राजनीति


माओवादीको तीन बुँदे निर्देशनः चुनाव जित्न एमालेसँग पनि मिल्ने विकल्प खुला

माओवादीको तीन बुँदे निर्देशनः चुनाव जित्न एमालेसँग पनि मिल्ने विकल्प खुला

सागर न्यौपाने
चैत ६, २०७८ आइतबार २३:१३, काठमाडौँ

सत्ता गठबन्धनमा चुनावी तालमेल हुने कि नहुने भन्ने द्विविधा कायम रहेका बेला नेकपा माओवादी केन्द्रले यस विषयमा तीन बुँदे निर्देशन तल्लो तहमा पठाएको छ। सो पार्टीले सकेसम्म एक्लै चुनाव जित्ने नभए अन्य दलसँग मिलेर लड्न तल्लो कमिटीलाई निर्देशन दिएको हो।

सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धनको बारेमा निर्णय गर्न ढिलाइ गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा एमालेसँग पनि तालमेल गर्न सकिनेगरी निर्देशन दिएको नेता चक्रपाणि खनालले जानकारी दिए। 

‘हाम्रो रणनीति स्पष्ट छ, सकेसम्म एक्लै तयारी गरेर जाने, दोस्रो, गठबन्धनका अन्य दलले चाहे मिल्ने र तेस्रो, कुनै दलले चुनौती खडा गर्छ भने जोसँग पनि मिल्ने सकिन्छ,’ खनालले भने, ‘गठबन्धनका बारेमा एमालेले आवश्यकता महसुस गरे र आग्रह गरे हामी खुला छौँ। तर, गठबन्धन गर भनेर खोज्दै जाँदैनौँ। हामीलाई मात्र कांग्रेसको मतलब भएन।’

प्रचण्डले पूर्वस्थायी समितिको बैठक र प्रदेशका इन्चार्जहरुसँगको छलफलमा सो निर्देशन तलसम्म पठाइने बताएका हुन्।

सत्ता साझेदार सबै दल तयार नभई गठबन्धन मात्र भनेर बस्दा आफ्नो प्रभाव क्षेत्र गुम्ने खतराप्रति माओवादी केन्द्र सचेत रहेको नेता सदस्य हरिबोल गजुरेलले बताए। उनका अनुसार पार्टीले गठबन्धन लगायतका निर्णय गर्ने जिम्मा दिएर तीन सदस्यीय समिति बनाएको छ।

‘प्रदेश स्तरीय समिति, जिल्ला स्तरीय र पालिकास्तरीय कमिटी बनाइएको छ,’ गजुरेलले भने, ‘त्यो कमिटीलाई गठबन्धनबारे निर्णय गर्ने अधिकार दिइएको छ।’

सात भूगोल र दुई गैरभूगोल गरेर माओवादीको ९ वटा प्रदेश कमिटी छ। 

पार्टी अध्यक्ष प्रचण्डले सके एक्लै, नभए जुनसुकै पार्टीसँग तालमेल गरेर भए पनि स्थानीय तहमा बहुमत स्थान जित्ने तयारी गर्न त्यो समितिलाई निर्देशन दिएका छन्।

‘हामीलाई देशभरका स्थानीय तहमा धेरैभन्दा धेरै तह जित्नेगरी तयारी थाल्न अध्यक्षको निर्देशन छ, हामी त्यही अनुसार फिल्डमा खटिन थालेका छौँ,’ एक प्रदेश समिति इन्चार्जले भने।

स्थानीय तहको चुनावका लागि प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अहिले देशभर प्रशिक्षण अभियानमा छन्। मधेश प्रदेशमा चैत ८ गते प्रशिक्षण राखिएको छ। अन्य सबै प्रदेशमा प्रशिक्षण सकिएको छ। 

स्थानीय तहको चुनावको तयारीका लागि माओवादी केन्द्रले देशभर २८ वटा कमान्ड बनाएको छ।

‘हाम्रो पार्टीले कमान्ड बनाउनुको खास उदेश्य नै चुनावमा एक्लै भिड्ने भनेर हो,’ ती नेताले थपे, ‘प्रत्येक कमान्डका कमान्डरलाई केन्द्रसँग समन्वय गरेर निर्णय गर्नसक्ने जिम्मेवारी दिइएको छ।’

उता कांग्रेसका नेताहरुले पनि गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने बताएका छन्। त्यसको निर्णय आगामी कार्यसमिति बैठकले गर्ने उनीहरुको भनाइ छ। यद्यपि, कांग्रेसका केही नेताहरुले गठबन्धन बनाउन नहुने बताइरहेका छन्।

कांग्रेसले गठबन्धन बनाउन इच्छा नदेखाएपछि माओवादी केन्द्रले एक्लै चुनाव लड्ने तयारी गर्न थालेको नेताहरु बताउँछन्। 

२०७४ मा भएको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले १५ प्रतिशत स्थानमा प्रमुख पद जितेको थियो। त्यसबेला, चितवन, पोखरा लगायतका केही महानगरमा कांग्रेससँग तालमेल गरेको थियो।

तर, चितवनबाहेक अन्य स्थानको चुनावी तालमेल माओवादी केन्द्रका लागि फाइदाजनक भएन। 

धेरै स्थानमा त्यतिबेलाको भन्दा पार्टीको अवस्था अहिले मजबुत रहेको माओवादी नेताहरुको दाबी छ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका धादिङ, सिन्धुली, सिन्धुपाल्चोक तथा प्रदेश १ का सोलखुम्बु, उदयपुर, भोजपुरजस्ता जिल्लामा पार्टीको अवस्था सुधार भएको उनीहरु बताउँछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad