ad ad

राजनीति


वीरु लामाः विमान अपहरण काण्डका योद्धा, गिरिजाका गाडी चालक

वीरु लामाः विमान अपहरण काण्डका योद्धा, गिरिजाका गाडी चालक

२०३७ सालको जनमतसंग्रहपछि वीरु लामा प्रवासिएका कांग्रेसका नेतासँगै नेपाल फर्किएका थिए


केशव सावद
फागुन २१, २०७८ शनिबार २०:३०, काठमाडौँ

नेपाली कांग्रेसले २०३० जेठ २८ मा शाही नेपाल वायुसेवा निगमको ट्विनअटर विमान अपहरण गरेको थियो। 

पञ्चायती शासनविरुद्ध सुरु गरिएको सशस्त्र क्रान्ति सफल बनाउन आवश्यक पर्ने रकम संकलनका लागि कांग्रेसले सो विमान विराटनगरबाट अपहरण गरेको थियो। 

विराटनगरबाट भारतीय रुपैयाँ ३० लाख काठमाडौं ल्याउन लागिएको थाहा पाएपछि कांग्रेस कार्यकर्ताहरु दुर्गाप्रसाद सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले विमान अपहरण गरेका थिए। 

अपहृत विमान भारतको बिहार राज्यमा पर्ने फारविसगञ्जको ठूलो घाँसे मैदानमा अवतरण गराइएको थियो। 

विराटनगरबाट बिहान सवा ८ बजे उडेको उक्त विमान पौने ९ बजे फारबिसगञ्जको घाँसे मैदानमा अवतरण भएको थियो। 

‘विराटनगरबाट बिहान ८ः१४ बजे उडेको जहाज आकाशमा धेरै बेर रुमल्लिँदै ८ः४५ मा मात्र फारबिसगञ्जमा उत्रिएको थियो,’ विमान अपहरणको नेतृत्व गरेका सुवेदीले ‘विमान विद्रोह’ नामक पुस्तकमा लेखेका छन्, ‘सिधा नाप्ने हो भने विराटनगरबाट फरबिसगञ्जको दूरी जम्मा ३० किलोमिटरजति हो। तर, नक्सा नभएर आकाशमा रुमल्लिँदा हामीलाई ३० मिनेट लागेको थियो।’

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकका लेखक डा. राजेश गौतमका अनुसार उक्त मैदानलाई दोस्रो विश्वयुद्धमा बेलायतले सैनिक विमानस्थलका रुपमा प्रयोग गरेको थियो।

विमान अवतरण हुँदा फारबिसगञ्जको घाँसे मैदानमा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँगै विनोद अर्याल, मनोहरि बराल, जिपचालक वीरु लामा योजनाअनुसार तैनाथ थिए।  

नेपाल राष्ट्र बैंकको लुटिएको रकम सुरक्षित गन्तव्यमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका चालक लामाको फागुन १७ गते निधन भएको छ। शुक्रबार काठमाडौंको टेकुस्थित पचली घाटमा हिन्दु परम्पराअनुसार उनको दाहासंस्कार गरिएको छ। 

भारत प्रवासमा रहँदादेखि नै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका मोटर चालकको भूमिकामा रहेका लामाको सानेपास्थित निवासमा निधन भएको थियो।

छोरा अस्ट्रेलियाबाट आउन ढिलाइ भएका कारण शुक्रबार मात्रै उनको दाहसंस्कार गरिएको पूर्वमन्त्री जेपी गुप्ताले जानकारी दिए। उनका अनुसार लामा गिरिजाप्रसाद जीवित छउञ्जेलसम्म कोइराला परिवारकै सदस्यसरह थिए। 

‘गिरिजाबाबुको निधन हुनुअघिसम्म उहाँ कोइराला परिवारकै सदस्यसरह हुनुहुन्थ्यो,’ लामो समय कोइराला परिवारनिकट रहेका पूर्वमन्त्री गुप्ताले नेपालखबरसँग भने, ‘गिरिजाबाबुको निधनपछि कसैले सम्झेनन्। न कांग्रेसले याद नै गर्यो।’ 

विमान अपरहणबाट कव्जा गरिएको पैसाका तीन बाकस जीपमा राखेर हिँडेका चालक लामाले एक बाकस फारबिसगञ्ज घाँसे मैदानबाट १० किलोमिटरको दूरीमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसादलाई बुझाएका थिए। 

‘विमान विद्रोह’ पुस्तकका अनुसार बाँकी रहेका दुई बाकस पैसा लिएर उनी बिहारकै अररियाको जिरो प्वाइन्ट भन्ने चोक पुगेका थिए। जिपमा सुशील, नगेन्द्र र दुर्गा सवार थिए। मनोहरि, वसन्त र विनोद गिरिजाप्रसादको गाडीमा गएका थिए। 

अररियाको जिरो प्वाइन्टमा लामाले चलाएको गाडीको प्रतीक्षामा थिए– कांग्रेसका संस्थापक नेता बीपी कोइराला। साथमा थिए– भागलपुर विश्वविद्यालयका उपकुलपति देवेन्द्रप्रसाद सिंह र उनका भाइ बजरप्रसाद सिंह। 

विमान अपहरणको कमान्ड सम्हालेका सुवेदीका अनुसार लामाले दुई बाकस पैसा सोही दिन बेलुकी ५ बजे सिक्किमको राजधानी गान्तोक पुर्याएका थिए। उनीहरुले त्यो पैसा गान्तोकका चर्चित व्यापारी बीके श्रेष्ठको गेष्ट हाउसमा बसेका बीपीलाई बुझाएका थिए।

२०३७ सालको जनमतसंग्रहपछि लामा प्रवासिएका अन्य कांग्रेसका नेता–कार्यकर्तासँगै स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसादसँगै चाबहिलमा बसेका थिए।

‘विमान अपहरणको अभियोगमा जेल पर्नुभएको थियो। पछि जमानतमा रिहा हुनुभयो। जनमत संग्रहपछि नेता–कार्यकर्ताहरुसँगै नेपाल आउनुभयो,’ गुप्ताले भने, ‘अनवरत गिरिजाबाबुसँग आवद्ध रहनुभयो। उहाँसँगै चाबहिलमा बस्नुहुन्थ्यो। सबैले उहाँलाई गिरिजाबाबुका मोटर चालक भनेर चिन्दथे।’

उनी नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामाको ठूलो भूमिका रहेको पनि बताउँछन्। 

‘नेपाली कांग्रेसको अविचलित कार्यकर्ता हो। कहिल्यै कुनै लोभ राख्नुभएन,’ गुप्ताले भने, ‘अत्यन्तै सोझो मान्छे। चुनावी राजनीति, पद–सत्ताको लोभ कहिल्यै गर्नुभएन। मुखर स्वाभावको हुनुहुन्थ्यो।’

विमान अपहरणको कमान्ड सम्हालेका सुवेदीले पनि लामालाई कांग्रेसप्रति समर्पित कार्यकर्ताका रुपमा चित्रित गरे। 

‘उहाँ यति प्रतिबद्ध मान्छे कि पुलिसका अगाडि कहिल्यै झुक्नुभएन,’ उनले नेपालखबरसँग भने, ‘प्रशिक्षित नभए पनि पार्टीका प्रति अत्यन्तै डेडिकेटेड हुनुहुन्थ्यो।’

विमान अपहरणको तीन वर्षपछि भारतमै पक्राउ परेका बेला जेलमै उनीसँग भेट भएको सुवेदीले स्मरण गरे।

‘अपहरणको तीन वर्षपछि म पक्राउ परेको थिएँ। उहाँ पनि समातिनुभएको रहेछ,’ उनले भने, ‘पक्रेर म कहाँ ल्याए। मैले चिन्दिँन भनेँ। उहाँले पुलिसलाई के भन्नुभयो थाहा छैन।’ 

लामालाई प्रजातान्त्रिक सेनानीका रुपमा सम्मान गर्नुपर्ने भए पनि कांग्रेसले बेवास्ता गरेको सुवेदीले गुनासो गरे।   

पूर्वमन्त्री गुप्ताका अनुसार बाँकेको नेपालगञ्जमा जन्मिएका लामा १३–१४ वर्षकै उमेरमा मोरङको विराटनगर गएका थिए। उनी नेपाल प्रहरीमा कार्यरत भिनाजु र दिदीका कारण विराटनगर पुगेका थिए। लामाका दिदीभिनाजु विराटनगरको रानीमा बस्दथे। 

‘भिनाजु प्रहरीको सानो पदमा विराटनगरमै कार्यरत थिए। १३–१४ वर्षकै उमेरमा नेपालगञ्जबाट विराटनगर पुग्नुभएको हो,’ उनले लामाको बाल्यकालका बारेमा जानकारी दिँदै भने, ‘जोगबनी बोर्डर नजिकै पर्ने रानीमा बस्नुहुन्थ्यो।’

जोगबनी नजिकै पर्ने बसनाहामा कांग्रेसले भूपू सैनिकको डफ्फा निर्माण गरेको थियो। त्यो डफ्फामा नेपाली सेना, भारतीय सेनाका सेवानिवृत्त अधिकारीदेखि जवानहरु सहभागी थिए। सशस्त्र क्रान्तिका लागि कांग्रेसले त्यो बेला युवालाई भर्ना पनि गर्दथ्यो।

सोही क्रममा लामा कांग्रेस कार्यकर्ताहरुको संगतमा परेर पार्टीमा काम गर्न सुरु गरेको गुप्ताको भनाइ छ। उनका अनुसार विराटनगरको रानीमा भएको बम विष्फोटको घटनामा नाम मुछिएपछि लामा भारत निर्वासनमा गएका थिए।

‘भर्खरको युवा वीरु लामा कांग्रेसको संगतमा पर्नुभयो। नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो,’ गुप्ताले भने, ‘रानीमा बमकाण्ड भयो। पुलिसले संलग्नको खोजी गर्न थाल्यो। वीरुको पनि नाम मुछियो। अनि भारत भाग्नुभयो। उतै कांग्रेसका क्याम्पमा बस्नुभयो। राम्रो गाडी चलाउनुहुन्थ्यो।’

लामाका श्रीमती, र दुई सन्तान (छोरा–छोरी) छन्। छोराछोरी दुवै अस्ट्रेलिया बस्दै आएका छन्। उनले सुस्मा शर्मासँग दोस्रो विवाह गरेका थिए। लामाको पहिलो विवाह अरमिना गुरुङसँग भएको थियो। 

अरमिनासँग सम्बन्ध सुमधुर नभएपछि उनले सुस्मासँग दोस्रो विवाह गरेको पूर्वमन्त्री गुप्ताले जानकारी दिए। अरमिना बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालाकी बहिनी हुन्। 

लामाको निधनपछि गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनी नरहेको यस घडीमा मलाई विशेषतः अरमिना लामाको सम्झना भरहेको छ। जसले एक समय वीरूलाई अमूल्य माया गरेकी थिइन्। उनका छोरा, छोरी र सुस्मा प्रति मेरो हार्दिक समवेदना छ। वीरूको आत्मालाई शान्ति मिलोस्। म आज सम्झिरहेको छु– कति राम्रा दिन थिए ती, जहाँ म, मेरी प्रेमिका सरू, वीरू, अरमिना, अनुराधा कोइराला, शैलजा दिदी, दिलबहादुर घर्ती, मुक्ता आचार्य– सँगै बस्थ्यौँ। जीवनलाई बुन्थ्यौँ।’

उनले लामासँग ४६ वर्ष अघि परिचय भएको उल्लेख गर्दै उनलाई पहिलो पटक देख्दाको स्मरण पनि सामाजिक सञ्जालमा गरेका छन्: 

‘करिब ४६ वर्षअघि हाम्रो चिनजान भएको थियो। जिन्सको प्यान्ट र सर्ट लाएका, सर्टको बाहुलामा नेपाली कांग्रेसको झण्डा लेखाएका, कम अग्लो, थोरै बोल्ने, चुच्चे दाढी भएका उनले आफूलाई मिजोरमका नेपाली भन्थे। पूर्णिया, बिहारमा रहेका नेपाली कांग्रेसको भूमिगत क्याम्पमा हामी भेट भएका थियौँ। यसको केही महिनापछि पुनः फारबिसगञ्जको बंगाली टोलामा रहेको नेपाली कांग्रेसको अफिसमा भेट्दा उनी पूर्वपरिचित ‘हिरा लामा’ को सट्टा अत्यन्तै मिलनसार वीरू लामा भइसकेका थिए।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .