राजनीति


वडाअधिवेशनमा हस्तक्षेप गरेकाे भन्दै मन्त्री यादवमाथि हातपातको प्रयास

वडाअधिवेशनमा हस्तक्षेप गरेकाे भन्दै मन्त्री यादवमाथि हातपातको प्रयास

शैलेन्द्र महतो
मंसिर १, २०७८ बुधबार २०:९, काठमाडौँ

वडा अधिवेशनको विवादमा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवमाथि हातपातको प्रयास भएको छ। 

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ५ र ६ को नेपाली कांग्रेसको वडा अधिवेशनमा मन्त्री यादवले हस्तक्षेप गर्न खोजेपछि आफ्नै स्थानीय नेता कार्यकर्ताहरूले उनलाई घेराबन्दी गर्दै हातपातको प्रयास गरेका हुन्। यद्यपी प्रहरीको बाक्लो उपस्थितिका कारण मन्त्री यादव त्यहाँबाट सुरक्षित निस्किन सफल भएका छन्। 

गएको २८ गते नै वडा ५ र ६ को वडाधिवेशनको लागि समय तय भएको थियो। स्थानीय कार्यकर्ता विनोद यादवका अनुसार सो दिन पनि पार्टीका एक क्रियाशील सदस्यको सदस्यता नवीकरण नभएको कारण स्थगित गरी आजका लागि तय गरिएको थियो। 

मन्त्री यादवले प्रहरी प्रशासनको बलमा लुकेर जबरजस्ती वडा अधिवेशन गराई आफ्ना मान्छेलाई वडा सभापतिमा निर्वाचित गर्न खोज्दा उनलाई घेराबन्दी गरी हातपातको प्रयास भएको जयकुमार यादवको भनाइ छ।  घेराबन्दी गरेपछि मन्त्री यादव प्रहरी प्रशासनको सुरक्षा घेरा हुँदै त्यहाँबाट भागेको जयकुमारले दावी गरे।

साथमा प्रहरी भएकै कारण मन्त्री यादव हातपातबाट हुनबाट जोगिएको उनले बताए। सो क्रममा केहीबेर प्रहरी र कांग्रेस कार्यकर्ताबीच तनाव समेत भएको थियो। 
 
विवादका कारण आज पनि दुवै वडाको वडाअधिवेशन स्थगित भएको छ। भोलि अधिवेशन हुने जनाइएको छ। 

यता मन्त्री यादवले आफूमाथि हातपातको प्रयास नभएको दावी गरे। 

‘मलाई कुनै घेराबन्दी र हातपातको प्रयास भएको छैन। यो कुरा निराधार हो’ उनले नेपालखबरसँग भने, ‘मैले जवरजस्ती वडा अधिवेशन पनि गराउन खोजेको होइन। त्यहाँ सबै उपस्थित नै थिए। लुकिछिपी कहाँ अधिवेशन गराउन खोजे?’

उनलाई घेराबन्दी गरी हातपातको प्रयास गर्नेहरु पार्टी उपसभापति विमलेन्द्र निधि निकट नेता कार्यकर्ता हुन्। सोही क्षेत्रबाट मन्त्री यादव प्रदेश सांसदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .