ad ad

राजनीति


एमाले महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलबीच टक्कर, यस्तो बन्यो पोस्टर

एमाले महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलबीच टक्कर, यस्तो बन्यो पोस्टर

ज्ञानेन्द्र खड्का
मंसिर ३, २०७८ शुक्रबार १६:३७, काठमाडौँ

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आउँदै गर्दा पदका आकांक्षीहरु विस्तारै खुल्न थालेका छन्। 

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीबाट बाहिरिएपछि अध्यक्ष केपी शर्मा ओली तलदेखि माथिसम्मै सर्वसम्मत रुपमा नेतृत्व चयन गराउने अभियानमा लागेका बेला आकांक्षीहरूले प्रचार नै थालेका हुन्। 

एमालेमा अध्यक्षपछिको कार्यकारी पद महासचिवका लागि ओलीकै दुई विश्वासपात्र उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलले आफूनिकट कार्यकर्तामार्फत प्रचार नै थालिसकेका छन्।

नवौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका शंकर पोखरेलको नाममा गत कात्तिक ३० गते एउटा पोस्टर उनका सहयोगीले सामाजिक सञ्जालमा हालिसकेका थिए।​

जसमा पोखरेललाई जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता, वैचारिक व्यक्तित्व, कुशल संगठकका रुपमा चित्रित गरिएको छ। सामाजिक सञ्जालमा हालिएको उक्त पोस्टरमा पोखरेललाई ‘महासचिव पदमा अत्यधिक लोकप्रिय बहुमतका साथ विजयी बनाउन’ अपिल गरिएको छ।

लुम्बिनी प्रदेशकै नेता पोखरेलले उक्त पोस्टर सार्वजनिक गरेपछि महासचिवका प्रवल दाबेदार विष्णु पौडेल क्याम्पले पनि प्रचार थालेको छ। पोखरेलको फोटोसहित महाधिवेशनकै लोगोमा महासचिवको प्रत्यासीका रुपमा प्रचार गर्न थालिएको तीन दिनपछि पौडेलनिकट कार्यकर्ताले पनि एउटा पोस्टर सार्वजनिक गरेका छन्। 

उक्त पोस्टरमा पनि कार्यकर्ताहरूले पौडेललाई बहुदलीय जनवादको सशक्त व्याख्याता भनिएको छ। गत फागुन २३ गते खारेजीमा पर्नुअघिको नेकपामा महासचिव रहेका पौडेललाई एमालेको दशौँ महाधिवेशनमा पनि महासचिवकै रुपमा अघि सार्न थालिएको हो।

‘जनताको बहुदलीय जनवादको सशक्त व्याख्याता र कार्यान्वयनकर्ता, संसदीय कार्यनीतिका प्रखर नेता, कुशल र अब्बल संगठक’, महासचिवका लागि पौडेललाई अघि सारिएको पोस्टरमा भनिएको छ, ‘समृद्धि र विकास यात्राका रोल मोडेल, लोकप्रिय अर्थमन्त्री, वैचारिक र राजनीतिक आधारमा समन्वय र नेतृत्व गर्न सक्ने जनआधारित सफल नेता।’

पोस्टरमा पौडेलको गुणगान गर्ने क्रममा अध्यक्ष ओलीका ‘योग्यतम् सारथि’ समेत भनिएको छ।

‘पार्टी अध्यक्ष केपी ओलीका योग्यतम् सारथि, आदरणीय कमरेड विष्णु प्रसाद पौडेललाई नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित गरौँ,’ पोस्टरमा अगाडि भनिएको छ, ‘पार्टीको सबलीकरण, संगठन विस्तार र सशक्तीकरणका लागि यो नै उपयुक्त आधार बन्न सक्दछ।’

शुक्रबार मात्रै एमाले सचिव योगेश भट्टराईले दशौँ महाधिवेशनबाट अध्यक्षदेखि अन्य सबै नेतृत्व सर्वसम्मत हुने बताएका थिए। उनले अध्यक्ष ओली सर्वसम्मतकै पक्षमा रहेको बताइरहँदा पौडेल र पोखरेलका निकटस्थले भने महासचिव पदका लागि प्रचार नै थालिसकेका छन्।

एमालेमा १५ पदाधिकारी पदका आकांक्षी सयभन्दा धेरै नेता छन्। तर अहिलेसम्म कुनै पनि नेताले खुलेर आफ्नो दाबी गरेका छैनन्। यसअघि महासचिव ईश्वर पोखरेलले आफ्नो दाबी स्वत: वरिष्ठ उपाध्यक्षमा हुने बताएका थिए। तर उनले यसबारे पार्टी अध्यक्षसँग छलफल गरेर मात्रै निर्णय लिइने पनि बताएका थिए। 

महासचिवका आकांक्षी पोखरेललाई थाहा दिएर नै यो प्रचार थालिएको उनीनिकट एक नेता बताउँछन्। ​

उनका अनुसार महासचिवमा उठ्न महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको मनोविज्ञान बुझ्न तथा अध्यक्ष ओलीमाथि दबाब बढाउने रणनीतिका साथ पोखरेल पक्षले प्रचार थालेको हो। 

एउटै भूगोल लुम्बिनीका पोखरेलले योजनावद्ध प्रचार थालेपछि पौडेल पक्ष पनि त्यही रणनीतिसहित अघि बढेको हो। तर पौडेलका एकजना सहयोगी तथा एमालेका युवा नेता याम पाण्डेले सामाजिक सञ्जालमा उक्त पोस्टर आफूले देखे पनि त्यो योजनावद्ध नभएको जानकारी दिए। 

‘मैले पनि फेसबुकतिर उक्त पोस्टर देखेको हो। तल कार्यकर्ताहरूले स्वत:स्फुर्त बनाइदिएको हुन सक्छ’, उनले नेपालखबरसँग भने, ‘उहाँ (विष्णु पौडेल) महासचिवमा स्वभाविक दाबेदार भन्ने कुरामा शंका रहेन। तर अहिले नै हामीले योजनावद्ध प्रचार थालिसकेका छैनौँ।’

लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा दुई ध्रुवमा विभाजित यी दुई नेता महासचिवमा प्रतिस्पर्धी हुने कुरा कम्तिमा एमाले सर्कलमा ‘ओपन सेक्रेट’ जस्तै छ। लुम्बिनी प्रदेशमा चलेको आन्दोलनका क्रममा पौडेलले बुटवललाई राजधानी बनाउने अभियान चलाएका थिए। उता पोखरेलले राजधानी दाङ लान चाहेका थिए। पौडेलले २०७४ को निर्वाचनमा लुम्बिनीको राजधानी बुटवल नै राख्ने गरी मत मागेका थिए।

तर पोखरेल प्रदेश झरेर मुख्यमन्त्री बनेपछि अहिले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने निर्णय गराइसकेका छन्। 

नेकपा रहँदा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र बनेका पौडेल एमालेमा पनि शक्तिशाली पदमा फर्किने तयारीमा छन्। प्रदेशमा झरेपछि एमालेमा आफ्नो शक्ति केही गुमेको ठानेका पोखरेल पनि महासचिव पदमा पुगेर ओलीको उत्तराधिकारी हुने दाउमा छन्। 

अध्यक्षपछिको कार्यकारी पदमा मुख्यत: पौडेल र पोखरेल नै दाबेदार हुन्।

पौडेल अध्यक्ष ओलीसँग निकट रहेर सांगठनिक र दस्तावेजका काममा महासचिवकै जस्तो जिम्मेवारी निभाइरहेका छन्। मुख्यमन्त्री गुमेपछि पोखरेल एमालेका हरेक कार्यक्रममा ओलीसँगै देखिइरहेका छन्। पछिल्लो पटक ओलीसँगै धनकुटा पुगेका पोखरेल त्यसलगत्तै नेपालगञ्जमा पनि सँगै देखिए। जहाँ पशुपति दयाल मिश्रसहितलाई ओलीले एमालेमा भित्र्याएका छन्। 

दुवैले महासचिवमा प्रचार गरे पनि ओलीले आफूलाई सहज हुने गरी एकजनालाई महासचिव बनाउन सक्छन्। नेकपा रहँदा महासचिव बनिसकेका पौडेललाई ओलीले च्याप्न सक्ने शंका पोखरेल पक्षलाई छ। पौडेल पनि महासचिवमा सकेसम्म अरुलाई अगाडि आउन नदिने रणनीतिमा छन्। 

पार्टी संगठनमा पोखरेलको भन्दा पौडेलको पकड बलियो मानिन्छ। नवौँ महाधिवेशनमा ओलीको दस्तावेज लेखेका पोखरेल वैचारिक नेताका रुपमा चिनिएका छन्। तर महासचिव पदमा पार्टीको देशभरको संगठन हाँक्न सक्ने नेतालाई ल्याउने योजनामा ओली छन्। 

चितवनमा १० देखि १२ मंसिरसम्म हुने दशौँ महाधिवेशनले आगामी पाँच वर्षका लागि अध्यक्षसहितका १५ पदाधिकारी चयन गर्ने छ। त्यस्तै करिब २३५ जनाको केन्द्रीय समिति पनि यो महाधिवेशनबाट चुनिनेछ। 

एमाले महाधिवेशनबाट अध्यक्ष र महासचिव एक-एक जना चयन हुँदैछन्। त्यस्तै वरिष्ठसहित पाँचजना उपाध्यक्ष, दुईजना उपमहासचिव र सातजना सचिव निर्वाचित हुनेछन्। 

यी पदहरुमा एमालेभित्र आकांक्षीको लर्को छ। तर ओली आफैँ भने पदाधिकारीमा कसलाई ल्याउने भन्नेमा निचोडमा पुगिनसकेको उनीनिकट एक नेता बताउँछन्। दुई कार्यकाल महासचिव बनेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा जान तयार भइसकेका छन्। 

महासचिवकै लागि माधव नेपाललाई छाडेर आएका सुरेन्द्र पाण्डे पनि आकांक्षीका रुपमा देखिएका छन्। उनी नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग ६ मतले पराजित ​भएका थिए। यदि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएमा पाण्डेले महासचिवमा दाबी गर्न सक्ने अवस्था छ। पार्टीको अन्तरसंघर्षमा आफूविरुद्ध लागेकाले पाण्डेलाई ओलीले अघि बढाउन सक्ने सम्भावना कम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .