राजनीति


३० वर्षीया नितुको मेयर बनेर नगर बदल्ने सपना

३० वर्षीया नितुको मेयर बनेर नगर बदल्ने सपना

३० वर्षीया नितु खड्का भन्छिन— युवाले चाहे परिवर्तन सम्भव छ


राधिका अधिकारी
फागुन १२, २०७८ बिहिबार ८:५९, काठमाडौँ

‘विवाह गर्ने उमेरकी एउटी छोरी आफ्नो सपना छाडेर समाज विकासको सपनासँग जोडिनु अरु छोरीहरुका लागि हिम्मत हो। कुनै दलको झण्डा नबोकी स्वतन्त्र रुपमा मेयरमा उठेकी छु,’ मंगलबार साँझ काठमाडौँको राइजिङ मलमा भेटिएकी ३० वर्षीया नितु खड्काले भनिन्, ‘युवाले चाहे परिवर्तन सम्भव छ।’

अस्पतालमा बिरामीको सेवा गर्दैगर्दा नितुले देखेकी छन् आम मानिसका पीडा। उनको गाउँमा उनकी आमाले कथाजसरी सुनाएको पानीको दुःख आज पनि उस्तै छ। उनलाई बाग्लुङ नगरपालिकाको मेयर बनेर नगरलाई स्मार्ट सिटी बनाउनु छैन्। 

भन्छिन्, ‘कम्तीमा आमाहरुले पानीका लागि एक बिहान खर्लप्पै छुट्याउनु नपरोस्। गाउँसम्म पुग्ने मोटर बाटो होस्। आफ्नै ठाउँमा नागरिकले स्वास्थ्य उपचार पाउन सकून्।’​

आफ्नो ठाउँको विकासका लागि आफैँ नतातेसम्म नहुने उनको अनुभव छ। 

‘म स्वतन्त्र रुपमा जाँदा अलि बढी विकास गर्न सक्छु। त्यहाँ राजनीतिकरण हुँदैन्। कुनै राजनीतिक पार्टीलाई समातेपछि त्यहाँ आफ्नै एजेन्डा हुने रहेछन्। अलग्गै प्रोसेस हुने रहेछ,’ उनी भन्छिन्, ‘ती सबै कुरा मिलाउँदा मिलाउँदै विकासको काम पछि पर्ने रहेछ। त्यसैले पनि राजनीतिक पार्टीबाट चुनिएका र सम्भावना भएकाहरु पनि असफल भएका छन्।’

एकीकृत समाजवादी छाडेर उनी स्वतन्त्र उम्मेदवार बन्न लागेकी हुन्।

स्वतन्त्र रुपमा उम्मेदवार भएर ​जित हासिल गर्नु निकै चुनौतीपूर्ण हुने उनले बुझेकी छन्। तर, अहिलेका जनता यो अथवा त्यो पार्टीबाट दिक्दार भैसकेको अनुभूति गरेकै कारण आफू स्वतन्त्र रुपमा उठ्न लागेको उनको तर्क छ। 

भन्छिन्, ‘जनतालाई कुनै पार्टी ठूलो बनाउनु छैन। उनीहरुलाई विकास चाहिएको छ। त्यसैले काम गर्न चाहने युवालाई मतदान गर्ने कुरामा म विश्वस्त छु।’

अस्पतालमा बिरामीको सेवामा तल्लीन नितुले समाज सेवाको लागि राजनीतिक नेतृत्व लिन चाहेको बताएकी छिन्। उनको नर्स बन्ने सपना भने आफैँ बिरामी भएपछि बनेको थियो।

त्यसबेला उनी अध्ययनका लागि युरोप जाने तयारी गरिरहेकी थिइन्। त्यहिबेला उनलाई एपेन्डिसाइटिस भएपछि काठमाडौंको एभरेस्ट अस्पतालमा भर्ना भइन्। साथमा थिए उनका बुबा। छोरीको सेवामा खटिएका नर्सलाई देखेर प्रभावित भएका नितुका बुबाले अस्पतालमै भने, ‘मेरी छोरी पनि तपाईंजस्तै नर्स बनेको हेर्न मन छ।’ 

बुबाको त्यही बचनले उनको मन नर्सिङतिर मोडियो।

बाग्लुङ नगरपालिकाको रामरेखा गाउँमा जन्मिएकी नितुका बुबा कृष्णबहादुर खड्का अवकाशप्राप्त लाहुरे हुन्। उनकी आमा रजमतीको जीवन घरेलु कामकाजमा बितिरहेको छ। कृष्णबहादुर र रजमतीका तीन छोराछोरीमध्ये नितु जेठी छोरी हुन्। नितुले मेयरमा उठ्ने घोषणा गरेसँगै न्युजिल्यान्डको एक नगरपालिकाका मेयरले विकास मोडल बनाउन सहयोग गर्ने बताएका छन्। नितु आफैँले भने निर्वाचनका लागि ठोस योजना बनाइसकेकी छैनन्। 

‘म अहिले नै योजना सुनाउन सक्दिनँ। किनभने भाषण गरेजस्तो सजिलो कामगर्न हुँदैन,’ उनी भन्छिन्।

उनले गर्ने कामका विषयमा योजना तयार गर्न उनले एउटा टोली बनाएकी छन्। आफ्नो नगरका १४ वटा वडामा जाने र त्यहाँको आवश्कता जनमानसबाटै बुझेर काम गर्ने योजनामा छिन्। 

सन् २०१५ मा पीसीएल नर्सिङ उतीर्ण गरेकी नितुले एक वर्ष डायालिसिस सेन्टरमा काम गरिन्। त्यहाँ काम गर्दा मिर्गौला फेल भएर डायालिसिस गराइरहेकाहरुको पीडा देखेर उनी कयौँ पटक लुकेर रोएकी छिन्। उनले होप इन्टरनेसल कलेजबाट बीएन गरेकी छिन्। नितुले वेलनेस टिममा आवद्ध भएर स्वास्थ्य जनचेतनाका काम पनि गरेकी छिन्। 

कोरोनाकालमा गाउँमा स्वयंसेवामा खटिएकी नितुले बाग्लुङ नगरपालिकाका सबै वडाका समस्या नजिकबाट नियाल्ने अवसर पाइन्। त्यसपछि उनलाई लाग्यो ‘अब परिवर्तन गर्नु पर्छ।’ 

भन्छिन्, ‘मेरो हजुरबुबाको पालामा सुरु भएको गलकोट जाने सडक अझै बनिसकेको छैन। परिवर्तनका लागि स्थानीयस्तरमै नेतृत्व लिनु पर्छ। त्यही परिवर्तनका लागि म नेतृत्व लिन तयार भएकी हुँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .