राजनीति


प्रधानमन्त्रीले भने : एमसीसीमा सघाउनुस्, ओलीको जवाफ : हाम्रा माग पूरा भएकै छैनन्

प्रधानमन्त्रीले भने : एमसीसीमा सघाउनुस्, ओलीको जवाफ : हाम्रा माग पूरा भएकै छैनन्

बालुवाटारमा भेटवार्तापछि बिदा हुँदै एमाले अध्यक्ष ओलीसहितका नेता


नेपालखबर
फागुन १०, २०७८ मंगलबार २१:४९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार संसदमा टेबुल भएको एमसीसी सम्झौता पास गर्नका लागि सघाउन प्रस्ताव गरेका छन्।

मंगलबार साँझ बालुवाटार पुगेका ओलीसँग देउवाले गठबन्धनका दलहरुले एमसीसी पास गर्न असहयोग गरेको बताउँदै एमालेको साथ खोजेका हुन्।

'अध्यक्ष कमरेडसँग प्रधानमन्त्रीको पहिलो र मुख्य प्रस्ताव नै एमसीसीमा सघाउनु भन्ने थियो', एमाले उपमहासचिव विष्णु रिमालले नेपालखबरसँग भने, 'उहाँले गठबन्धनबाट असहयोग भएको बताउँदै कांग्रेस-एमाले मिलेमा एमसीसी संसदबाट पास हुने कुरा राख्नु भएको छ।'

बालुवाटार भेटमा सहभागी रिमालका अनुसार एमसीसी अनुमोदनमा सहयोग गरेमा भोलिका दिनमा कांग्रेस-एमाले सहकार्य अघि बढाउन सकिने कुरा पनि प्रधानमन्त्रीले राखेका थिए। 

देउवाको उक्त प्रस्तावबारे जवाफ दिँदै ओलीले संसदबारे आफूहरुले गत भदौदेखि राखिरहेको अडान दोहोर्‍याएका थिए। 

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले भेटका क्रममा एमालेले कारबाही गरेका १४ सांसदबारे पहिले सभामुखले सूचना टाँसेपछि सबै गतिरोध तोडिने बताएका थिए। 

'हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले ६ महिनादेखि १४ सांसदमाथि गरिएको कारबाहीको सूचना सभामुखले टाँस्नुपर्ने मागहरु राखी सदनमा  उठाइरहेको आवाज स्मरण गराउनुभयो', रिजालले भने, 'एमालेको त्यो कारबाही अघि बढेमा एमसीसीसहित अन्य पनि विषय संसदीय प्रक्रियामा प्रवेश गर्न सक्ने कुरा दोहोर्‍याउनु भएको छ।'

ओली मंगलबार साँझ बालकोटमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग वार्ता गरेपछि देउवालाई भेट्न बालुवाटार पुगेका थिए। उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव कमरेड विष्णु रिमाल पनि थिए।

कांग्रेसबाट प्रधानमन्त्री देउवासँगै उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरु बालुवाटार वार्तामा सहभागी थिए। 

बेरीले पछिल्लो समय एमसीसी पासका लागि ओली र देउवालाई एक ठाउँमा उभ्याउने कोसिस गरिरहेका छन्। यस्तोमा ओलीले बालकोटमा बेरीसँग कुरा गरेर बालुवाटार पुगेका थिए।

ओली र देउवाबीच संसदमा एमसीसी पेस भएकै दिन भेट गर्ने तालिका थियो। 'उहाँहरुबीच आइतवारै भेट गर्ने तयारी थियो। तर विशेष कारणवश  त्यो दिन भेट सम्भव भएन', उपमहासचिव रिमालले भने, 'यसअघि प्रधानमन्त्री बालकोट आउनु भएको थियो। अहिले अध्यक्ष कमरेड बालुवाटार जानु भएको हो।'

आइतवार एमसीसीसम्बन्धी सम्झौता संसदमा प्रस्तुत नयाँबानेश्वर क्षेत्रमा चर्को विरोध भएको थियो। त्यसक्रममा प्रदर्शनकारीले ओली सवार गाडीमा पनि ढुंगा हानेका थिए।

ओलीले सोमबार काजी कालु पाण्डेको समाधिस्थल दहचोक पुगेर आइतवार प्रहरीमाथि प्रदर्शनकारीले गरेको आक्रमणको निन्दा गरेका थिए। 

एमसीसी संसदमा पुगेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पास गर्न नदिने बताइसकेका छन्। 

मंगलबार मात्रै देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको थियो।

त्यसअघि सोमबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका सबै शीर्ष नेताहरुसँग एमसीसीबारे वार्ता गरेका थिए। उनले गठबन्धनबाटै एमसीसी पास गरेर आगामी निर्वाचनसम्म जानुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad