राजनीति


बीआरआईमा कुनै मुलुक ऋण–चंगुलमा परेका छैनन्ः राजदूत हाउ

बीआरआईमा कुनै मुलुक ऋण–चंगुलमा परेका छैनन्ः राजदूत हाउ

नेपालखबर
असार ५, २०७६ बिहिबार १६:२०,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपाल सहभागी भइसकेको बताएका छन्।

नेपाल—चीन फ्रेन्डशीप एसोसियसनले आयोजना गरेको ‘एसियाको समृद्दि र विकासका लागि बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनको बिहिबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले बीआरआई मार्फत नेपालले चीन तथा बिभिन्न देशहरूसँग कनेक्टिभीटी बढाउन चाहेको बताएका हुन्।

‘बीआरआईमा सहभागी भएका मुलुकले पारस्पारिक आर्थिक विकासका लागि मिलेर काम गर्न सक्ने पर्याप्त अवसर छ’, मन्त्री ज्ञवालीले भने, ‘नेपाल बीआरआईमा सहभागी भैसकेको छ। हामी चीनसँग रेल तथा सडक पूर्वाधार विकासका लागि बीआरआई फ्रेमवर्कमा काम गर्न गइरहेका छौं।’

दक्षिण एशिया क्षेत्रमा आर्थिक विकासको पर्याप्त अवसर रहेको बताउंदै मन्त्री ज्ञवालीले यस क्षेत्रमा रेल र सडकका माध्यमबाट कनेक्टिभीटी बढाउन बीआरआई महत्वपूर्ण हुने बताए।

ट्रान्स हिमालयन कनेक्टिभीटि नेटवर्क र नेपाल चीन सीमापार रेल बीआरआईको दोश्रो शीखर सम्मेलनको संयुक्त वक्तव्यमा परिसकेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले दक्षिण एसियाली मुलुकहरुले यसबाट लाभ लिने बताए।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले दक्षिण एसिया क्षेत्रले बीआरआई अवधारणामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन।

‘चीन—पाकिस्तान आर्थिक करिडोर र श्रीलंकाको हम्बनटोटा बन्दरगाह बीआरआई फ्रेमवर्क भित्र निर्माणाधीन परियोजना हुन्’ राजदूत हाउले भनिन्, ‘चीनले बीआरआई अघि बढाएपछि कुनै पनि मुलुक ऋणको जालोमा परेका छैनन्।’

बंगलादेशका सांसद तथा जातीय समाजतान्त्रिक दलका अध्यक्ष हसनुल हक इनुले बंगलादेशले बीआरआई, सार्क, बिमस्टेक जस्ता बहुपक्षीय र क्षेत्रीय फोरममा भाग लिँदै आफ्नो विदेश नीतिलाई सन्तुलित रुपमा अघि बढाइरहेको बताए।

चीन र भारतजस्ता निकट छिमेकीको विकासबाट लाभ लिन बंगलादेशले उनीहरुसँग आर्थिक विकासमा हातेमालो गरिरहेको उनले बताए।

सो अवसरमा अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले नेपालले रेल तथा सडक पूर्वाधारका लागि बीआरआई फ्रेमवर्कमा चीनसँग सहकार्य गर्नु ठूलो कुरा रहेको बताए। उनले रणनीतिक र आर्थिक दुवै हिसाबाले बीआरआई नेपालका लागि महत्वपूर्ण हुने उल्लेख गरे।

शर्माले नेपालले आफ्नो उत्पादन बढाएर निर्यात बढाउने विषयमा पनि सोच्नुपर्ने बताए।

आयोजक संस्था नेपाल चीन फ्रेन्डसिप एसोसियसनका अध्यक्ष कल्याण राज शर्माले बीआरआईमा सहभागी भई नेपालले दिर्घकालीन लाभ लिनसक्ने बताए। चीनबाट प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउनु नेपालका लागि महत्वपूर्ण हुने उनको भनाई थियो।
शुक्रबारसम्म चल्ने दुई दिने सम्मेलनमा चीन, भारत, पाकिस्तान, बंगलादेश, नेपाल, लाओस, मलेसिया र फिलिपिन्सका परराष्ट्र तथा अर्थ मामिलाका विज्ञहरू सहभागी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad