राजनीति


फैजलको यो भ्रमणले जोगाउला साउदीमा मृत्युदण्डको फैसला सुनाइएका ती दुई नेपालीको ज्यान?

फैजलको यो भ्रमणले जोगाउला साउदीमा मृत्युदण्डको फैसला सुनाइएका ती दुई नेपालीको ज्यान?

साउदीका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार साँझ काठमाडौँ आइपुगेका छन् (रासस)


सन्तोष घिमिरे
फागुन ३०, २०७८ सोमबार २२:५०, काठमाडौँ

२६ वर्षअघि साउदी अरब गएका थिए सन्तबहादुर पुन। साउदीको दक्षिणी क्षेत्रमा पर्ने गुरियतको नासफाह गाउँमा सामान्य खेतीकिसानीको जागिर पाए उनले। त्यस क्रममा उनी भेडा चराउन थाले। 

एकदिन भेडा चराउँदा चराउँदै एक साउदी नागरिकले भेडा चोर्न खोजे। तर, उनले चोर्न दिएनन्। अर्को दिन पनि ती साउदी नागरिक फेरि भेडा चोर्न आए। भेडा चोरिए मालिकको हप्की खानुपर्ने भयले उनले साउदी नागरिकमाथि चक्कु प्रहार गरे। ती साउदी नागरिकको घटनास्थलमै मृत्यु भयो। 

पुनले आफैँमाथि पनि चक्कु हाने। सख्त घाइते भएका पुनलाई प्रहरीले साउदीको अस्पतालमा भर्ना गर्यो। त्यसपछि उनीविरुद्द प्रहरीले मुद्दा चलायो। 

बयान दिने क्रममा पुनले घटनाको यथार्थ बताए। उनले मालिकले जागिर खाइदिने हुँदा आफूले बाध्य भएर चक्कु हानेको बयान दिए।

स्थानीय कुरैयात अदालतले २०५८ साल जेठमा उनलाई मृत्युदण्डको फैसला सुनायो। मृतकका परिवार पुनलाई सजाय हुनुपर्ने मागबाट पछि हटेका छैनन्। साउदी कानुन अनुसार परिवारले पीडकलाई आममाफीका लागि सहमति दिए आममाफी हुनसक्छ। त्यसबीचमा मृतक परिवार र पुनबीच मेलमिलापका लागि पहल भए पनि सफल भएन। यद्यपि, फैसला अझै कार्यान्वयनमा आएको छैन। 

साउदीका लागि पूर्व नेपाली राजदूत डा. महेन्द्र सिंहले आफू राजदूत हुँदा पुनलाई आममाफी दिलाउन कोसिस गरेको बताए। 

‘स्थानीय गभर्नरलाई नै भेटेर पुनलाई माफी दिन अनुरोध गरेको थिएँ। पीडित परिवारले आफ्नो अडान नछाडेका कारण उनलाई आममाफी दिन सम्भव भएन,’ सिंहले नेपालखबरसँग भने, ‘नेपाल सरकारले उनलाई आममाफीका लागि पहल जारी राख्नुपर्छ। साउदीका सरकारी अधिकारीसँग आफ्नो कुरा निरन्तर राख्नुपर्छ।’

साउदीमा मृत्युदण्डको सजाय सुनाइएका अर्का नेपाली हुन् विवेक दाहाल। उनी उदयपुरका हुन्। दाहाल झन्डै १५ वर्षयता साउदीको जुबेलस्थित जेलमा छन्। उनीमाथि आफ्नै नेपाली साथी राजेन्द्र बिष्टको सुतिरहेको अवस्थामा हत्या गरेको अभियोग छ। 

दुई वर्षअघि साउदीको एक अदालतले विवेकलाई मृत्युदण्डको सजाय सुनाएको थियो। पूर्वराजदूत सिंहका अनुसार दाहाललाई पनि आममाफी दिन साउदीको उच्च राजनीतिक तहमा दूतावासका तर्फबाट पहल भइसकेको छ। 

‘राष्ट्रपति भण्डारीले साउदीका राजालाई पत्र लेखेर दाहाललाई आममाफी दिन अनुरोध गरिसक्नुभएको छ’ पूर्वराजदूत सिंहले भने।

साउदी विदेशमन्त्रीसँग आममाफीका लागि अनुरोध गर्दै सरकार 
सरकारले साउदी अरबमा मृत्युदण्डको फैसला सुनाइएका यी दुई नेपालीलाई आममाफी दिन साउदी सरकारलाई आग्रह गर्ने भएको छ। 

नेपाल भ्रमणमा रहेका साउदीका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसमक्ष साउदीमा मृत्युदण्डको फैसला सुनाइएका दुई नेपालीलाई आममाफी दिन आग्रह गरिन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

२३ सदस्यीय साउदी टोलीका साथ साउदीका विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौँ आइपुगेका छन्। साउदीका विदेशमन्त्रीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए। साउदी टोलीलाई नक्सालस्थित होटल म्यारियटमा बसोबासको व्यवस्था मिलाइएको छ। 

विदेशमन्त्री फैजलले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री  शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्दैछन्। ती भेटवार्तामा नेपाली पक्षले साउदीमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीलाई आममाफी दिन अनुरोध गर्न लागेको हो। 

‘पुन र दाहाल निर्दोष छन्। उनीहरुलाई आममाफी दिएर जीवनरक्षा गरिदिन साउदी विदेशमन्त्रीलाई अनुरोध गर्न लागिएको हो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। उनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र लेखेर उनीहरुलाई आममाफी दिन अनुरोध गरिसकेकी छिन 

जसले तीन नेपालीलाई आममाफी दिलाए
सिंहले आफू राजदूत हुँदा मृत्युदण्ड पाएका अन्य तीन नेपालीलाई साउदी सरकारसँग कुराकानी गरी आममाफी दिलाएका थिए। २०७४ असारदेखि २०७८ असारसम्म राजदूत रहँदा सिंहको पहलमा मृत्युदण्डको फैसला सुनाइएका नेपालका अर्जुन थापा, उमेश यादव र अर्का एकलाई आममाफी दिइएको थियो। 

‘मृत्युदण्डको सजाय सुनाइएका हाम्रा नागरिकको जीवन रक्षाका लागि साउदी सरकारसँग निरन्तर कुराकानी गर्नुपर्छ। त्यसका लागि राजदूत र दूतावासका कर्मचारीको सामूहिक मेहनत महत्वपूर्ण हुन्छ,’ सिंहले भने। 

सिंहले विगत ९ महिनादेखि साउदीमा राजदूत पद रिक्त रहनु दुःखद रहेको बताए। 

‘राजदूत नियुक्ति ढिलाइले नेपालीका हकहितका कुरा साउदी सरकारसमक्ष राख्न समेत समस्या हुन्छ,’ उनले भने, ‘किनकि कार्यवाहक राजदूत वा त्यसभन्दा तलका कर्मचारीको तहबाट जटिल विषय साउदी सरकारसँग राख्न गाह्रो हुन्छ। माथिल्लो तहमा उनीहरुको पहुँच  हुँदैन।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .