राजनीति


सार्क महासचिव विराकुन बुधबार पाकिस्तान जाँदै, ठप्प सार्क प्रक्रियाबारे छलफल होला?

सार्क महासचिव विराकुन बुधबार पाकिस्तान जाँदै, ठप्प सार्क प्रक्रियाबारे छलफल होला?

सन्तोष घिमिरे
पुस ६, २०७८ मंगलबार १८:१९, काठमाडौँ

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव एसला रुवान विराकुन बुधबार पाकिस्तान भ्रमणमा जाने भएका छन्। 

भारत र पाकिस्तानबीचको टकरावले सार्क प्रक्रिया ठप्प भइरहेका बेला सार्क महासचिवको पाकिस्तान भ्रमण हुन लागेको हो। 

पाकिस्तानी विदेश मन्त्रालयका अनुशार सार्क महासचिवले चार दिन पाकिस्तानमा रहँदा प्रधानमन्त्री इमरान खान, विदेशमन्त्री शाह महम्मुद कुरेसी र वरिष्ठ सरकारी अधिकारीसँग भेट्नेछन्। 

सार्क महासचिवको भ्रमणले पाकिस्तानलाई सार्कका उद्देश्य र सिद्दान्तप्रति पाकिस्तानको प्रतिबद्दता दोहोर्याउनका लागि अवसर प्रदान गर्ने पाकिस्तानी बिदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ। 

‘सार्कसँगको पाकिस्तानका सहकार्यका विभिन्न क्षेत्रबारे पाकिस्तानका दृष्टिकोण प्रस्तुत गर्न पनि मौका मिल्नेछ। त्यसका अलावा पाकिस्तानले क्षेत्रीय शान्ति, सुरक्षा र विकासका लागि चालेका कदमलाई प्रकाश पार्न पनि यो भ्रमण महत्वपूर्ण छ’ पाकिस्तानी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ। 

श्रीलंकाका पूर्वविदेश सचिव विराकुन गत मार्चमा सार्क महासचिवको पदमा वहाली गरेका थिए। उनी सार्कका १४ औं महासचिव हुन्। त्यसयता उनी पहिलोपटक पाकिस्तान भ्रमण गर्दैछन्। 

गत अगस्टमा उनले भारत भ्रमण गरी भारतका विदेशराज्यमन्त्री रन्जन सिंह, विदेशसचिव हर्ष श्रृङ्गला लगायत उच्च अधिकारीसँग भेटी अबरुद्द सार्क प्रक्रियाबारे छलफल गरेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग चाहीँ भेट गर्न पाएनन्।

सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन्। 

नेपालले सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन आयोजना गर्‍याे। सार्कका शीर्ष नेताबीच १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा आयोजना गर्ने सहमति भयो। तर, भारत र पाकिस्तानबीचको मनमुटावले सार्क शिखर सम्मेलन सात वर्षयता हुन सकेको छैन।  

शिखर सम्मेलनका लागि सबै सदस्य मुलुक तयार भए पनि उरीस्थित भारतीय सैनिक अड्डामा आतंकवादी हमला भएपछि भारतले त्यसको दोष पाकिस्तानलाई लगायो। त्यसयता भारतले सार्क शिखर सम्मेलन आयोजना हुन नसक्नुमा पाकिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले  चाहिँ भारतको गैह्रजिम्मेवारीपनका कारण सार्क मृतप्रायः बनेको बताउँदै आएको छ। 

भारत—पाकिस्तानबीचको दुश्मनी, कस्मिर विवाद र सीमापार आतंकवादका विषयमा रहेका मतभेदका कारण विगतमा पनि सार्क शिखर सम्मेलन प्रभावित भएका थिए। छिटफुटबाहेक सार्कका विभिन्न संयन्त्रका बैठक हुन सकेका छैनन्। 

पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके अब रोलक्रम अनुसार श्रीलंकाको पालो आउँछ। पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन सक्दैन भने श्रीलंकामा आयोजना गरेर भए पनि सार्कलाई गति दिन पहल गर्नुपर्ने क्षेत्रीय मामिला विज्ञहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .