ad ad

राजनीति


निर्वाचन आयोग गठबन्धनसँग मिलिसक्यो, फेरि भरतपुरकाण्ड दोहोरिन सक्छ : केपी ओली

निर्वाचन आयोग गठबन्धनसँग मिलिसक्यो, फेरि भरतपुरकाण्ड दोहोरिन सक्छ : केपी ओली

एमाले पोलिट्ब्युरोको बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत ७, २०७८ सोमबार १३:१६, काठमाडौँ

ओलीले भने : निर्वाचन आयोग गठबन्धनसँग मिलिसक्यो, फेरि भरतपुरकाण्ड दोहोरिन सक्छ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नै सत्ता गठबन्धनसँग मिलिसकेकाले यस पटकको निर्वाचनमा विशेष चनाखो हुन कार्यकर्तालाई आग्रह गरेका छन्। 

सोमबारदेखि काठमाडौंमा सुरु पोलिटब्युरो बैठकलाई कार्की पार्टी प्यालेसमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले आयोग गठबन्धनसँग मिलिसकेकाले आगामी निर्वाचनमा मतपेटिकालाई आफूबाट ओझेल पर्न नदिन कार्यकर्तालाई आग्रह गरे।

'निर्वाचन आयोग नै एमालेविरूद्ध लागिसकेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर र सिराहा काण्ड दोहोरिन सक्छ', उनले भने। ओलीले निर्वाचन आयोगको भूमिकालाई लिएर चनाखो रहन एमाले कार्यकर्तालाई पनि आग्रह गरेका छन्। 

चुनाव चिन्हमा हरियो र निलो रंग राख्नुपर्ने कारण पनि निर्वाचन आयोगले दिन नसकेको ओलीले बताएका छन्। 'रंगको कारणले अलमलमा परेको कुरा आएको थिएन', उनले भने, 'निर्वाचन आयोग सत्ता गठबन्धनसँग छलफलमा छ। उसले गठबन्धनसँग मिलेर यी निर्णय गरिरहेको छ। चुनाव चिन्हको रंग किन बदल्नुपर्यो? दलहरूसँग परामर्श गर्नुपर्दैन। सत्ता गठबन्धनसँगको परामर्शमै यो काम भएको हो। निर्वाचन आयोग विगतमा पनि एमालेविरुद्ध थियो, अहिले पनि हामीले सजग हुनुपर्ने भएको छ।' 

‘निर्वाचन आयोग गठबन्धनसँग मिलिसकेको देखिन्छ। त्यसैले यो निर्वाचनमा हामीले आँखाबाट मतपेटिकालाई ओझेल पार्नु भएन। अन्तिमसम्म मतपेटिका आँखा अगाडि हुनुपर्छ', उनले भने, 'मतपेटिकलाई लिएर अरुको कुरामा विश्वास गरेर हुँदैन। सबै चनाखो हुनुहोला। कसैको विश्वासमा पर्ने कुरा हुँदैन। यदि विश्वासले चल्ने भए यी सबै कुरा गर्नै पर्ने थिएन। गोप्य मतदान नै किन गर्नुपर्थ्यो र?'

पछिल्लो समय निर्वाचन आयोगको भूमिकालाई लिएर ओलीले यो पटकको निर्वाचनमा पनि 'चितवनको भरतपुर र सिरहा काण्ड' दोहोरिन सक्ने आशंका गरे। 

'निर्वाचन आयोग पहिले पनि एमालेविरुद्ध लागेको थियो। अहिले पनि त्यही कुरा दोहोरिन सक्ने अवस्था छ', उनले भने, 'हामी षड्यन्त्रभित्र छौँ। हाम्रा आँखा अगाडि मतपत्र हुनुपर्छ। मतपेटिका हामीबाट ओझेलमा पर्नुहुँदैन।'

२०७४ को स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेर चपाएपछि पुष्पकमल दाहाल पुत्री रेणु दाहालको पक्षमा परिणाम गएको थियो।

यस्तै संविधानसभाको निर्वाचनका क्रममा सिरहामा पनि मतगणनास्थलको बत्ती निभाएर प्रचण्डलाई जिताएको आरोप आयोगमाथि लाग्ने गरेको छ। सिरहामा एमाले नेता लीलानाथ श्रेष्ठ पराजित भएका थिए। चितवनमा एमाले नेता देवी ज्ञवाली पराजित भएका थिए। 

‌ओलीले पछिल्लो समय निर्वाचन आयोगमाथि निशाना साँधिरहेका छन्। उनले एमालेको चुनाव चिन्ह सूर्यलाई समेत हरियो बनाइदिएको भन्दै आयोगसँग आक्रोश पोखेका छन्। 

त्यस्तै संसारमै कहीँ नभएको वैशाख ११ र १२ गते दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखेर गठबन्धनलाई सजिलो बनाइदिएको भन्दै ओलीले आपत्ति जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .