राजनीति


कास्कीमा गठबन्धन गर्ने पाँच दलको प्रयास, पोखरा महानगर केन्द्रकै जिम्मा

कास्कीमा गठबन्धन गर्ने पाँच दलको प्रयास, पोखरा महानगर केन्द्रकै जिम्मा

सागर न्यौपाने
चैत ४, २०७८ शुक्रबार २१:५६, काठमाडौँ

केन्द्रमा चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनबीच अझै अलमल छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सकेसम्म कांग्रेससहितको गठबन्धनसहित चुनावमा जाने निर्णय लिइसकेका छन।

यदि कांग्रेस तयार नभएको अवस्थामा वाम गठबन्धन बनाएर भए पनि निर्वाचनमा जाने तयारीमा यी दुई दल देखिएका छन्। यस्तोमा प्रमुख सत्तारुढ कांग्रेसले भने चैत २९ देखि सरु देशव्यापी एक महिने अभियान पूरा गरेपछि मात्रै चुनावी तालमेलबारे निर्णय लिने भएको छ।

केन्द्रमा सत्ता गठबन्धनका दलहरु अलमलमा परिरहँदा जिल्ला तहमा भने अहिलेदेखि नै गठबन्धन प्रयास सुरु भएको छ। केन्द्रको ठोस निर्देशन नआए पनि जिल्लास्तरमा गठबन्धनको दिशामा सत्ताधारी दल अघि बढेका हुन्। 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा प्रमुख प्रतिपक्षी एमालेलाई एक्ल्याउने दिशामा सत्तारुढ दल पुगिसकेका छन्। एमाले नेता टोपबहादुर रायमाझीको गृहजिल्ला त्यहाँ उनीहरुले स्थानीय तह निर्वाचनका लागि करिब भागवण्डा सहमति नै गरिसकेका छन्। 

अर्घाखाँचीपछि कास्कीमा पनि सत्तारुढ पाँच दलका नेताहरुले स्थानीय चुनावमा गठबन्धन बनाउने प्रयास थालेका छन्।

कांग्रेस कास्कीका सचिव भानु ढकालका अनुसार केन्द्र सरकारमा रहेका पाँच दलबीच गठबन्धन बनाउन छलफल भइरहेको छ। 

‘गठबन्धन बनाएर जाने सहमतिजस्तै छ,’ ढकालले नेपालखबरसँग भने, ‘तर, यसरी जाने भन्ने मोडालिटी बनेको छैन।’ 

अर्घाखाँचीमा फागुन ३० गते कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मिलेर चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कास्कीमा पनि अर्घाखाँचीमा जस्तै गठबन्धन बनाएर जान पाँच दल तयार देखिन्छन्। 

तर, पोखरा महानगरको उम्मेदवार केन्द्रले तय गर्ने भएकाले अहिले नै निर्णय गर्न नसकिएको सचिव ढकालले बताए। 

‘महानगरको निर्णय केन्द्रबाट मात्र हुन्छ। तर, हामी गठबन्धन र उम्मेदवारका विषयमा छलफल गरेर निष्कर्षमा पुग्दैछौँ,’ ढकालले भने।

अर्घाखाँचीले गठबन्धन घोषणा गरेपछि कास्कीमा कांग्रेससहितका दलहरुबीच गठबन्धन बनाएर चुनावमा होमिने समझदारी गरेको नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले बताए।

कास्कीमा एक महानगर र चार वटा गाउँपालिका छन्। 

‘कास्कीमा रहेका ७७ वटै वडा तहसम्म मिलेर उम्मेदवारी दिने सहमति गरेका छौँ,’ आचार्यले नेपालखबरसँग भने, ‘माथि शीर्ष नेताको निर्णयको पर्खाइमा छौँ। पोखराका लागि स्थानीय तबरबाट हामीले मात्र निर्णय गरेर पुग्दैन, त्यही भएर हामीहरुले सिधै निर्णय गर्न सकेका छैनौँ।’

केन्द्रमा गठबन्धन बनाउने कि नबनाउने भन्नेमा दलहरु आन्तरिक रुपमा विभाजित छन्। तर, कास्कीमा गठबन्धन बनाएर चुनावमा जाने प्रस्तावमा सबै दलको सहमति रहेको माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए।

‘कास्कीको स्थानीय तहमा मिलेर जाने प्रस्तावमा सहमति छ,’ गुरुङले भने, ‘अहिलेसम्म ठोस निर्णय भइसकेको छैन।’

२०७४ को स्थानीय चुनावमा कास्कीका सबै तहमा कांग्रेस र माओवादी केन्द्रले तालेमल गरेका थिए। तर, अन्नपूर्ण गाउँपालिका मात्र कांग्रेसले जितेको थियो। पोखरासहित माच्छापुच्छ्रे, मादी र रुपा गाउँपालिका एमालेले जितेको थियो। माओवादी केन्द्रले जम्मा ३ वटा वडा जितेको थियो। 

अहिले एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले पोखरा महानगर दाबी गरेको छ। एमालेलाई हराउन कांग्रेसभन्दा एकीकृत समाजवादी निर्णायक रहेको उनीहरुको विश्लेषण छ।

‘एमालेले जितेको महानगरसहित चार पालिकामै गठबन्धन गरेर जाने हो। हामीले महानगर पाउने विश्वास छ,’ आचार्यले भने, ‘कांग्रेसले यसअघि एउटा पालिका जितेकै छ (अन्नपूर्ण) त्यसबाहेक अब अर्काे एक पालिका लिने, माओवादी केन्द्रलाई बाँकी पालिका दिन सकिन्छ। जसपा र राष्ट्रिय जनमोर्चाको पनि हैसियत अनुसार बाँडफाँट गर्न समस्या हुँदैन।’ 

जसपा र जनमोर्चालाई वडाहरु दिएर भागबण्डा टुंगो लगाउन सक्ने उनीहरुको आकलन छ।  

तर, माथिको निर्णय नगरेसम्म जिल्लाले मात्र केही नगर्ने उनीहरुबीच समझदारी पनि छ।

‘माथिबाट औपचारिक निर्णय नगरेसम्म हामी यहाँ घोषणा गर्दैनौँ। एक खालको सहकार्य भइसकेको छ। यहाँका सबै वडामा हामी मिलेर चुनाव लड्छौं,’ आचार्यले थपे।

२०७४ मा महानगरसहित तीन पालिका जितेकाले नेकपा एमाले कास्कीमा बलियो छ। एमाले हराउन पनि कांग्रेससहित दल गठबन्धन बनाएर जान सहमत भएका हुन्।

कास्की गण्डकी प्रदेशमा पर्छ। अहिले सो प्रदेशमा पाँच दलीय गठबन्धन सरकार छ। एमालेको सरकारलाई अविश्वासको प्रस्तावबाट हटाएर गठबन्धनले सरकार बनाएको हो। सरकारको नेतृत्वको कांग्रेसले गरेको छ।

राष्ट्रिय जनमोर्चाका कास्की अध्यक्ष रविमोहन ढकालले छलफल चलेको र मिलेर जाने कुरा भए पनि पार्टी केन्द्रले निर्णय नगरी यसै भन्न नसक्ने प्रतिक्रिया दिए।

अर्घाखाँचीमा जनमोर्चा गठबन्धनमा छ। तर, कास्कीमा निकै कम संख्यामा रहेकाले चार दलले आफ्नो पार्टीलाई भूमिका नदिने हो कि भन्ने चिन्ता जनमोर्चालाई छ।

‘गठबन्धन बनाउन केन्द्रीय समितिले निर्णय नगरी केही भन्न मिल्दैन,’ ढकालले नेपालखबरसँग भने, ‘एमाले र राप्रपाबाहेकसँग मिल्ने पार्टीको नीति भने छ। कांग्रेस, माओवादी एकीकृत समाजवादीका साथीहरुले सम्मानजनक प्रस्ताव ल्याए मिलेर जाने निर्णय पार्टीले गर्न सक्छ।’

कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरूङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका अध्यक्ष गिरिप्रसाद गुरूङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकालले गठबन्धनबारे निर्णय गर्नेछन्। 

त्यसो त कांग्रेस एक्लै चुनाव लड्ने योजनामा थियो। तर, वामपन्थीबीच गठबन्धन हुनसक्ने सम्भावना देखिएपछि उसले गठबन्धन बनाउन पहल लिएको एक नेताले बताए।

‘कांग्रेसलाई एक्लै चुनाव जित्छु भन्ने परेको थियो,’ ती नेताले भने, ‘तर, जब यहाँका वामपन्थी नेताहरुबीच छलफल हुन थालेको विषय सार्वजनिक भयो, तब कांग्रेसले गठबन्धनमा सहमति गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad