ad ad

राजनीति


आठ नागरिक अगुवाले भने : मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गरियोस्

अर्को गौर हत्याकाण्ड दोहोर्‍याउने चेतावनी दिएकी थिइन्
आठ नागरिक अगुवाले भने : मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गरियोस्

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १२:५६, काठमाडौँ

तराई-मधेसमा राजनीतिक अभियानलाई तीव्र बनाइरहेका चन्द्रकान्त 'सीके' राउतलाई लक्षित गर्दै अर्को गौर नरसंहार गराउने धम्कीपछि विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदबाट हटाउन दबाब बढेको छ।

यही बुधबार रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधनका क्रममा यादवले व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति  दिएकोप्रति आठजना नागरिक अगुवाहरुले पनि आपत्ति जनाएका छन्।

यसरी वक्तव्य निकाल्नेहरूमा डा. केदानरनरसिंह केसी,  चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित रहेका छन्।

'बहालवाला मन्त्रीले व्यक्ति  हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वसाथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो', उनीहरुले भनेका छन्, 'मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ।'

उनीहरुले यसले मुलुकमा कानुनको शासन कायम छ भन्ने कुरामा पनि प्रश्न उठेको बताएका छन्। 'मन्त्री यादवलाई कारबाही गरेर देशमा कानुनी शासनको अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो। यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ', विज्ञप्तिमा भनिएको छ, 'अत: हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी  कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ ।'

चर्चित 'गौर हत्या काण्ड' २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा गराइएको सामूहिक हत्याकाण्ड थियो।

त्यस घटनामा माओवादी समर्थक २८ जनाले अनाहकमा जीवन गुमाएका थिए। नागरिक अगुवाहरुले उक्त हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको पनि बताएका छन्।

समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा उनी आवद्ध दलको समेत सहभागिता भएको स्वीकारेको पनि उनीहरुले बताएका छन्।

मन्त्री रेणु यादवलाई हटाउनपर्‍यो कि कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नपर्‍यो : योगेश भट्टराई

मन्त्री यादवले माघ ५ गते आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतको नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।

'मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वत: स्पष्ट हुन्छ', वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .