ad ad

राजनीति


कार्यकर्ता किन चाहँदैनन् माओवादीमा प्रचण्डको विकल्प?

‘फुटेका माओवादी प्रचण्डले जुटाउँछन् अनि पुस्तान्तरण हुन्छ’
कार्यकर्ता किन चाहँदैनन् माओवादीमा प्रचण्डको विकल्प?

विभिन्न जिल्लाबाट आएका माओवादीका महाधिवेशन प्रतिनिधिहरु


केशव सावद
पुस १२, २०७८ सोमबार १८:४८, काठमाडौँ

सशस्त्र संघर्ष गरेर नेपालको राजनीतिमा उदाएको नेकपा माओवादी केन्द्र अहिले आठौं महाधिवेशनमा व्यस्त छ।

आइतवारदेखि आठौं महाधिवेशनमा होमिएको माओवादी अहिले नीति र नेतृत्वको बहसमा होमिँदा अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प देखिएका छन्। 

नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी माओवादीको आठौं महाधिवेशनमा प्रचण्ड अध्यक्षका रुपमा निर्विकल्प देखिएका हुन्। 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनलाई माओवादीले नेतृत्व परिवर्तनको मैदान भने पनि दाहाल अध्यक्षमा दोहोरिने निश्चित देखिएको छ।  

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरु प्रचण्डको विकल्प नभएको बताइरहेका छन्। 

माओवादीले थालेको आन्दोलनलाई समाजवादी दिशामा अगाडि बढाउन र नेपालमा वैज्ञानिक समाजवाद लागु गर्ने रणनीति तर्जुमा गर्न प्रचण्डको विकल्प नभएको उनीहरुको दाबी छ। 

‘अरुले ७० वर्षमा सकेनन्, प्रचण्डले १० वर्षमै गरे’ 
अन्य राजनीतिक दलहरुले ७० वर्षमा पनि आर्जन नगरेको कुरा प्रचण्ड नेतृत्वको आन्दोलनले १० वर्षमै हासिल गरेकाले पनि उनको विकल्प नभएको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का बताउँछन्। 

‘प्रचण्डप्रति कसैले रिस, डाहा गरेर हुँदैन। अरुले ७० वर्षमा पनि आर्जन नगरेको कुरा उनले १० वर्षमै प्राप्त गरे। नेपाली राजनीतिलाई छोटो समयमै कायापलट गराएको कुरो त घाम जत्तिकै छर्लङ्गै छ नि,’ उनले भने, ‘अहिले आन्दोलनलाई समाजवादी दिशामा अगाडि बढाउन र वैज्ञानिक समाजवाद कायम गर्ने रणनीति तर्जुमा गर्न उहाँको नेतृत्वको अनुभवको निरन्तरता जरुरी छ।’ 

तत्कालीन रुपमा समाजवाद उन्मुख कार्यदिशा के हुन सक्छ, कार्यनीति के हुन सक्छ भन्ने कुराका लागि प्रचण्डको विकल्प नदेखिएको दोलखाबाट महाधिवेशन प्रतिनिधि समेत रहेका मन्त्री खड्काले जिकिर गरे।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मानबहादुर विश्वकर्मा पनि आठौँ महाधिवेशनमा पार्टीको नेतृत्व चयन हुँदा अध्यक्षमा प्रचण्डको विकल्प देख्दैनन्।

उनले भने, ‘अहिलेको लागि उहाँको विकल्प छैन।’

उत्तराधिकारी तयार नभएर विकल्प छैन भन्ने निष्कर्षमा पुग्नुभएको हो भन्ने प्रश्नमा मन्त्री सुनारले भने, ‘विकल्प नहुने भन्ने हुँदैन। हरेक कुरामा हुन्छ। हामीसँग नेतृत्वका लागि पनि विकल्प तयार छ।’

प्रचण्डको राजनीतिक उत्तराधिकारी तयार भइनसकेका कारण माओवादीले उनको विकल्प नदेखेको टिप्पणी पनि भइरहेको छ। तर, उनी उक्त टिप्पणी उचित नभएको जिकिर गर्छन्।

‘उत्तराधिकारी नबन्ने कुरा हुँदैन। दोस्रो, तेस्रो पुस्ताका नेता तयार हुनुहुन्छ,’ सुदूरपश्चिम प्रदेशका मन्त्री सुनारले भने, ‘तर, अहिलेको अवस्थामा पार्टीभित्र उहाँलाई कुनै पनि अवस्थामा नेतृत्व छोड्न हुँदैन भन्ने प्रेसर छ।’ 

‘फुटेका माओवादी प्रचण्डले जुटाउँछन् अनि पुस्तान्तरण हुन्छ’
कास्कीबाट महाधिवेशन प्रतिनिधि रहेकी संघीय सांसद दुर्गा कुमारी विश्वकर्मा विगतमा माओवादीबाट चोइटिएर गएकाहरूसँग एकता गर्ने योजना रहेका कारण तत्कालका लागि पार्टीमा प्रचण्डको विकल्प नभएको तर्क गर्छिन्।

‘माओवादीमा प्रचण्डपछि नेतृत्व तयार नभएको होइन। बीचमा फुटका कारण पार्टीमा थोरै समस्या देखियो,’ उनले भनिन्, ‘अहिले प्रचण्डको आवश्यकता किन छ भन्दा हिजो यही पार्टी फुटेर जाने सबैलाई समेटेर एकता गर्ने योजना छ। यसपछि सबैलाई मिलाएर पुस्तान्तरण हुन्छ।’ 

नेपालका सबै कम्युनिस्टबीच एकता गरेर कम्युनिष्ट क्रान्तिलाई अगाडि बढाउन प्रचण्ड उत्तम पात्र रहेका माओवादीको निष्कर्षसमेत रहेको महाधिवेशन प्रतिनिधि तर्क गर्छन्। 

कञ्चनपुरबाट आएका महाधिवेशन प्रतिनिधि देवेन्द्र ढुंगाना क्रान्तिको कार्यभार पूरा गर्न पनि प्रचण्डको विकल्प तत्कालका लागि नभएको दाबी गर्छन्। 

‘किनकी विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा नेपालको वामपन्थी आन्दोलनलाई केन्द्रीकृत गर्न, सम्पूर्ण कम्युनिस्टबीच एकता गरेर क्रान्तिलाई अगाडि बढाउन पनि प्रचण्ड उत्तम पात्र हुनुहुन्छ भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने।  

प्रचण्डले नयाँ विचार ल्याए, उनै नेता
माओवादीमा विचारको संकट परिरहेका बेला अध्यक्ष प्रचण्डले महाधिवेशनमा नयाँ नीति पेश गरेकाले उनको विकल्प नदेखिएको प्रदेश १ का प्रदेश कमिटी सदस्य वीरेन्द्र बस्नेतको भनाइ छ। 

‘यो महाधिवेशनमा प्रचण्डको विकल्प देखिएन किन भने हामीलाई एउटा विचारको संकट परिरहेको थियो। त्यो विचारको संकटको समाधान गर्ने गरी महाधिवेशनमा अरु कुनै दृष्टिकोण आएन,’ उनले भने, ‘प्रचण्डकै दस्तावेज आयो। जसको दस्तावेज आउँछ, जसको दस्तावेज पास हुन्छ, नेता त उसैलाई मान्नुपर्यो।’

महाधिवेशनमा क्रान्तिकारीहरुले कसको नीति आउँछ भन्ने विचार गर्नुपर्ने भन्दै बस्नेतले थपे, ‘जसको नीति आउँछ, उही नेतृत्वमा आउँछ।’ 

कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि रहेकी कौशिला ओझाले माओवादीलाई इतिहास बोकेको पार्टीको रुपमा चित्रित गर्दै सम्पूर्ण राष्ट्रको हित गर्ने जिम्मेवारीसहितको नेतृत्व चाहिएको बताइन्।

‘राष्ट्रवादी, जनताप्रति उत्तरदायी सक्षम नेतृत्व हामीले खोजेका छौं,’ उनले भनिन्।  

संघर्ष र बलिदानीबाट बनेको संविधानलाई संस्थागत गर्ने प्रमुख दायित्व माओवादीको रहेको ओझाले जिकिर गरिन्। 

‘संविधानमा समेटिएका सम्पूर्ण कुराहरुलाई संस्थागत गर्न देशका सबै राजनीतिक दलहरुबीच एकता कायम गरेर प्रतिगमनविरुद्ध कसरी लड्ने भन्ने विषयमा जोश, जाँगर साथ विचार र सिद्धान्तमा अडिग रहने विचार नेतृत्वले ल्याउनुपर्छ,’ उनले महाधिवेशनको अपेक्षा सुनाइन्।   

माओवादीको जारी महाधिवेशनले नयाँ क्रान्तिकारी पार्टी, नयाँ कार्यदिशा निर्माण गरेर समाजवादी आन्दोलन कसरी गर्ने, नेपालमा समाजवादको मोडल के हुने भन्ने कार्यदिशा ल्याउन लागेको कञ्चनपुरका नेता ढुंगाना बताउँछन्। 

यो महाधिवेशनबाट तय गर्न लागिएको नयाँ कार्यदिशा माओवादी आन्दोलन मात्रै नभएर नेपालका सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्ने कोशेढुंगा सावित हुने उनको दाबी छ। 

नयाँ क्रमभंग आवश्यक छ
प्रदेश १ कमिटी सदस्य रहेका झापाका नेता बस्नेत अब माओवादीको काँधमा अहिलेको राजनीतिक कोर्सलाई फरक ढंगबाट लैजाने गरी महाधिवेशनले कार्यदिशा तय गर्नुपर्ने जिम्मेवारी आएको बताउँछन्।  

‘जनयुद्धको थालनी, २०६२/०६३ को जनआन्दोलन र गणतन्त्र स्थापनादेखि यहाँसम्म आइपुग्दा राजनीतिलाई एउटा कोर्सबाट अर्को कोर्समा लैजानुपर्ने आवश्यकता टड्कारो रुपमा आइसक्यो,’ उनले भने, ‘माओवादी घट्दै घट्दै जानु समाजको संकट हो। समाजको संकटलाई हल गर्न अब माओवादीले अहिलेसम्मको निरन्तरतालाई ब्रेक गरेर नयाँ निरन्तरतामा जानुपर्छ।’

नयाँ निरन्तरता भनेको के हो भन्ने प्रश्नमा युवा नेता बस्नेत थप्छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको ब्याज खाएर अब पुग्दैन। अब हाम्रो पार्टीले ल्याउने नीति–कार्यक्रममा समृद्धिको एजेन्डा हुनुपर्छ। स्थायित्वको एजेन्डा हुनुपर्छ। अस्थिरता समाधान गर्ने गरी राज्यको थोर–बहुत पुनर्संरचना र राज्य सञ्चालन प्रणालीमा पुनर्संरचनासहितको दस्तावेज आउनुपर्छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .