ad ad

राजनीति


महामन्त्रीको कार्यकारी भूमिकामा विश्वप्रकाश र गगनबीच ‘जेन्टलम्यान एग्रिमेन्ट’

गुटग्रस्त कांग्रेसलाई बलियो बनाउने चुनौती
महामन्त्रीको कार्यकारी भूमिकामा विश्वप्रकाश र गगनबीच ‘जेन्टलम्यान एग्रिमेन्ट’

फाइल तस्बिर


केशव सावद
पुस १४, २०७८ बुधबार १५:८, काठमाडौँ

नेपाली कांग्रेसका सिनियर नेतामाथि नै प्रश्न गरेर स्थापित युवा नेताद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा अहिले आफैँ जवाफ दिने ठाउँमा पुगेका छन्।

पार्टीलाई विधि–विधानअनुसार सञ्चालन गर्नुपर्ने भन्दै नेतृत्वमाथि खबरदारी गर्दै आएका उनीहरू १४ औँ महाधिवेशनबाट महामन्त्री भएका हुन्। 

महामन्त्री बनेपछि शर्मा र थापाको भूमिकाले आगामी दिनमा कांग्रेस सशक्त पार्टीका रुपमा आउने युवा पुस्ताका नेता–कार्यकर्ताले अपेक्षा गरेका छन्।

उनीहरुको अपेक्षा पूरा गर्नकै लागि शर्मा र थापाले विधानअनुसार निर्वाह गर्नुपर्ने कार्यकारी भूमिका ‘आलोपालो’ प्रणाली अपनाउने समझदारी गरेका छन्। 

पुस १० गतेको केन्द्रीय कार्यसमिति बैठकअघि उनीहरुले महामन्त्रीको कार्यकारी भूमिका ‘आलोपालो’मा निर्वाह गर्ने समझदारी गरेको महामन्त्री शर्मानिकट एक नेताले बताएका छन्। 

‘पार्टीमा गर्नुपर्ने सुधार गरुन्, नमिलेका पाटा मिलाऊन्, पार्टी बलियो बनाऊन् भनेर कार्यकर्ताले राखेका अपेक्षा पूरा गर्नुपर्ने कर्तव्यबोध गरेर आलोपालो सहमति गर्नुभएको हो,’ शर्मानिकट ती

नेताले भने, ‘यो कुनै औपचारिक अथवा कागजी सहमति होइन। उहाँहरूबीच यो ‘जेन्टलम्यान एग्रिमेन्ट’ हो।’ 

चुनौती

कांग्रेस नेता–कार्यकर्ताले महामन्त्रीद्वय शर्मा र थापाबीच वैमनस्यता उत्पन्न भएको हेर्न चाहेका छैनन्। त्यहीकारण पनि उनीहरुलाई सहमतिसाथ अगाडि बढ्न दबाब बढेको छ। 

कार्यकारी भूमिकामा पुग्नुअघि विशेष गरी थापाले पार्टी रुपान्तरण र पुस्तान्तरणको पक्षमा ‘चर्का’ भाषण गर्दै आएका थिए। कार्यकारी भूमिकामा पुगेपछि उनलाई आफ्नो भाषण कार्यान्वयन गर्नुपर्ने दबाब बढेको छ। 

जसकारण पनि थापालाई अर्का महामन्त्री शर्मासँग सहकार्य गरेर महाधिवेशनअघिका एजेन्डा कार्यान्वयन गर्नुपर्ने दबाब बढेको नवनिर्वाचित एक पदाधिकारी बताउँछन्।

‘कार्यकर्ताले दुईबीच झगडा भएको सुन्न चाहेका छैनन्। उहाँहरूसँग आवश्यकताभन्दा बढी अपेक्षा छ। अर्कातिर मिलेर जाने दबाब पनि’ ती पदाधिकारीले भने, ‘पार्टीको एउटा तप्का हेरौँला नि भनेर बसेको छ। दुवैमाथि उनीहरुमा पलाएको ईर्ष्या चिर्नु पनि छ।’

विगतका क्रियाकलापले शर्मा र थापाले एकअर्कालाई साथ र सहयोग दिँदै आएका कारण पनि आगामी दिनमा महामन्त्रीद्वयबीच सहकार्य हुनेमा ती पदाधिकारी ढुक्क छन्। 

महाधिवेशनको मैदानबाट शर्माले कांग्रेसका प्रतिनिधिहरूसँग एक मत आफूलाई र एक मत थापाका लागि मागेको भिडिओ सार्वजनिक भएको थियो। यद्यपि, शर्मा र थापा फरक–फरक प्यानलबाट महामन्त्रीको प्रतिष्पर्धामा थिए। 

सहिष्णु
यस्तै २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शर्मा र थापाले छुट्टाछुट्टै भिडिओ सन्देश जारी गरेर एकअर्कालाई मत मागेका थिए।  

महामन्त्री शर्माले पनि पार्टीलाई बलियो बनाउन अर्का महामन्त्री थापासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिक्रिया दिए।  

‘संगठन राम्रो बनाउने कुरामा मिलेर जानु त सकारात्मक कुरा हो,’ उनले नेपालखबरसँग भने, ‘सकेको साझा अभिष्ट पूरा गर्नु छ, पार्टी बदल्नु र बलियो बनाउनु छ। हामी सहकार्य गरेर जान्छौं।’

दुई नेताबीचको द्वन्द्वबाट ग्रसित र एकताबाट विकसित भएको कांग्रेसको इतिहास छ। स्थापनाकालबाटै कांग्रेसमा गुटको प्रभाव रहँदै आएको पृष्ठभूमिमा महामन्त्रीद्वयको सहकार्यले युवापुस्ताको आशा र भरोसा निर्धारण गर्नेछ।

दुवैको वाचा

महामन्त्रीमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको प्रतिक्रिया दिएका थिए। एउटा समूहबाट चुनाव लडे पनि सिंगो पार्टीको महामन्त्री भएकाले सबैलाई समेट्ने उनले बताएका थिए। 

‘यो मतप्रति मैले न्याय गर्नुपर्छ। मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन,’ महामन्त्रीमा निर्वाचित भएकै दिन सानेपामा थापाले भनेका थिए, ‘म अझै ​इमान्दारीपूर्वक र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु।’

यस्तै निर्वाचित भएकै दिन महामन्त्री शर्माले सुन्दरीजल पुगेर संस्थापक नेता बीपी कोइरालाको परिकल्पनाअनुसार कांग्रेसलाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए। 

सबैको साथ र सहयोगले आफूलाई महामन्त्रीको जिम्मेवारीमा पुर्‍याएको बताउँदै उनले सिंगो कांग्रेसलाई रूपान्तरित गर्न नयाँ ढंगले यात्राको प्रारम्भ भएको दाबी गरेका थिए। 

‘यो एउटा व्यक्तिको जित होइन, गुटको विजय पनि होइन। सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ शर्माले भनेका थिए, ‘फरकफरक विचार समूहका सबै साथीको मतले जित्नु भनेको सिंगो कांग्रेसलाई ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ को भावनामा गाँस्नु हो। त्यही भावनासहित काम गर्नेछु।’

नेविसंघदेखि राजनीति

२०२७ सालमा जन्मिएका शर्माले मेची क्याम्पसदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए। राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केका शर्मा २०४८ पछि नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ सालमा अध्यक्ष बनेका थिए। 

नेविसंघको इतिहासमा २ वर्षे कार्यकालभित्रै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेका शर्मा संसदीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न भने सफल हुन सकेका छैनन्। 

नेविसंघबाटै विद्यार्थी राजनीति गरेर २०५९ मा महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका अर्का महामन्त्री थापा युवामाझ् लोकप्रिय छन्। २०६२÷०६३ को जनआन्दोलनपछि थापा मुलुकको राजनीतिमा सम्भावना बोकेको युवाका रूपमा उदाएका थिए।

नेविसंघको अध्यक्षको सपना पूरा नभए पनि समानुपातिकबाट संविधानसभा सदस्य बनेका थापा १२ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य भए। १३ औँ महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्री उठेका थिए। 

पार्टीलाई देखिने र सुनिने बनाउन नेतृत्व परिवर्तनको पक्षमा उभिएका थापा सभापति शेरबहादुर देउवाविरोधी समूहमा गोलबद्ध हुँदै १४ औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उठेका थिए। 

के के गर्न पाउँछन्?

२०७५ फागुनमा संशोधित कांग्रेसको विधानअनुसार महामन्त्रीको मातहतमा केन्द्रीय कार्यालय हुन्छ। केन्द्रीय कार्यालयसँगै कांग्रेसमा पेचिलो बन्ने गरेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मा पनि महामन्त्रीको हुने विधानमा व्यवस्था छ। 

विधानको दफा २७ (९) बमोजिम सदस्यहरुको अभिलेख विवाद समाधानको जिम्मा पनि महामन्त्रीलाई छ। विवाद टुंग्याउने मात्रै नभएर क्रियाशील सदस्यता तत्काल बाँड्न सक्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ। 

विधानको दफा २७ (११) मा भनिएको छ, ‘योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने।’ 

विधानको दफा ४ (९) अनुसार महामन्त्रीको संयोजकत्वमै सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन हुने प्रावधान छ। दुई महामन्त्रीमध्ये एकजनालाई समितिको संयोजकका रुपमा सभापतिले तोक्ने व्यवस्था छ।

‘सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा केन्द्रीय कार्यसमितिले तीनजना केन्द्रीय सदस्य रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्नेछ,’ विधानको दफा ४ (९) (क) मा भनिएको छ, ‘उक्त समितिले देशभरका सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन तथा आवश्यक निर्देशन दिने काम गर्नेछ।’

सदस्यता मात्र होइन, केन्द्रीय कार्यसमितिदेखि महाधिवेशनसम्म पनि महामन्त्रीले नै प्रस्ताव र प्रतिवेदन पेश गर्ने तथा पार्टीभित्रका केन्द्रीयस्तरका सबै संयन्त्रको निर्णय कार्यान्वयन गराउने जिम्मा पनि महामन्त्रीलाई हुने व्यवस्था विधानमा छ।

विधानको व्यवस्था

(१) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने छ। महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ। 

(२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महामन्त्रीको हुनेछ। 

(३) दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्‍याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारी सुझाव दिने।

(४) पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरिवेक्षण गर्ने÷गराउने। 

(५) पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने। 

(६) केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने। 

(७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने। 

(८) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने। 

(९) नेपाली कांग्रेसको सदस्यताबारे धारा ४ को उपधारा ९ बमोजिमको कार्य गर्ने गराउने। 

(१०) पार्टीमातहत निकायलाई पार्टी निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने। 

(११) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने। 

(१२) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .