ad ad

राजनीति


कांग्रेस महाधिवेशन : एक मत खसाल्न १ घण्टा, सबै मतगणना गर्न एक महिना

एमाले मेसिनमा गइसक्यो, कांग्रेस कागजमै अल्झियो
कांग्रेस महाधिवेशन : एक मत खसाल्न १ घण्टा, सबै मतगणना गर्न एक महिना

केशव सावद
मंसिर १९, २०७८ आइतबार १७:५, काठमाडौँ

प्रविधिले दिनप्रतिदिन छलाङ मार्दै गए पनि ‘वृद्ध’हरूको हालीमुहाली रहेको सत्तारुढ नेपाली कांग्रेस परम्परागत शैलीमा देखिएको छ। 

हरेक क्षेत्रमा छिटोछरितो र सहजताका लागि प्रविधिको प्रयोग तीव्र रूपमा भइरहे पनि कांग्रेस पुरानै शैलीमा कागजी मतपत्र (ब्यालेट पेपर) मै सीमित भइरहेको छ। 

मुख्य प्रतिस्पर्धी नेकपा एमाले र ‘पञ्च’हरूको पार्टीका रुपमा चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रविधिको उपयोग गरेर आ–आफ्ना महाधिवेशन सम्पन्न गरिसक्दा पनि कांग्रेस परम्परागत शैलीमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ। 

एमालेले चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ (ईभीएम) प्रयोग गरे पनि कांग्रेस परम्परागत शैलीमा ब्यालेट पेपरमार्फत नयाँ नेतृत्व चयन गर्ने मनस्थितिमा छ। 

मंसिर १०–१४ मा सम्पन्न १०औँ महाधिवेशनमा अध्यक्षसहित ३ सय १ सदस्यीय कार्यसमिति चयनका लागि भएको मतदानमा एमालेले ईभीएम मेसिनको प्रयोग गरेको थियो। यस्तै मंसिर १५–१८ मा सम्पन्न एकता महाधिवेशनमा राप्रपाले अध्यक्षबाहेकका पदहरुको चयनका लागि ईभीएम मेसिन प्रयोग गरेको छ। 

सहयात्री दलहरू प्रविधिको प्रयोग गर्दै ईभीएमबाट निर्वाचन गरिरहँदा सत्तारुढ कांग्रेस भने प्रविधितर्फ आकर्षित भएको देखिँदैन। कांग्रेस किन ईभीएममार्फत नयाँ नेतृत्व चयनका लागि तयार देखिएन त? 

१४ औँ महाधिवेशनका लागि पार्टीद्वारा गठित केन्द्रीय निर्वाचन समितिका एक सदस्य भन्छन्, ‘विश्वका विभिन्न मुलुकमा भोटिङ मेसिनमाथि बेलाबखत प्रश्नहरू उठ्दै आएका छन्। नेपालमा पनि अत्याधुनिक मेसिन छैनन्। ईभीएम विश्वसनीय र भरपर्दो भएन भन्ने बुझाइ नेताहरूमा देखियो। त्यसैले पनि ब्यालेट पेपर प्रयोग गर्न लागेका हौँ।’

ईभीएमको विश्वसनीयतामा चर्को प्रश्न उठेपछि २०७६ जेठमा विश्वको तेस्रो लोकतान्त्रिक मुलुक इन्डोनेसियामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पनि ब्यालेट पेपर प्रयोग भएको उनले बताए। सन् २०१४ मा भारतीय लोक सभाको निर्वाचनमा भारतीय कांग्रेसले ईभीएमबाट धाँधली भएको आरोप लगाएको थियो।

प्रवक्ता विश्वप्रकाश शर्माले नेतृत्व समक्ष महाधिवेशनमा ईभीएमको प्रयोगका लागि प्रस्ताव गरिएको बताएका छन्। महाधिवेशन केन्द्रीय प्रचार विभागले गत बिहीबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ईभीएमको प्रयोगका लागि प्रस्ताव गरिएको बताएका थिए।

पार्टीले गठन गरेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका शर्माले प्रदेश अधिवेशनपछि महाधिवेशनमा ईभीएमको प्रयोगका बारेमा छलफल गरिने पनि बताएका थिए।

‘विभागले इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्न प्रस्ताव गरेको हो’, ब्यालेट पेपर प्रयोगबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भनेका थिए, ‘प्रदेश अधिवेशनपछि पनि हामी एकपटक छलफल गर्छौँ। कागजी मतपत्र नै प्रयोग हुने सम्भावना धेरै छ।’

तीन स्थानमा मतदान
कांग्रेसले १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि तीन स्थानमा मतदानस्थल तोकेको छ। प्रवक्ता शर्माले नेतृत्व चयनका लागि तीन स्थानमा मतदानको व्यवस्था गरिने जानकारी दिए। 

उनले भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनबाट नेतृत्व चयनका लागि भृकुटीमण्डपसँगै राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान हुने बताए। 

कांग्रेस महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय ३५ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। विधानले एक कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य मात्रै मनोनीत हुने व्यवस्था गरेको छ।

महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्नेछ। मंसिर २५ मा उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

मतदातालाई मत खसाल्न १ घण्टा
कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका क्रममा हरेक मतदाताले २९ मतपत्रमा मतदान गर्नुपर्नेछ। 

‘उत्साह, एकता, रुपान्तरण, सफल पारौँ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन’ नारा तय गरिएको महाधिवेशनमा मतदाताले २९ मतपत्रमा मतदान गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ।

प्रवक्ता शर्माले मतदानका क्रममा प्रत्येक मतदातालाई मत खसाल्न ४५ देखि १ घण्टाको समय लाग्ने बताएका छन्।

‘२९ वटा मतपत्र हुने भएकोले एकै व्यक्ति (महाधिवेशन प्रतिनिधि) लाई मतदान गर्न करिब एक घण्टा लाग्न सक्छ’, प्रवक्ता शर्माको भनाइ छ। 

महाधिवेशनमा ४ हजार १ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। कांग्रेसको विधानमा १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने प्रावधान छ। 

तर, पछिल्लो समय कांग्रेसले दलिततर्फ एक जना र मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्तिबाट थप एक जना महाधिवेशन निर्वाचित गर्न परिपत्र गरेको थियो। यसर्थ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ देखि २७ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने सम्भावना छ। 

केन्द्रीय सदस्य तथा पदाधिकारीहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् भने विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिहरू हुन्छन्। कांग्रेसले नेपाली राहदानीवाहकलाई मात्रै विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउन पाउने व्यवस्था गरेको छ।

केन्द्रीय कार्यसमितिको नतिजा आउन एक महिना 
ब्यालेट पेपरअनुसार निर्वाचित हुने कांग्रेसको केन्द्रीय कार्यसमितिको मत गणनाको नतिजा आउन झण्डै एक महिना लाग्ने देखिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले केन्द्रीय कार्यसमिति पूरैको नतिजा सार्वजनिक हुन एक महिना लाग्ने बताए। 

पदाधिकारीको मत गणनाको नतिजा थाहा पाउन झण्डै एक हप्ता कुर्नुपर्ने उनको भनाइ छ।

‘केन्द्रीय सदस्यहरूको मतगणना गर्न एक महिना नै लाग्छ। पदाधिकारी मात्रैको पनि कम्तीमा पनि ४/५ दिन लाग्छ होला’, रावलले नेपालखबरसँग भने। 

उनले सभापतिको मतगणना भने छिट्टै गर्नुपर्ने बाध्यता रहेको पनि बताए।

‘दुईभन्दा बढी सभापतिका उम्मेदवार भए मतगणना चाँडो चाँडो सक्नुपर्छ’, रावलले भने, ‘पहिलो चरणमा नतिजा नआए दोस्रो चरणको निर्वाचनमा जानुपर्ने भएकाले पनि त्यो अवस्था हो।’

उनले सभापति चयनका लागि खसेका मतपत्रहरूको गणना एक रातमै सम्पन्न गर्ने तयारी रहेको पनि जानकारी दिए। सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन भए तीन दिनभित्रै मत परिणाम सार्वजनिक हुने रावलको भनाइ छ। 

कांग्रेसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, डा. शेखर कोइरालाले पनि आकांक्षा राखेका छन्। 

यस्तै १३औँ महाधिवेशनदेखि छुट्टै समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य कल्याण गुरुङ, गोरखाका युवा नेता युवराज न्यौपाने पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा देखिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .