ad ad

राजनीति


वीरगञ्ज महानगर जित्ने एमालेको दाउ, सरावगीलाई भित्र्याएर उनैलाई मेयरको टिकट

वीरगञ्ज महानगर जित्ने एमालेको दाउ, सरावगीलाई भित्र्याएर उनैलाई मेयरको टिकट

वीरगञ्जका मेयर विजय सरावगी र लोसपाबाट एमालेमा आएका राजेशमान सिंह


केशव सावद
फागुन २७, २०७८ शुक्रबार १५:२९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पर्साको वीरगञ्ज महानगरपालिकामा स्थानीय तह निर्वाचन जित्ने गरी रणनीति बनाउन थालेको छ।

२०७४ को निर्वाचनमा पाँचौ स्थानमा चित्त बुझाएको एमाले आगामी वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा पहिलो हुन त्यहाँ अन्य पार्टीका ‘हस्ती’लाई धमाधम भित्र्याइरहेको छ।  

वीरगञ्ज महानगरपालिका प्रमुखमा जित निकाल्न एमालेले राम्रो जनमत भएका अन्य दलका नेताहरुलाई तानिरहेको हो।

आगामी निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा महानगर प्रमुखका प्रतिस्पर्धी नेतादेखि वर्तमान नेतृत्व नै तान्ने प्रयास गरिरहेको छ। 

एमालेले अघिल्लो निर्वाचनमा तेस्रो भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजेशमान सिंहलाई भित्र्याइसकेको छ।

उसले केही दिनभित्रै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगीलाई पनि भित्र्याउने तयारी गरेको छ। 

एमाले पर्साका अध्यक्ष प्रभु हजाराले महानगर प्रमुख सरावगी पार्टीमा आउन लागेको पुष्टि गरेका छन्। उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार वीरगञ्जमै सरावगीलाई स्वागत तयारी भइरहेको छ।

‘अध्यक्ष कमरेडसँग सरावगीजीको सबै कुरो फाइनल भइसकेको छ,’ हजाराले नेपालखबरसँग भने, ‘उहाँ (ओली) भोलि (शनिबार) यहाँ आउँदै हुनुहुन्छ। उहाँहरुको भेटघाट हुन्छ। सम्भवतः भोलि नै पार्टी प्रवेश गर्नुहुन्छ।’

उनले आगामी महिनाको पहिलो साता बारामा कार्यक्रम गरेर सरावगीलाई औपचारिक रुपमा एमालेमा स्वागत गरिने जानकारी दिए। ‘हामी चैतमा बारामा कार्यक्रम गरेर उहाँलाई स्वागत गर्छौँ।’

ओलीसँग वार्ता
सरावगीले पनि एमाले प्रवेशका लागि आफूले छलफल गरिरहेको पुष्टि गरेका छन्। ‘कुराकानी चलिरहेको छ। तर कन्फर्म भएको छैन,’ उनले भने, ‘केही दिनमा सबैलाई थाहा भइहाल्छ।’

जसपामा रहँदा स्थानीय नेता र कार्यकर्ताले असहयोग गरेको गुनासो गर्दै सरावगी आगामी निर्वाचनमा एमालेबाट महानगर प्रमुख पदमा प्रतिष्पर्धा गर्ने मनस्थितिमा छन्। उनले सार्वजनिक रुपमै आफूले जसपाबाहेक दलबाट चुनाव लड्न चाहेको अभिव्यक्ति दिँदै आएका छन्।  

जसपा पर्सा अध्यक्ष रामनरेश यादवले महानगर प्रमुख सरावगी पार्टीप्रति असन्तुष्टि पोख्दै आए पनि पार्टी छाड्ने तहसम्मै नपुगेको दाबी गर्छन्। उनले बिहीबारमात्रै सरावगीसँग आफूले छलफल गरेको र उनका असन्तुष्टि सम्बोधनको प्रयास भइरहेको पनि प्रतिक्रिया दिए। 

‘उहाँको पहिलेबाटै पार्टी प्रतिको असन्तुष्टिबारे यहाँहरु जानकार नै हुनुहुन्छ। पार्टी छाड्ने कुरो हल्ला हो,’ अध्यक्ष यादवले भने, ‘हिजो बसेर मैले कुरा गरेको छु। केही अघिमात्रै उहाँलाई पार्टीले केन्द्रीय सदस्य बनाएको छ। म्यानेज गर्ने प्रयास पार्टीले गरिरहेको छ।’ 

यद्यपि, सरावगीले पार्टी प्रवेशका लागि एमाले अध्यक्ष ओलीसँग छलफल गरिसकेका छन्। 

गत मंगलबार सरावगीले काठमाडौँमा ओलीसँग भेटेर पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगञ्ज महानगरको प्रमुखमा लड्ने विषयमा छलफल गरेको बताइएको छ। 

उता महानगरपालिका प्रमुखको टिकट पाउने आश्वासनमा सिंह गत माघ २८ गते लोसपा छाडेर एमाले प्रवेश गरिसकेका छन्। सरावगी पनि एमालेमा गएपछि महानगर प्रमुखको टिकट कसले पाउँछ भन्ने चासो बढेको छ। 

तर, सिंहले भने आफू कुनै पनि सर्त राखेर एमालेमा नगएको दाबी गर्छन्। ‘म कुनै सर्त राखेर एमालेमा आएको होइन,’ उनले नेपालखबरसँग भने, ‘पार्टीमा आकांक्षी हुन्छन् नै। पार्टीले मूल्यांकन गरेर टिकट दिन्छ भन्नेमा म विश्वस्त छु।’ 

यस्तो थियो नतिजा
सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १ सय ९६ मतले पराजित गरेका थिए। 

सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार एक सय ९७ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेका सिंह १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका थिए। 

गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख मेयर पदका एमालेबाट बसरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए।

चौथो भएका लोकतान्त्रिक फोरमका श्रीवास्तवले ८ हजार ७ सय १, पाँचौँ भएका एमालेका अन्सारीले ८ हजार ६ सय ८८ र छैटौँ भएका माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए।

कांग्रेससँग छलफल
प्रमुख प्रतिपक्षी एमाले प्रवेश तयारीमा रहेका वीरगञ्ज महानगरपालिकाका प्रमुख सरावगी सत्तारुढ कांग्रेससँग पनि संवादमा थिए। 

उनले जसपा परित्याग गरेर कांग्रेस प्रवेशका लागि कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र केन्द्रीय सदस्य रमेश रिजालसँग पटक–पटक छलफल गरेका खुलेको छ।

तर, कांग्रेसले उनको प्रवेशले पार्टीमा असन्तुष्टि बढ्ने देखिएपछि सरावगीलाई महत्व नदिएको एकजना कांग्रेस नेताले बताएका छन्। 

‘सरावगीजी हाम्रोमा आउन इच्छुक हुनुहुन्थ्यो। हाम्रो सभापतिजीसँग २–३ पटक नै छलफल गर्नुभएको हो। केन्द्रीय सदस्य रमेशजीसँग पनि २ पटक कुरो भएको हो,’ ती नेताले भने, ‘उहाँ आउँदा पार्टीका साथीहरु बिच्किनुहुन्छ कि भनेर ‘इन्ट्रेस्ट’ देखाउनुभएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .