भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा र अमेरिका लागि प्रस्तावित राजदूत डा. श्रीधर खत्रीको सम्बन्धित मुलुकबाट एग्रिमो (सहमति) आउन ढिलाइ भएको छ।
देउवा नेतृत्वको सरकारले कात्तिक दोश्रो साता शर्मा र खत्रीसँगै पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई पनि राजदूत सिफारिस गरेको थियो। गत मंसिर २१ मा संसदीय सुनुवाइ पुरा भएलगत्तै प्रस्तावित राजदूतको एग्रिमो सहमतिका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा पठाएको थियो।
बेलायतबाट सहमति प्राप्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत आचार्यलाई नियुक्त गरेकी थिइन्। आचार्यले गत बुधबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।
सामान्यतयाः सम्बन्धित मुलुकले तीन महिनाभित्र प्रस्तावित राजदूतको नाममा सहमति पठाउने गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन्। मन्त्रालयले भारतका लागि प्रस्तावित डा. शर्मा र अमेरिकाका लागि प्रस्तावित खत्रीको नाम सहमतिका लागि पठाएको तीन महिना बितेको छ।
‘मंगलबार साँझसम्म प्रस्तावित राजदूतद्वय शर्मा र खत्रीको सहमति आएको छैन। सायद आउने प्रक्रियामै होला,’ मन्त्रालयका एक अधिकारीले भने।
छिमेकी मुलुक भारतले सामान्य अवस्थामा तीन महिनाभित्र विदेशी मुलुकबाट प्रस्तावित राजदूतको नाममा सहमति दिने गरेको छ।
प्रस्तावित राजदूतको नाममा भारतीय विदेश मन्त्रालयका अलावा रक्षा मन्त्रालय, गृह मन्त्रालय, खुफिया एजेन्सी ‘रअ’ र राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालय लगायत निकायले पनि सहमति दिनुपर्ने हुन्छ।
‘भारतका सबै निकायले सहमति दिँदा केही बढी समय लगाएको हुनुपर्छ,’ जानकार अर्का अधिकारीले भने।
अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. खत्रीको नाममा सहमति आउन भएको ढिलाइप्रति भने सरकारी अधिकारीले आश्चर्य व्यक्त गरेका छन्।
‘अमेरिकाले सामान्य अवस्थामा दुई महिनाभित्र प्रस्तावित राजदूतको सहमति दिइसक्थ्यो। अहिले एमसीसी सम्झौताको संसदीय अनुमोदनमा नेपालमा भइरहेको ढिलाइले पनि कतै सहमति आउनमा पनि असर गरेको हो कि भन्ने आशंका गर्न सकिन्छ,’ परराष्ट्र स्रोतले भन्यो।
गत कात्तिकमा कूटनीतिक सम्बन्ध सञ्चालनमा विज्ञता हासिल गरेका व्यक्तिलाई भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेपछि सरकारको प्रशंसा भएको थियो। शर्मा, खत्री र आचार्य मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालनमा प्रत्यक्ष संलग्न भइसकेका व्यक्ति हुन्। यी तीनै जना नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस भएका हुन्।
विगतमा राजनीतिक भागबण्डामा नियुक्त राजदूतका योग्यता, अनुभव र व्यक्तिगत छविमाथि प्रश्न उठ्ने गरेका थिए। मुलुकको कूटनीति तथा परराष्ट्र सम्बन्धको सामान्य ज्ञान समेत नभएकालाई राजनीतिक भागबण्डाका आधारमा राजदूत पद बक्सिस दिने परिपाटी बसेको भन्दै सरकारको तीव्र आलोचना हुने गरेको थियो।
राजनीतिक दलमा आबद्ध या दलनिकट व्यापारी तथा बिचौलिया समेत राजदूत पदमा नियुक्त भएका उदाहरण छन्। परराष्ट्र सेवाबाट नियुक्त राजदूतको कार्यक्षमता र योग्यतामाथि यदाकदा आलोचना हुने गरेको भए पनि राजनीतिक कोटाबाट राजदूत नियुक्ति प्रक्रिया सधै विवादमा पर्ने गरेको छ। त्यस्तो अभ्यास तोड्दै देउवा नेतृत्वको सरकारले अहिले भारत, अमेरिका र बेलायतजस्ता नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण अर्थ राख्ने मुलुकमा जानकार तथा अनुभवीलाई राजदूत सिफारिस थियो।
शंकर शर्मा
भारतका लागि राजदूतमा सिफारिस भएका शर्मा ख्यातिप्राप्त अर्थविद् हुन्। शर्माले अमेरिकाको हवाई युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। सन् २००२ देखि २००६ सम्म उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए।
सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि नेपाली राजदूत रहँदा प्रभावकारी कूटनीति सञ्चालन गरेकोमा वाहवाही कमाएका थिए।
शर्माले पिसकोर भोलिन्टियर नेपालमा पुनः फर्काउन, अमेरिकी संसदमा नेपाल ‘ककस’ समूह खडा गर्न र अमेरिकासँग व्यापारसम्बन्धी द्विपक्षीय टिफा सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।
यस्तै त्यहाँस्थित नेपाली समुदायमाझ उनले राम्रो छवि बनाउन समेत सफल भएका थिए। त्यसबेला राजनीतिक कोटामा राजदूतको नियुक्ति पाएकामध्ये उत्कृष्ट ‘पर्फमेन्स’ देखाउने शर्मा पनि एक थिए।
श्रीधर खत्री
अमेरिकाका लागि राजदूत सिफारिस श्रीधर खत्री परराष्ट्रविद् हुन्। भूराजनीति, सैन्य कूटनीति तथा सामरिक मामिलामा उनीसँग राम्रो ज्ञान छ। उनी नेपाल—अमेरिका सम्बन्ध तथा अमेरिकी राजनीति बुझेका व्यक्ति हुन्।
पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत पदमबहादुर खत्रीका छोरा हुन् उनी। सैनिक पृष्ठभूमिका पदमबहादुरलाई तत्कालीन राजा वीरेन्द्रले सन् १९८२ मा परराष्ट्रमन्त्री नियुक्त गरेका थिए।
श्रीधर खत्री सन् २००१ देखि सन् २००२ सम्म परराष्ट्र मन्त्रालयअन्तर्गतको थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक थिए। खत्रीसँग त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गरेको अनुभव समेत छ।
त्यसअलावा खत्रीले काठमाडौँ र श्रीलंकामा रही विभिन्न थिंक ट्यांकको नेतृत्व गरेका थिए। उनले न्युयोर्कको कोलम्बिया विश्वविद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन्। उनी सन् १९८९ देखि १९९० सम्म बेलायतको प्रख्यात लन्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ स्कलर समेत थिए। खत्रीले भूराजनीतिक तथा सामारिक मामिलामा थुप्रै पुस्तकको लेखन, सहलेखन तथा सम्पादन गरेका छन्।
Shares
प्रतिक्रिया