ad ad

राजनीति


सकेनन् गगन र विश्वप्रकाश रोक्न, कांग्रेसमा सिटौलाको राजनीतिक हार

प्रदीप पौडेललाई संस्थापनबाट असहयोग
सकेनन् गगन र विश्वप्रकाश रोक्न, कांग्रेसमा सिटौलाको राजनीतिक हार

फाइल फोटो


कृष्ण बहाब
पुस १, २०७८ बिहिबार २२:५२, काठमाडौँ

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समर्थन सुशील कोइरालालाई थियो। 

कांग्रेसको तत्कालीन विधानमा महामन्त्री मनोनयन अधिकार सभापतिले राखेका थिए। सभापतिको भिडन्तमा शेरबहादुर देउवालाई हराएपछि सुशील कोइरालाले त्यही अधिकार प्रयोग गर्दै सिटौलालाई महामन्त्री बनाए।

सुशीलको निधनपछि त्यस समूहको बिँडो थाम्ने योजनामा थिए उनै सिटौला। तर, १३ औँ महाधिवेशनमा कोइराला समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बने। 

पौडेल उम्मेदवार बनेपछि सिटौलाले कांग्रेसमा तेस्रो धार जन्माएर छुट्टै प्यानल खडा गर्दै महाधिवेशनमा उत्रिए। त्यसपछि उनै सिटौला सभापति र गगन थापा महामन्त्री पदको प्रतिस्पर्धामा उत्रिए। तर सिटौलाले तेह्रौँमा पनि केही सफलता हात पार्न सकेनन्। 

तेह्रौँमा देउवा, पौडेल र सिटौला तीनजना सभापतिको मैदानमा थिए। त्यसबेला पहिलो चरणको निर्वाचनमा कसैले बहुमत पाउन नसक्दा दोस्रो चरणमा देउवा र पौडेल भिडेका थिए। 

त्यसबेला पनि सिटौलाले पौडेललाई सघाउने सबैको अनुमान थियो। तर, त्यसलाई गलत सावित गर्दै देउवासँग अँगालो हाल्न पुगेपछि उनले कोइराला परिवारसँग उनको सम्बन्धमा पूर्णविराम लाग्यो।

१३औँ महाधिवेशनको पहिलो चरणको चुनावमा देउवासँगै प्रतिस्पर्धामा रहेका सिटौलाले १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने हिम्मत गरेनन्। बरु सभापतिका प्रत्यासी देउवाको मनोनयनमा सिटौला समर्थक भइदिए।

देउवा–सिटौला समूहबीच पालिका अधिवेशनबाटै समीकरण सुरु भएको थियो। काठमाडौँ, झापा, मोरङलगायत जिल्ला अधिवेशन हुँदै उक्त समीकरण प्रदेशसम्म पुगेको थियो। 

देउवाको सहयोगमा सिटौलाले प्रदेश १ मा आफूनिकट उद्धव थापालाई जिताए। यता सिटौलाको सहयोगमा देउवानिकट इन्द्र बानियाँ बागमती प्रदेश सभापति भएका छन्। 

जुनियरसँग भिड्दा धमिलिएको छवि

सिटौलाले प्रदेश १, कम्तीमा तीन जिल्ला र पालिकाहरुमा आफ्ना मान्छे सेटल गराउन सके। तर यो पटकको केन्द्रीय महाधिवेशनमा भने सिटौलाको व्यक्तित्व छरपस्ट हुने गरी पोखियो। 

झापाबाटै उदाएका विश्वप्रकाश शर्मालाई पार्टी राजनीतिमा रोक्न सिटौलाले हरसम्भव प्रयास गरिरहेका छन्। यो महाधिवेशनमा पनि सिटौलाले देउवासँग मिलेर त्यही चाल चाले। 

२०७४ को निर्वाचनमा विश्वप्रकाश र सिटौलाले एकअर्कालाई सघाउन नसक्दा दुवै क्षेत्र गुमेको थियो।

सिटौला अझै पनि विश्वप्रकाशसँग  झापाको राजनीतिक तुष साँध्न खोजिरहन्छन्। यो महाधिवेशनमा पनि झापाको राजनीतिक इगो देखाउन खोज्दा सिटौला नराम्ररी पछारिएका छन्। 

सिटौलाले यो महाधिवेशनमा देउवासँग मिलेर एक तीरले दुई सिकार गर्न खोजे। ती सिकारमा एक थिए झापाकै विश्वप्रकाश र काठमाडौंका गगन थापा। त्यो तीरका रुपमा सिटौलाले देउवासँग मिलेर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएर अघि सारेका थिए।

निरन्तर राजनीतिक उचाई लिइरहेका विश्वप्रकाश र आफैंसँग विद्रोह गरेर शेखर प्यानलमा पुगेका गगन थापाविरुद्ध संस्थापन समूहबाट सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई अघि सारेका थिए। तर पौडेलले पनि नराम्रो हार भोगेपछि सिटौलालाई तनाव भएको छ।

सिटौलाले निषेध गर्न खोजेका दुवै पात्रलाई कार्यकर्ताले भने भारी मतसहित महामन्त्रीमा विजय गराइदिए। सिटौलाकै कारण देउवाले महामन्त्रीमा दुवै पद गुमाए।  

सिटौलाले रोक्न खोजेका दुवै पात्र अब कांग्रेसको संगठन हाँक्ने चाबी भएको ठाउँमा पुगेका छन्। उता देउवा प्यानलबाट उठेका सिटौलानिकट प्रदीप पौडेल भने यो महाधिवेशनबाट अस्वीकृत भएका छन्। 

विश्वप्रकाश र गगनले महामन्त्रीमा जितेपछि उनीहरुलाई छेक्ने सिटौलाको प्रतिशोधको राजनीतिमा नराम्ररी धक्का लागेको छ। महामन्त्रीको नतिजापछि प्रदीप पौडेललाई पनि संस्थापनले असहयोग गरेको देखिएको छ। 

यसअघिसम्म मनोनित हुने गरेका महामन्त्रीहरू यो महाधिवेशनमा सिधै निर्वाचित भए। सभापतिपछिको चर्चित यो पदमा दुई आकर्षक नेता आएसँगै यसको चर्चाको दायर अझै फराकिलो भएको छ।

पछिल्लो विधानले पार्टीमा महामन्त्रीलाई थप शक्तिशाली बनाएको छ। यस्तो अवस्थामा आफूले निषेध गर्न खोजेकै व्यक्तिहरू महामन्त्री बनेपछि सिटौलालाई अब पार्टीभित्र आफ्नो अस्तित्वका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको छ।

यस्तो छ दुई महामन्त्रीसँगको तुष!

तेह्रौँ महाधिवेशनमा विश्वप्रकाश देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि देउवाले विश्वप्रकाशलाई प्रवक्ताको जिम्मा पनि दिए।

प्रवक्ताको जिम्मेवारी जुनसुकै सङ्गठनमा संस्था प्रमुखसँग निकट सम्बन्ध भएकालाई दिने प्रचलन छ। तेह्रौँ महाधिवेशनपछि प्रवक्ताको जिम्मा पाएर विश्वप्रकाशले देउवासँगको निकटता पुष्टि गरेका थिए।

पार्टी प्रवक्ताका रूपमा सभापति देउवाका गल्ती कमजोरीको बचाऊ गर्दै बसेका विश्वप्रकाशलाई अन्तिम समयमा उनैले समेटेनन्। 

गत भदौमा सुन्दरीजल पुगेर विश्वप्रकाशले एक्लै महामन्त्रीमा लड्ने घोषणा गरेपछि देउवा रिसाएका थिए। 

त्यस्तोमा आफूलाई विस्थापित गर्न पौडेल-कोइराला समूह तम्तयार रहेको बुझेपछि सिटौलासँग रातारात अँगालो हाले। 

सिटौलासँग देउवाको गठजोड बनेपछि विश्वप्रकाश त्यहाँ अटेनन्। सिटौलाले देउवा पक्षका कयौँ सिनियर नेताको चित्त दुख्ने गरि प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेसँगै विश्वप्रकाश त्यहाँ अटेनन्। 

देउवाले एक पद सिटौलालाई दिएपछि अर्को महामन्त्री पदमा डा. प्रकाशशरण महतलाई अघि सारे। देउवा-सिटौला गठजोड बनेपछि विश्वप्रकाश शेखरसम्म नपुगेको होइन तर दुवै मुख्य प्यानलमा नसमेटिएका उनले प्रकाशमानसँग मिलेर महामन्त्री लड्ने घोषणा गरे। 

 विश्वप्रकाश र गगनविरुद्ध राजनीतिक तुष साँध्ने क्रममा सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेर महामन्त्री पदमा पौडेललाई अघि सारेका थिए।

विपी कोइरालाको जन्म जयन्ती पारेर गत भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा विश्वप्रकाशले गरेका थिए। तर सिटौलाले 'तुष मेट्न संस्थापनको ‘टिकट’ आफूसँग लिएर विश्वप्रकाशलाई एक्लो पारिदिए।

देउवा समूहमा नपर्ने निश्चित भएपछि शर्माको चर्चा कोइराला समूहमा पनि भएको थियो। तर त्यहाँ पनि मीनेन्द्र रिजाल र गगन थापाको नाम परेपछि शर्मा यस पटक तेस्रो धारका रूपमा देखिएका प्रकाशमान सिंहको फेरो समात्न बाध्य भएका हुन्।

विश्वप्रकाश र सिटौलाको तुष झापाकै राजनीति देखि हो। बाह्रौं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बनेका विश्वप्रकाशलाई हराउन त्यति बेलैदेखि सिटौला सक्रिय थिए। त्यसबेला सिटौलाले उद्धव थापालाई समर्थन गरेर शर्मालाई जिल्ला सभापतिमा हराइदिएका थिए।

विश्वप्रकाशलाई मात्र होइन, गगनलाई समेत काउन्टर गर्न सिटौलाले प्रदीपलाई आफ्नो कोटामा संस्थापन समूहको महामन्त्रीको टिकट दिलाए। 

१३ औँ महाधिवेशनमा तेस्रो धारका रूपमा उदाएको सिटौलाको प्यानलबाट गगन महामन्त्रीको उम्मेदवार बनेर हारेका थिए। 

तेस्रो धारको शक्ति भन्दै देउवा र पौडेलसँग सिटौलाले बार्गेनिङ बाहिरिएका बेला सिटौला त्यही बेला थापाले आफ्नो समूह छाडेकामा रुष्ट थिए। 

आफूलाई साथ नदिएकै कारण थापा उठ्ने पदमा सिटौलाले देउवा प्यानलबाट कोटा लिएका थिए। जसरी पनि महामन्त्रीको कोटा लिएर शर्मा र थापालाई देखाइदिने सिटौलाको रणनीति फेल खायो।

तेह्रौं महाधिवेशनमा सभापतिमा पराजित सिटौलाले चौधौं महाधिवेशनमा राजनीति हार भोग्दा गगन र विश्वप्रकाशले महामन्त्रीमा हल बाँधेर नेतृत्वमा पुग्ने खाका कोरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .