ad ad

राजनीति


एमालेमा विजातीय अभ्यास भयो, यो दुर्भाग्य हो : घनश्याम भुसाल

एमालेमा विजातीय अभ्यास भयो, यो दुर्भाग्य हो : घनश्याम भुसाल

महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै घनश्याम भुसाल। तस्बिर : विक्रम राई/नेपालखबर


कृष्ण बहाब
मंसिर १३, २०७८ सोमबार १८:५३, सौराहा (चितवन)

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रतिस्पर्धात्मक प्रक्रियालाई अस्वीकार गरेर अहिले पार्टीमा विजातीय अभ्यास गरिएको बताएका छन्।

चितवनको सौराहास्थित बन्दसत्रस्थलमा नेपालखबरसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

'एमालेमा एक किसिमले विजातीय अभ्यास भयो। यस्तो त आजसम्म कहिल्यै पनि भएको थिएन', उनले भने, 'यो दुर्भाग्य हो, पार्टी भनेको एक साथ जाँदैन। तर छलफल र प्रतिस्पर्धालाई निषेध गरियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुँदैन।'

उनले आफू हार्न तयार हुँदा पनि एमालेले रोक्न खोजेको बताए। 'म हार्न तयार छु तर मलाई प्रतिस्पर्धामा जानबाट रोकिँदैछ', उनले भने, 'यस्तो त लोकतान्त्रिक अभ्यास नै भएन। प्रतिस्पर्धामा जाँदैमा पार्टी बिग्रिने त होइन नि!'

उनले पहिलो पटक एमालेमा लोकतान्त्रिक अभ्यास संकटमा पर्न खोजेको बताए। 'एमालेको लोकतान्त्रिक अभ्यासको इतिहासमा तानातानी भएको छ। नमिलेको जस्तो भयो', उनले भने, 'पहिलोदेखि नवौँसम्म प्रतिस्पर्धाबाट नेतृत्व चयन हुँदै आएको हो। तर नेकपा एमाले आज हामीले भनेकै दिशामा जानेछ, नगइकन सुखै छैन। अनेक हण्डर ठक्कर खाएर पनि त्यहीँ पुग्छौँ।'

उनले यो पटक नीतिमा छलफल नै हुन नसकेको पनि बताए। 'हामीले यो पटक नीतिमा छलफल गर्नै सकेनौँ। मैले पनि कमजोरी गरेँ', उनले थपे, 'हामीले अब पनि नीतिमा बहस गरेनौँ भने १० वर्ष पछि पर्छौँ।'

उनले उपाध्यक्ष पदमा हारे पनि पार्टीमै रहने बताए। 'एमालेमा समस्या आउनु भनेको मुलुककै लोकतान्त्रिक प्रणाली डगमगाउनु हो', भुसालले थपे, 'एमाले र मुलुक दुवैका लागि घाटा हो। यो कुरा प्रतिनिधिलाई बुझाउन सकेँ भने अघि बढ्छु नभए पनि म पार्टीमै, कम्युनिष्ट आन्दोलनमै बसेर संघर्ष गरिरहन्छु।'

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .