राजनीति


प्रदेश २ मा कांग्रेस निर्वाचन : देउवा पक्ष हराउन निधि–कोइराला एकजुट

प्रदेश २ मा कांग्रेस निर्वाचन : देउवा पक्ष हराउन निधि–कोइराला एकजुट

फाइल तस्बिर : प्रदेश २ मा कांग्रेसको नेतृत्वका लागि देउवा पक्षका उम्मेदवार कृष्ण यादव र निधि पक्षका उम्मेदवार रामसरोज यादव।


शैलेन्द्र महतो
पुस ६, २०७८ मंगलबार १०:५५, काठमाडौँ

प्रदेश २ मा आफ्नो नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसले आज (मंगलबार) निर्वाचन प्रक्रिया सुरु गर्दै छ। 

कांग्रेसको ७२ सदस्यीय प्रदेश समिति चयन गर्न आज जनकपुरधाममा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। 

जनकपुरस्थित गोपालधर्मशालमा बिहान ११ बजेदेखि मनोनयन दर्ता हुने तालिका रहे पनि केही क्षेत्रबाट मतदाता नामावली आइनसकेकाले समय केही पर सर्नसक्ने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए।

मतदान भने भोलि बुधबार हुने उनले जानकारी दिए। 

देउवाविरुद्ध निधि-काेइराला एकजुट
पार्टी नेतृत्वले प्रदेश २ मा सर्वसहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरे पनि असफल भएपछि निर्वाचन गर्न लागिएकाे हाे। 

पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार रौतहट जिल्लाका सभापति कृष्ण यादव र हालै सभापतिमा नराम्ररी हारेका पूर्वउपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले  प्रदेश नेतृत्वका लागि  सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रदेश २ मा देउवाका उम्मेदवारलाई जित्न नदिन शेखर कोइराला पक्षले निधिका उम्मेदवार रामसरोज यादवलाई समर्थन गर्ने जनाएको छ। तर औपचारिक घोषणा भएको छैन।

प्रदेश २ का ६४ प्रदेश निर्वाचन क्षेत्रबाट झण्डै २ हजार प्रतिनिधि मतदानमा भाग लिँदै छन्। एक निर्वाचन क्षेत्रबाट ६० जना प्रतिनिधि छनोट गरिएको कांग्रेस एक नेताले जानकारी दिए। 

कांग्रेसका शीर्ष नेता जनकपुरमा 
आआफ्ना पक्षलाई जिताउन कांग्रेसका शीर्ष नेता जनकपुरमा भेला भइरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा पक्षका नेताहरु गृहमन्त्री बालकृष्ण खाँण, चित्रलेखा यादव, रमेश रिजाल, फर्मुला मन्सुर, उमाकान्त चौधरी, महेन्द्र यादवलगायय नेता जनकपुर आइसकेका छन् भने निधि पनि आफ्ना उम्मेदवार जिताउन जनकपुरमा सक्रिय छन्। 

शेखर कोइराला, गगन थापालगायत नेता पनि आज जनकपुर आउने एक नेताले जानकारी दिए। 

केही जिल्लाका क्षेत्रबाट प्रतिनिधि छनोट हुन नसक्दा यही पुस ६ (आज) र ७ गते निर्वाचन गर्नेगरी कांग्रेसको प्रदेश २ अधिवेशन बीचमै रोकिएको थियो। अधिवेशनको उद्घाटन यसअघि नै सम्पन्न भइसकेको छ। 

यो पनिकांग्रेस महाधिवेशन : १३४ पदमध्ये अहिलेसम्म ६२ जना विजयी (नामसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .