मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने दिन आइतबारको प्रदेशसभा बैठक रोक्न नेपाली कांग्रेसले माग गरेको छ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ भ्रमणमा आएकोले प्रदेशसभा स्थगित गर्न कांग्रेसले संसद सचिवालयमा निवेदन हालेको छ।
देउवालाई प्रमुख कारण देखाए पनि अन्तर्यमा भने आफ्ना केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्न निवेदन दिएको कांग्रेसकै एक सांसदले बताए।
'कांग्रेसबाट भीम दाइलाई मत दिने भन्ने चर्चा छ,' ती सांसदले भने, 'यही बेला प्रधानमन्त्रीको समेत भ्रमण छ, पार्टीमा थप छलफल गर्नु पर्ने स्थिति देखिएको छ।'
मुख्यमन्त्री आचार्यले आइतवार विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्ने कार्यसूची छ।
९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्।
उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन्।
राप्रपा र अन्य साना दलसहित कांग्रेसका केही सांसदको समेत समर्थन लिएर आचार्यले सत्ता टिकाउन प्रयास गरेको सूचना विपक्षी गठबन्धनले पाएको छ।
विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन्। कांग्रेसका राजीव कोइरालाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।
Shares
प्रतिक्रिया