राजनीति


माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा नलगिने

प्रचण्डको आग्रहपछि रोकिए प्रधानमन्त्री
माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा नलगिने

फाइल तस्बिर


सागर न्यौपाने
पुस ४, २०७८ आइतबार १३:४४, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अगाडि अमेरिकी आर्थिक सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अघि नबढ्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सम्मेलनअघि एमसीसी अघि नबढाउने सहमति जनाएको माओवादी केन्द्रका एक नेताले दाबी गरेका छन्। 

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा त्यसबारे केही समझदारी भएको ती नेताले ठोकुवा गरे।

शुक्रबार पनि देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। 

‘माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी अघि बढ्दैन, प्रधानमन्त्री देउवाले त्यसबारे समझदारी गर्नुभएको छ,’ प्रचण्डनिकट ती नेताले भने।

एमाले र नेपाली कांग्रेसको महाधिवेशनभरी अघि नबढेको एमसीसी माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा जुटिरहँदा अघि बढाउन नहुने विषयमा प्रचण्डले देउवालाई सहमत गराएको उनले जानकारी दिए।

‘अरु पार्टीका महाधिवेशनभरी कुरै नहुने, अनि माओवादीकै राष्ट्रिय सम्मेलनकै छेउमा एमसीसी अघि बढाउने कुरा अहिले मान्न सकिदैँन, त्यही कुरा प्रचण्डले प्रधानमन्त्रीलाई भन्नुभयो, त्यसमा देउवाले समर्थन जनाउनुभएको छ,’ उनले थपे ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट एमसीसी लगायतका विषयमा एउटा धारणा बाहिर ल्याउने तयारी छ ।

‘हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनबाट एमसीसीबारे एउटा धारणा बाहिर ल्याउँछौँ,’ अर्का स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘सम्मेलनबाट जे कुरा बाहिर ल्याउँछौँ, अनि मात्रै अघि बढाउने विषयमा छलफल हुन्छ ।’

उता मंगलबार बस्ने संसद बैठकबाट एमसीसी अगाडि बढाउने तयारी छ ।

त्यसका लागि प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

अवरुद्ध संसद बैठक खुलाउने विषयमै समझदारी कायम राख्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री देउवानिकट स्रोतले जनाएको छ ।

यदि संसद खुलाउन नेकपा एमाले तयार भए एमसीसीबारे के गर्ने विषयमा छलफल गर्ने तयारी थियो । 

सर्वदलीय बैठक अगाडि सत्ता गठबन्धनको बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा एमसीसीलाई माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि अगाडि नबढाउने समझदारी बनाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

प्रचण्डको आग्रहपछि रोकिए देउवा ?
प्रधानमन्त्री देउवाले मंसिर २८ गतेकै संसद बैठकमा एमसीसी अगाडि बढाउन चाहेका थिए । तर, कांग्रेसको महाधिवेशन र देउवा आफैँ चुनावमा खटिएकाले त्यो दिन एमसीसी संसदमा टेबल भएन । 

महाधिवेशनबाट देउवा कांग्रेसको सभापति पदमा निर्वाचित भएपछि उनले एमसीसीलाई अगाडि बढाउन चाहे ।

एमालेले समेत एमसीसी पास गर्न देउवालाई सघाउने प्रतिवद्धता जनाएपछि देउवा पनि एमसीसी संसदमा पेश गर्ने योजनामा लागे । 

त्यही सूचना बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डले देउवालाई भेटे ।

शुक्रबार बालुवाटार पुगेर प्रचण्डले देउवालाई भने, ‘अहिलेको आवश्यकता संसद बैठक खुलाउने हो। एमसीसीको विषय माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि कुरा गर्न सकिँदैन,

सम्मेलनबाट हाम्रो धारणा सार्वजनिक गछौं,’ देउवासँग प्रचण्डले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईँहरूको राष्ट्रिय सम्मेलनअघि बढ्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad