म्यानमारका सेना प्रमुखले दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (आसियान)को बैठकमा सहभागी हुन नपाउने भएका छन्।
म्यानमारका सैनिक जनरल मिन ओङ ह्लाइङकोलाई यसै महिनाको अन्त्यमा हुने आसियानको शिखर सम्मेलनमा सहभागी नगराउने निर्णय भएको हो।
जनरल मिन ओङ ह्लाइङले गएको फेब्रुअरीमा सैन्यवलको आधारमा सत्ता हत्याएका थिए। शिखर सम्मेलनमा सैनिक प्रमुखको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमती भएको बीबीसीले जनाएको छ।
गएको अगष्टमा सेना प्रमुख ह्लाइङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए।
आसियानमा आबद्ध देशका विदेशमन्त्रीको आपत्कालीन बैठकमा म्यानमारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न नदिने निर्णय भएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका अन्य देशका सरकार प्रमुख समेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक जनरललाई सहभागी नगराइनु अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैनिक सरकारका लागि ठूलो धक्काको रुपमा हेरिएको छ।
म्यानमारमा सेनाले सत्ता हत्याएपछि भएको दमनको क्रममा १ हजार भन्दा बढी नागरिकको हत्या भएको छ भने नेतृ आङसाङ सुकीसहित ६ हजार भन्दा बढीलाई थुनामा राखिएको छ।
Shares
प्रतिक्रिया