वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन आउन ५८ दिन बाँकी छ। यस्तोमा दलहरुले चुनावी अभियान तीव्र पारिसकेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमाले चुनाव जित्नका लागि जुनसुकै दलसँग पनि मिल्ने रणनीति बनाएर अभियानमा होमिएको छ।
सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनाउने कि एक्लै लड्नेबारे अझै अनिर्णित छन्।
कांग्रेस यही फागुन २९ गतेदेखि एक महिने चुनावी अभियानमा एक्लै होमिएको छ। देशभरको रिपोर्ट हेरेपछि मात्रै गठबन्धनबारे निर्णय लिने कांग्रेसका नेताहरु बताउँछन्।
माओवादी केन्द्रले प्रदेशहरूमा प्रशिक्षण र भेला गरिरहेको छ। नेकपा एकीकृत समाजवादी पनि चुनावी अभियानमै व्यस्त छ। यी दुई दलले गठबन्धन कायम राखेर जानुपर्ने बताइरहेका छन्।
केन्द्रमा गठबन्धन अनिश्चित देखिए पनि सत्तारुढ दलहरुले स्थानीय तहको निर्वाचनका लागि जिल्लाबाट गठबन्धन बनाउन थालेका छन्। त्यसको सुरुवात लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाबाट भएको छ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) सहित पाँच दल मिलेर चुनावमा उम्मेदवारी दिने सैद्धान्तिक सहमति भएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसीले नेपालखबरलाई जानकारी दिए।
चुनावको मिति नजिकिएपछि गठबन्धन बनाउने निष्कर्षमा उनीहरु पुगेका हुन्।
प्रतिगमन विरोधीहरु मिलेर अघि बढ्ने केन्द्रीय नीतिअनुसार नै जिल्लामा पाँच दलबीच गठबन्धन बनाइएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले बताए।
नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले अहिले बनेको पाँच दलीय गठबन्धन प्रदेश र संघीय चुनावसम्म कायम रहने दाबी गरे।
पाँचै दलका नेताहरुले सोमबार गठबन्धन बनाएको घोषणा गरे पनि स्थानीय तहको बाँडफाँट भने गरिसकेका छैनन्।
कांग्रेसबाट केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट छमकुमारी चिनारी, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका शेरबहादुर बिसी, थम्मन केसी, समाजवादी पार्टीका जिन्दग खड्का लगायत सहभागी थिए।
जिल्लामा भूमिकास्थान, शीतगंगा र सन्धिखर्क गरी ३ नगरपालिका छन्। यस्तै छत्रदेव, पाणिनी र मालारानीसहित ३ गाउँपालिका छन्।
जनमोर्चाका केन्द्रीय सदस्य बिसीका अनुसार गठबन्धनले ६ वटै स्थानीय तहमा चैत्र ११ गतेदेखि १६ गतेसम्म संयुक्त अगुवा कार्यकर्ता भेला गरेपछि मात्र स्थानीय तह बाँडफाँटको निर्णय गर्नेछ।
‘हामीले जिल्लामा पाँच दलीय गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरेका छौँ,’ बिसीले नेपालखबरसँग भने, ‘६ वटै तहमा चैत दोस्रो हप्ता संयुक्त अगुवा कार्यकर्ता भेला सकेपछि बाँडफाँटको निर्णय लिन्छौँ।’
यस्तो थियो २०७४ को नतिजा
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए।
तालमेलपछि कांग्रेस सन्धिखर्क, शीतगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकासहित २५ वडा जित्दै जिल्लाको पहिलो पार्टी बनेको थियो।
माओवादी केन्द्रले भूमिकास्थान नगरपालिका प्रमुख तथा सन्धिखर्क र शीतगंगा नगरपालिकाको उपप्रमुखसहित ७ वटा वडा जितेको थियो।
एमालेले मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा पाणिनी गाउँपालिकाको उपाध्यक्षसहित २५ वटा वडा र राष्ट्रिय जनमोर्चाले ४ वटा वडा जितेका थिए।
कांग्रेसले पुरानै विरासत कायम राख्नेगरी गठबन्धन बनाउन प्रस्ताव गरेको थियो। त्यसलाई अन्य चार दलले स्वीकार गरेका हुन्। नेकपा एमाले केन्द्रीय सचिव तथा अर्घाखाँचीबाट संघीय सांसद रहेका टोपबहादुर रायमाझीले आफ्नो पार्टीको बढ्दो लोकप्रियता रोक्न गठबन्धन बनेको प्रतिक्रिया दिए।
‘एमालेसँग सबै पार्टीहरू आत्तिएका छन्,’ रायमाझीले नेपालखबरसँग भने, ‘उनीहरु अस्तित्व रक्षाका लागि गठबन्धन बनाउन बाध्य भएका हुन्।’
‘हामी जिल्लामा रहेका ६ वटै स्थानीय तह जित्छौँ, २५ सयभन्दा बढी नेताहरु अहिले बनेको गठबन्धनबाट एमालेमा आइसके,’ रायमाझीले थपे, ‘५१ वटा वडा जित्ने निश्चित जस्तै छ। हाम्रो लोकप्रियता रोक्न पाँच दलले गठबन्धन बनाएछन्। यो गठबन्धन पनि धेरै लामो समय जाँदैन।’
एमालेको दाबीअनुसार जिल्लामा पछिल्लो दिन एमाले बलियो अवस्थामा छ। कांग्रेस दोस्रो, राष्ट्रिय जनमोर्चा तेस्रो र माओवादी केन्द्र चौथो अवस्थामा छ।
त्यस्तै, जसपामा निकै नगन्य मत रहेको र नेतृत्वको नेकपा एकीकृत समाजवादीले संगठन नै विस्तार गर्न नसकेको निष्कर्षमा एमाले छ। त्यही भएर गठबन्धन बनेको रायमाझीले दाबी गरिरहँदा कांग्रेसले भने आफ्नो पुरानै बर्चस्व कायम राख्ने रणनीति लिएको छ।
आफूहरु मिलेपछि एमालेले कुनै पनि तह जित्न नसक्ने र एक्लिने भएकाले गठबन्धन बनेको एक नेताले जानकारी दिए।
कसरी होला बाँडफाँट?
जिल्लामा ६ तहमा गरेर ६१ वडा छन्। नेताहरुका अनुसार बाँडफाँट गर्दा पार्टीको प्रभाव क्षेत्रलाई आधार बनाइनेछ।
‘गठबन्धन भए पनि मिलाउन समस्या हुँदैन, कसैलाई मेयर कुनै दललाई उपमेयर दिन सकिन्छ,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य घिमिरेले भने, ‘कति त वडाध्यक्ष दिएर पनि मिल्छ।’
२०७४ मा दुई वटा नगरपालिकासहित दुई पालिका जितेको कांग्रेसलाई अब फेरि प्रभाव क्षेत्रका आधारमा ३ वटासम्म तह दिन गठबन्धन तयार देखिन्छ।
माओवादी केन्द्रले २०७४ मा भूमिकास्थान नगरपालिका जितेको थियो। तर, माओवादीबाट मेयर जितेका रेशम थापाले एमाले रोजेपछि उनी पदमुक्त भए।
जिल्ला समन्वय समिति उपप्रमुख ऋषिबहादुर पुलामी, भूमिकास्थान नगरपालिका ३ का वडाअध्यक्ष बालकृष्ण बञ्जाडे, शीतगंगा नगरपालिका ९ का अध्यक्ष भीमबहादुर खत्री क्षेत्री, मालारानी गाउँपालिका ६ का अध्यक्ष नारायण अर्याल, सन्धिखर्क नगरपालिका ९ का सदस्य विष्णुप्रसाद आचार्य र मनकला दमाई, शीतगंगा नगरपालिका वार्ड नं ९ का सदस्य खुमबहादुर लुइँचे पनि एमालेमा प्रवेश गरेका छन्।
२०७४ मा भूमिकास्थान नगरपालिकामा निकै झिनो मतले हारेको भएर जनमोर्चाले भूमिकास्थान नगरपालिका आफूले पाउनुपर्ने माग गरेको छ।
जनमोर्चाका केन्द्रीय सदस्य बिसी भन्छन् ‘हामीले भूमिकास्थान नगरपालिका छोड्ने कुरै आउँदैन, पहिलाभन्दा अहिले मजबुत भएका छौँ।’
नेकपा एकीकृत समाजवादी र जसपालाई नगरपालिकाको उपमेयर, गाउँपालिको उपाध्यक्ष दिएर मिलाउने प्रयास हुने नेताहरु बताउँछन्।
‘अरु दल कसरी प्रस्तुत हुन्छन् हेरौँ, उपमेयर, वडाध्यक्ष लगायत पद मिलाएर जान सकिन्छ,’ बिसीले भने, ‘एक चरण बसेपछि केही लक्षण आउला।’
अहिले पाँच दल मिलेर जाने सहमति मात्र भएको उनले बताए।
कांग्रेसले गठबन्धनका सबै दल मिलाएर लैजान अविभावकको भूमिका खेल्ने कांग्रेसका नेताहरु बताउँछन्।
‘चुनाव जित्न गठबन्धन बनाइएको हो,’ दलहरुभित्र समझदारी बनाएर उम्मेदवारी दिन्छौँ, कांग्रेसका जिल्ला सभापति श्रेष्ठले भने।
‘हामी देशभर लागू गर्नेगरी गठबन्धन बनाउँछौँ,’ उनले थपे, ‘गठबन्धनका पाँचै दललाई मान्य हुनेगरी निर्णय गर्छौँ।’
Shares

प्रतिक्रिया