पोखरा भ्रमण : दमौली गएनन्, डडेल्धुराको बदला लिए

देउवाको पोखरा भ्रमण : दमौली गएनन्, डडेल्धुराको बदला लिए

वाशुदेव मिश्र
असोज २९, २०७८ शुक्रबार ७:३, काठमाडौँ

गएको असोज १६ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा भएको सदस्यता विवादपछि अनसनमा बसेका कार्यकर्ताको पक्षमा ऐक्यवद्दता जाहेर गरे। विज्ञप्तिमार्फत् पौडेलले ‘पार्टीमा ‘अधिनायकवाद’ जन्माउनका लागि प्रजातन्त्रको लडाइँ नलडेको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई अहंकारीको उपमा दिए।

लगत्तै पौडेल समूहकमा डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायतका नेताहरु डडेल्धुरा नै पुगे। त्यहाँ देउवा समर्थित कार्यकर्ताले विरोध गर्दा झडपको स्थिति आयो। नेताहरुले कार्यकर्तामाथि भएको अन्यायविरुद्ध केन्द्रमै लड्ने भन्दै अनसन तोडाए।

कांग्रेसको आसन्न १४औं महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका सभापति देउवालाई कमजोर बनाउने रणनीति अनुरुप नै रामचन्द्र पक्षीय नेताहरु डडेल्धुरा पुगेका थिए।

संयोग कस्तो भने, त्यही बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा मन्त्रिपरिषद् बिस्तार गर्दै थिए। उनले मन्त्रिपरिषद् बिस्तारमा रामचन्द्र पक्षलाई पनि ‘भाग’ त दिए तर रामचन्द्रसँगभन्दा महामन्त्री शशांक कोइरालासँग चोचोमोचो मिलाइदिए।

कम बोल्ने तर आफ्नो काम गरिछाड्ने स्वभावका देउवा लगत्तै असोज २४ गते रामचन्द्र पौडेलको गृहप्रदेश गण्डकी आइपुगे। संघीय मन्त्रिपरिषद् बिस्तारपछि ‘फुर्सदिला’ बनेका देउवाले प्रधानमन्त्रीको रुपमा गण्डकी प्रदेशलाई साक्षर घोषणा गरे।

सोही दिन पोखरा–१७, बिरौटामा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी भए। दुवै कार्यक्रममा उनले झर्को नमानी लामो भाषण सुने तर स्वभावतः आफूले छोटो बोले।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटामा मन्त्री बनाइको भन्दै गरिएको चर्को आलोचना गजेन्द्र हमालको राजीनामापछि पनि मत्थर भएकै थिएन। उनले दुवै कार्यक्रममा सो प्रसंगको जवाफ दिन जरुरी ठानेनन्। लाक्षणिक भाषामा ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तथा कांग्रेस प्रजातन्त्रको लागि लडेको पार्टी’ भएको बताए।

बिरौटामा भएको कार्यकर्ता भेलामा कास्की कांग्रेसका सभापति कृष्ण केसीले ‘१७ महिना सरकार चलाएको कारणले आउँदो चुनावमा कांग्रेसले हार्न नहुने’ भन्दै सभापति देउवालाई खबरदारी गरे। त्यहाँ पनि देउवाले धेरै बोलेनन्। उनले यत्तिमात्र भने, ‘तपाईंं पनि सभापति, आफूले के गरेँ भन्ने हेर्नुपर्छ। अरुलाई भन्न सजिलो हुन्छ।’ 

नेपाल राष्ट्र बैंकको अतिथिगृहमा बसेर उनले कार्यकर्ताहरुसँग भेटघाट गरे। केहीसँग व्यक्तिगत र केहीसँग सामूहिक। आसन्न १४औं महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दिने सोच बनाएका देउवाले कार्यकर्तासँग चुनावको कुरा खासै गरेनन्। कास्की कांग्रेसका सभापति कृष्ण केसीका अनुसार उनले जिल्ला, क्षेत्र र प्रदेशको चुनावी कार्यक्रम तलमाथि भएपनि आउँदो मंसिरमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाए। 

आफूविरुद्ध रामचन्द्र समूहले गरेको मोर्चाबन्दीबारे जानकार देउवाले पोखरा आएर रामचन्द्रको विरोध गरेनन्। न त डलेल्धुरा गएर कार्यकर्ता उचालेको घटनाकै निन्दा गरे। रामचन्द्रलाई नै चुनाव हराएका किसान श्रेष्ठलाई मन्त्री बनाएर पोखरा आएका उनले यहाँ आएपछि यसअघि गण्डकी मन्त्रिपरिषदबाट एकाएक नाम हटाइएका तनहुँकै डोबाटे विश्वकर्मालाई आशीर्वाद दिए।

उनले आशीर्वाद दिनु के थियो, डोबाटे गण्डकी मन्त्रिपरिषद्का विना विभागीय मन्त्री बने। डोबाटे रामचन्द्र पक्षीय नेता हुन्। कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टी सभापति देउवा पोखरा आउनुअघि नै डोबाटे मन्त्री बन्ने पक्का भएको बताए पनि कार्यकर्ताले त्यो कुरा पत्याएनन्। बरु, डोबाटेले आउँदो चुनावमा देउवालाई साथ दिने आंकलन गरे। 

‘पार्टी सभापति देउवाको ग्रिन सिग्नलबिना डोबाटे दाइ मन्त्री बन्ने सम्भावना नै थिएन, केन्द्रमै सहमति भएको हो भने पनि डोबाटे मन्त्री बन्नु संयोगमात्रै हैन’, एक कांग्रेस नेताले भने, ‘उता रामचन्द्रलाई हराएका किसान मन्त्री बन्नु र यता डोबाटेलाई मन्त्री बनाएर सभापति देउवाले दमौली नै हान्नुभएको हो, डडेल्धुराको बदला लिनुभएको हो।’

कास्कीका देउवा निकट एक नेताका अनुसार तुलनात्मक रुपले आफू कमजोर रहेको क्षेत्र गण्डकीमा देउवा शक्ति बिस्तारको ध्याउन्नमा छन्। देउवालाई यो क्षेत्रमा रामचन्द्रसँगै शशांकको प्रभाव रहेको राम्रैसँग थाहा छ।

त्यसैले उनी यी दुई नेताहरुबीचको अन्तरद्वन्द्वमा खेलिरहेका छन् र ‘अवसरको उपहार’ फालेर बीचमा रहेका नेताहरुलाई आफू नजिक ल्याउँदै छन्। उनका अनुसार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले समेत देउवासँगको भेटमा शशांकलाई मिलाए आफूले आँखा चिम्लेर साथ दिने प्रतिवद्धता जनाएका थिए। मुख्यमन्त्री पोखरेल शशांक निकट नेता हुन्। 

तर, कास्की कांग्रेसका सभापति कृष्ण केसी यो भनाइसँग सहमत छैनन्। आफूले सभापतिसँग भेट्दा देउवा र रामचन्द्रमध्ये एकजना सभापति हुनुपर्ने धारणा राखेको बताउँदै भने, ‘मुख्यमन्त्रीज्यूले पनि भेटको क्रममा कुटनीतिक जवाफ दिनु स्वभाविक हो, पार्टीभित्र दुई गुट भएको सबैलाई थाहा छ, सभापति देउवा यो पटक चुनावी अभियान लिएर आउनु भएकै हैन।’ 

उनले त्यसो भनेपनि चतुर देउवाले पोखरा बसाइको क्रममा आफ्नो शक्तिको आंकलन गरेका छन्।

‘अब उहाँले चाल्ने कदमबाट त्यो प्रष्ट हुने नै छ, भोलिका दिनमा यहाँ रामचन्द्रको पक्षमा देखिएका नेताहरु देउवातिर लागे आश्चर्य मान्नुपर्दैन।’

त्यसो त, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल आफै कमजोर छन्। अर्का नेता गोविन्दराज जोशी अहिले कांग्रेसको साधारण सदस्य पनि छैनन् तर उनको प्रभाव तनहुँमा यति छ कि, रामचन्द्र हलचल गर्न नसक्ने अवस्थामा छन्। तनहुँमा मात्र नभएर देशभर नै जोशीप्रति सद्भाव राख्ने नेताहरु ठूलै संख्यामा छन्।

अघिल्लो महाधिवेशनमा जोशीले देउवालाई नै सघाएका थिए तर पछि देउवा पत्नीलाई कैलालीबाट हराउन भूमिका खेलेका भनिएका पुष्करनाथ ओझालाई कारबाही गर्ने मामिलामा रामचन्द्र र देउवाबीच लेनदेन मिल्यो। गोविन्दराज कारबाहीमा परे। त्यही बुझेर नै आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले गोविन्दराज जोशी र कैलालीका नेता पुष्करनाथ ओझासहितका नेताहरुमाथिको कारबाही फिर्ता गर्न माग गरेका हुन्।

भदौको अन्तिम साता निधिले पार्टी सभापतिलाई पत्र लेखेर कारबाही फिर्ताको माग गरिए पनि त्यसको सुनवाइ भएको छैन। बरु, सभापतिको उम्मेदवार बन्ने आकांक्षा पालेका रामचन्द्र तनहुँमै कमजोर छन्। आउँदो चुनावमा पनि उनले जित्ने ग्यारेण्टी छैन। स्रोतका अनुसार रामचन्द्र आउँदो चुनावमा तनहुँबाटभन्दा सुशील कोइरालाको पुरानो निर्वाचन क्षेत्र चितवनतिर आँखा लगाएर बसेका छन्।  

पाठो काट्दा पनि चुनावकै रन्को 
नेपाली कांग्रेसको जिल्ला, क्षेत्र र प्रदेश अधिवेशन अनिश्चित छ। तर, दसैं र तिहारको बीचमा महाधिवेशनअन्तर्गतको चुनाव हुने आंकलन गरिएको छ। त्यसैले यो दसैंमा भएका भेटघाटहरु चुनाव लक्षित नै रहेका छन्।

नेताहरु गाउँ पसेका छन्। विभिन्न भातृसंगठन आवद्ध तथा शुभेच्छुकहरुको यो पटकको दसैं यात्रा चुनावमै केन्द्रित छ। चौतारामा हुने भेटघाटदेखि आयोजना भएका साना शुभकामना कार्यक्रममा पनि भोट माग्ने उपक्रम चलेको कांग्रेसका नेताहरुले बताएका छन्।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार यो पटक कांग्रेसकै कारण दसैंको भेटघाटको माहौल नै रसिलो बनेको छ। 

‘कांग्रेस भनेको समाज हो, अन्य पार्टीका शुभेच्छुकहरुले पनि चुनावलाई चासो दिएकै छन’, उनले भने, ‘गाउँमा पाठो काट्नेदेखि अरु जमघटमा पनि चुनावकै चर्चा छ, अब टीकामा पनि त्यही त हुने होला नि!’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .