ad ad

राजनीति


देउवा प्रधानमन्त्री भएको पाँच महिनामै तेस्रो पटक सचिवहरुको सरुवा

देउवा प्रधानमन्त्री भएको पाँच महिनामै तेस्रो पटक सचिवहरुको सरुवा

सरुवामा परेका सचिवहरु


सन्तोष घिमिरे
मंसिर १३, २०७८ सोमबार २०:४९, काठमाडौँ

सरकारले विभिन्न मन्त्रालय र निकायका १० जना सचिवको सोमबार एकै साथ सरुवा गरेको छ। 

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। असार २९ मा शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेयता तेश्रो पटक सचिव सरुवा भएको हो। 

मनमौजी रुपमा सचिव सरुवा गर्ने गलत परिपाटीलाई देउवा सरकारले समेत निरन्तरता दिएको आरोप लागेको छ। तीन जना सचिव त चार महिना नपुग्दै सरुवामा परेका छन्। अहिले सरुवा भएका अधिकांश सचिव एक वर्ष नपुग्दै अर्को निकायमा सरुवामा परेका हुन्।

मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, निर्वाचन आयोग, वित्त आयोग र उर्जा आयोगका सचिव सरुवाको निर्णय लिएको हो। 

यद्यपि सरकारले सचिव सरुवाको निर्णयबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

‘सरुवा भएको सूचना पाएको छु। पत्र चाँडै पाइएला,’ एक सचिवले नेपालखबरसँग भने। 

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालको श्रम मन्त्रालयमा सरुवा भएको छ। अर्याल एक वर्षअघि मात्रै सामान्यमा सरुवा भएका थिए। सचिव अर्यालसँग सामान्य प्रशासनमन्त्री असन्तुष्ट रहेको स्रोतले बतायो। 

सरकारले संघीय निजामती ऐन अध्यादेश मार्फत् ल्याउन गृहकार्य गरिरहेका बेला सामान्य प्रशासनका सचिव परिवर्तन गरिएको छ। अर्याल सामान्यमा आउनुअघि काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत थिए। 

सामान्य प्रशासनका अनुभवी अधिकारी सामान्यमा 
निर्वाचन आयोगमा रहेका सचिव सुरेश अधिकारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। उनी गत फागु्नमा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्वाचन आयोगमा सरुवा भएका थिए। 

सचिव अधिकारीसँग सामान्य प्रशासन मन्त्रालयमा लामो समय काम गरेको अनुभव छ। उनी सात वर्षअघि सामान्य प्रशासनका प्रवक्ता भएका थिए। 

पर्यटनमा फेरि महेश्वर न्यौपाने 
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव महेश्वर न्यौपानेको पर्यटन मन्त्रालयमा सरुवा भएको छ। उनको चार महिनामै सरुवा भएको हो। गृहसचिव रहेका न्यौपानेलाई गत साउन २५ मा मात्रै सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। 

न्यौपाने २०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयमा सचिव थिए। उनको फेरि पर्यटन मन्त्रालयमै सरुवा भएको हो। ओली नेतृत्वको सरकारले न्यौपानेलाई गृहसचिव बनाएको थियो। त्यसपछि गत साउनमा उनलाई नयाँ सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। न्यौपानको ठाउँमा गृह प्रशासनको अनुभव नै नभएका टेकनारायण पाण्डेलाई गत साउनमा सरुवा गरेपछि देउवा सरकारको आलोचना भएको थियो। 

शिक्षामा कोइराला 
पर्यटनमा रहेका यादव कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ। पर्यटन आउनुअघि उनी स्वास्थ्य मन्त्रालयमा सचिव थिए। कोरोना महामारीका बेला भएको चिकित्सकीय उपकरण खरिद विवादमा तानिएपछि तत्कालीन स्वास्थ्य सचिव कोइरालाको तीन महिनामै सरुवा भएको थियो। 

शिक्षा मन्त्रालयमा रहेका सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। गत फागुनमा मात्रै थपलिया शिक्षा मन्त्रालयमा सरुवा भएका थिए। त्यसअघि उनी युवा तथा खेलकुद मन्त्रालयका सचिव थिए। 

सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई जगेडामा पठाइएको छ। सिंह सहरी विकास विज्ञ मानिन्छन्। उनी विगतमा उर्जा आयोगमा थिए। 

श्रम मन्त्रालयका सचिव सूर्य गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। उनी त्यसअघि युवा तथा खेलकुद मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा थिए। 

उर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका अर्का सचिव भरतमणि सुवेदीको वित्त आयोगमा सरुवा भएको छ। प्रधानमन्त्री कार्यालय आएको चार महिना नपुग्दै सुवेदीको सरुवा भएको छ। उनी लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री कार्यालय आएका थिए। 

एक वर्षमा तेश्रो पटक सरुवामा परे दुवाडी 
वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ। 

दु्वाडीको एक वर्षमा तेश्रोपटक सरुवा भएको हो। उनी गत साउनमा वित्त आयोगमा सरुवा भएका थिए। त्यसअघि उनी प्रदेश २ का प्रमुख सचिव थिए। २०७७ मंसिरमा दुवाडी सचिवमा बढु्वा भएका थिए। 

चाँडोचाँडो सचिव सरुवा गर्नु गलतः प्रशासन विज्ञ 
सरकारले चाँडोचाँडो सचिव सरुवा गर्ने परिपाटी बसाल्नु गलत रहेको प्रशासन विज्ञहरु बताउँछन्। 

पूर्वसचिव तथा लोकसेवा आयोगका पूर्व सदस्य गोविन्द कुसुम सरकारी निकायमा चाँडो सचिव सरुवा गर्दा प्रशासन कमजोर हुने बताउँछन्।

‘सचिवहरुको बारम्बार सरुवा हुँदा त्यसले प्रशासनिक तहमा समस्या ल्याउँछ। किनकि, कुनै पनि सचिवले सम्बन्धित निकायमा राम्रोसँग कार्यसम्पादन गर्ने वातावरण हुँदैन। उनीहरुलाई कुन बेला सरुवा भइने हो भन्ने अन्यौल हुन्छ,’ पूर्वसचिव कुसुमले नेपालखबरसँग भने, ‘छिटो सरुवा गर्ने परिपाटी बसालिदिँदा कतिपय सचिवलाई सरुवा पाउन प्रधानमन्त्री र मन्त्रीकहाँ धाउनुपर्ने रहेछ भन्ने मनस्थिति विकास हुनपुग्छ। जुन राम्रो होइन।’

प्रशासनिक संरचना व्यवस्थित रुपमा एउटा प्रणालीले चल्नुपर्नेमा सचिवको छिटोछिटो सरुवाले गर्दा प्रशासनमा शिथिलता समेत देखापर्ने उनले बताए।

‘सचिव तहको कर्मचारी सम्बन्धित सरकारी निकायको प्रशासनिक प्रमुख हुन्छ। त्यति महत्वपूर्ण जिम्मेवारी बहन गर्ने कर्मचारी आफ्नो सरुवा रोक्न र मिलाउन नमस्कार गर्दै हिँड्नु परेपछि कसरी राम्रो कार्यसम्पादन गर्ला?’ उनले भने। 

सचिवको चाँडो सरुवा मुख्सचिवले रोक्न सक्नुपर्छ 
पूर्वसचिव कुसुम कर्मचारीतन्त्रको प्रमुख हुनुका नाताले मुख्यसचिवले सचिवहरूको चाँडै हुने सरुवा रोक्न पहल लिनुपर्ने बताए। 

‘राजनीतिक नेतृत्वलाई सम्झाएर वा बुझाएर मुख्यसचिवले यस्ता सरुवा रोक्नका लागि हस्तक्षेप गर्न सक्नुपर्छ,’ उनले भने। 

अहिले मुख्यसचिव शंकरदास बैरागी छन्। उनी पूर्व परराष्ट्र सचिव हुन्। ओली नेतृत्वको सरकारले उनलाई मुख्य सचिव नियुक्त गरेको थियो। तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरिएपछि बैरागी मुख्य सचिव बनेका थिए। 

प्रधानमन्त्री र मन्त्रीले आफ्ना स्वार्थ पुरा गर्न सचिवको सरुवा गर्ने गरेको पाइन्छ। त्यस्तै सचिव पनि मन्त्री र उच्च राजनीतिक नेतृत्वलाई रिझाएर आकर्षक भनिएका निकायमा सरुवाका लागि दौडिने गर्छन्। 

कार्यक्षमता र योग्यताका आधारमा नभई सत्तारुढ राजनीतिक दलसँगको निकटताका कारण मन्त्रालय र सरकारी निकायमा सचिव सरुवा हुने गरेका छन्। 

देउवा सत्तामा आएको दुई सातामै केही सचिव सरुवा गरेका थिए। तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो।  महालेखा नियन्त्रक मधु मरासिनी अर्थमा सरुवा भएका थिए। स्वास्थ्य सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो। 

सरकारले गतसाता ४९ सहसचिवको एकसाथ सरुवा गरेको थियो। त्यसो त देउवा नेतृत्वमा सरकार गठन भएको एक महिनापछि नै ८१ सहसचिवको सरुवा भएको थियो। 

हाजिर भएको एक सातामै सहसचिवको सरुवा 
मुस्लिम आयोगमा हाजिर भएका एक सहसचिव एक सातामै अर्को निकायमा सरुवा भएका छन्। सहसचिव होमप्रसाद लुइँटेलले एक साता मात्रै आयोगमा काम गरे। सरुवा भएर जाने सहसचिव आयोगको सचिव रहन्छन्। चार दिनअघि सहसचिव लुइँटेलको पर्यटन मन्त्रालयमा सरुवा भएको हो। स्रोतका अनुसार सरुवा पाएकै दिन लुइँँटेलले आयोगबाट रमाना पत्र लिएर पर्यटन मन्त्रालयमा हाजिर गरे।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूकहाँ आएका सहसचिव लुइँटेलको एक हप्तामै अर्को निकायमा सरुवा भएकोमा आश्चर्य व्यक्त गरे। 

‘आयोगसँग खासै बजेट हुँदैन। त्यसैले पनि होला आयोगमा कर्मचारी सरुवा भएर आउनै चाहँदैनन्। आइहाले भने पनि धेरै बस्दैनन्,’ अन्सारीले नेपालखबरसँग भने। 

सामान्य प्रशासन मन्त्रालयले लुइँटेलको स्थानमा मंसिर ९ गते नै सहसचिव रेखा दासको सरुवा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .