१२ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य जितेका गगन थापा १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भए।
तर उनैले काठमाडौंमा भएको १४ औं महाधिवेशनमा झण्डै दुईतिहाइ मत ल्याएर महामन्त्री जितेका छन्।
यसआधारमा कांग्रेसको संगठन हाँक्ने चाबी अब युवा नेता थापा पोल्टामा आइपुगेको छ।
बिहीबार भएको महामन्त्री पदको मतगणना अनुसार थापाले सर्वाधिक मत ल्याएका छन् ।
उनी १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला गुटबाट महामन्त्री उम्मेदवार बनेका थिए। तर उनले १४ औँमा गुट फेरेर त्यसको क्षतिपूर्तिसहित जीत निकाले ।
गुट परिवर्तन
थापाले १४ औँ महाधिवेशन हुने वातावरण बन्दै गएपछि आफ्नो गुट परिवर्तन गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा आइपुगेका थिए।
सिटौलालाई छोड्नु उनका लागि लाभदायी भयो। उनी रामचन्द्र पौडेल–शेखर कोइराला पक्षबाट महामन्त्री उम्मेदवार बनेका थिए।
उनले भदौ १४ गते महामन्त्री उठ्ने घोषणा गरेका थिए। गहन अध्ययन र विषयवस्तुमा राम्रोसँग तयारी गरेर बोल्ने थापा वाककला र संगठनमा प्रभावशाली छन्।
संसदमा बोल्दा होस् वा अन्य खुला कार्यक्रममा थापा आफ्नो वाकलाबाट जनताको ध्यानाकर्षण गराउन सक्ने क्षमता भएका नेता हुन्।
संसदमा सफल
महामन्त्रीमा निर्वाचित थापाले यसअघि कहिल्यै फस्ट म्यान भएर काम गरेका छैनन्।
पार्टीको आन्तरिक कलह र नेताहरुको इगोको सिकार भएका थापा २०५९ देखि २०६१ सालसम्म उनी नेविसंघ महामन्त्री बने। त्यसपछि उनले नेविसंघ हाँक्ने अवसर नै पाएनन्।
नेविसंघ हाँक्न नपाएका उनी संसदीय निर्वाचनमा लगातार सफल छन्।
पहिलो संविधानसभा (२०६४) मा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा थिए।
२०७० मा भएको संविधानसभा र र २०७४ मा संघीय संसदको निर्वाचनमा भने थापाले काठमाडौँ क्षेत्र नम्बर ४ बाट शानदार जित निकालेका थिए।
शेरबहादुर देउवाले देशव्यापी रुपमा संगठन सुदृढीकरण गर्न नसकेको आलोचना खेपिरहेका बेला थापा नै कार्यक्रममा निम्त्याइन्थे।
विपक्षी पार्टीमाथि गाली गर्नेमात्र होइन, सकारात्मक आलोचना गर्न पनि उनी सक्षम छन्। पछिल्लो समय कांग्रेस भनेकै गगन थापा भन्ने मानक नै उनले बनाएका छन्।
गगनको राजनीतिक यात्रा
२०४६ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल कांग्रेसको सदस्यका रुपमा राजनीतिक यात्राको सुरुवात, २०४६ सालको जनआन्दोलनमा सहभागी स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य २०५१।
सचिव २०५३ र सभापति २०५५ २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, २०५७ नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ नेपाल विद्यार्थी संघको महामन्त्री (विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा शिक्षा क्षेत्र सुधारका मुद्दा स्थापित गराउन र संयुक्त विद्यार्थी आन्दोलनमा अग्रणी नेतृत्व प्रदान)

टर्निङ प्वाइन्ट
तत्कालीन राजाको निरंकुश कदम विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ।
स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दैगर्दा २०६०–२०६१ राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा
जेलमै रहँदा एम्नेष्टी इन्टरनेशनलद्वारा 'आस्थाको बन्दी’ घोषणा (यो सम्मान शान्तिपूर्ण रुपमा आफ्नो आस्था प्रकट गरेकै आधारमा बन्दी बनाइएका विश्वका प्रतिष्ठित राजनीतिज्ञलाई यस्तो बन्दी घोषणा गर्ने गर्छ। (थापा भन्दाअघि नेपालमा कृष्णप्रसाद भट्टराईहरुलाई यो सम्मान प्रदान गरिएको)
२०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान
२०६२/६३ को जनआन्दोलनको मुख्य पात्र, जनआन्दोलनका एजेण्डा स्थापित गराउन, शान्तिपूर्ण रुपमा राजनीतिक परिवर्तनका लागि भूमिका
२०६४ सालको संविधानसभा निर्वाचनमा देशभरी मुख्य चुनावी प्रचारक हुनुपर्ने भएकाले कुनै एउटा निर्वाचन क्षेत्रमा सिमित हुनु हुदैन भनेर पार्टीले समानुपातिक उम्मेदवार बनाएको,
२०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित
देशैभरी माओवादी ज्यादतीका विरुद्ध सशक्त प्रतिवाद गर्ने कांग्रेस नेता
२०६७ सालमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य
२०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौ क्षेत्र नं. ४ बाट अत्यधिक मतले निर्वाचित,
संविधानसभाभित्र संविधान मस्यौदा समितिको सदस्यको रुपमा संविधान निर्माणमा भूमिका,
२०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रुपमा कृषि, ऊर्जा, जलस्रोत लगायतका क्षेत्रमा नीतिगत पहल। (कृषि,विकास रणनीति, भू उपयोग नीति एकीकृत जलश्रोत नीति, जल उत्पन्न प्रकोप नियन्त्रण नीति, ऊर्जा सुरक्षा नीति तयार गर्न महत्तवपूर्ण आधार दिएको, बुढीगण्डकी आयोजना नेपालले नै वनाउन सक्ने अवधारणासहितको विस्तृत खाका प्रदान)
२०७२ सालको कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार
२०७३ सालमा नौ महिना स्वास्थ्य मन्त्री
२०७४ सालमा प्रतिनिधिसभा सदस्य
२०७८ सालको मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा महामन्त्री
Shares

प्रतिक्रिया